नेपालमा राजतन्त्र जस्तै माओवादीको पनि अन्त्य हुन्छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्र फालिएजस्तै माओवादीको पनि अन्त्य हुने बताएका छन्।

युवा संघ नेपालको मधेस जागरण अभियानलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले नेपालको राजतन्त्र र एमाओवादीलाई एउटै कोटीको भएको भन्दै दुवैले अन्त्य हुनेबेलामा छटपटाहट देखाउन थालेको आरोप लगाए।


ओलीले एमाओवादीले कम्युष्टि नाम धारण गरेर बेइज्यती गरेको आरोप लगाएका छन्। उनले माओवादीका यस्ता 'हर्कत'ले जनतालाई मनोवैज्ञानिक त्रास सिर्जना गर्ने काम भएको भन्दै कुनै पनि त्रास र आतंकबाट नडराउन आग्रह गरेका छन्।

यसैबीच ओलीले सहमति कार्यान्वयनको माग गर्दै पूर्वराजाले दिएको वक्तव्य ‘मरेको सर्पले पुच्छर हल्लाए जस्तै’ भएको टिप्पणी गरे। 'हामीले सडकबाट र भेट्दा पनि राजतन्त्र फाल्छौं भनेका थियौं। काँधमा हालेर थात्रो राजतन्त्र बोक्छौं भनेर कसैले भनेको थिएन,’ ओलीले भने।

माओवादीले लाठी जुलुस र मसाल जुलुस निकालेर जनतामा आतंक फैलाउन खोजेको भन्दै ओलीले यसलाई आफूले सामान्य रुपमा लिएको बताए।

पहाडमा जनजाति र मधेसमा मधेसीलाई उचालेर उपद्रो मच्चाउने खोजेको भन्दै ओलीले लाठी बोकेर सडकमा हिड्दैमा जनताले नपत्याउने दाबी गरे।

ओलीले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले शनिबार काठमाडौंमा गर्ने सभाको औचित्य पुष्टि गर्न चुनौति दिँदै '२००७, २०४६, २०६२/६३ को जस्तो अवस्था नरहेको स्मरण गराए। 'आधिबेहेरी र तुफान ल्याउँछु भन्ने कहिलेको सपना देखेको?, माओवादीलाई प्रश्न गरे।'

कार्यक्रममा ओलीले एमाओवादीले मंगलबार निकालेको भाटे जुलुसलाई 'विस्थापित हुँदै गएको पीडाको प्रतिविम्व'को संज्ञा दिए।

0 comments

Write Down Your Responses