स्वाइनफ्लुले महामारी ल्याउने संकेत : थपिए स्वाइनफ्लुका बिरामी

१२ फागुन, परासी ।


भारतमा स्वाइनफ्लुको महामारी फैलिएपछि भारतीय सिमानासँग जोडिएका नवलपरासीमा पनि उच्च सतर्कता अपनाइएको छ ।

भारतसँग सीमा जोडिएको नवलपरासीमा स्वाइनफ्लु सजिलैसँग भित्रन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको हो ।

जसका लागि जिल्लाको सीमावर्ती क्षेत्रका सबै स्वास्थ्य सङ्घसंस्थामा स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको स्वास्थ्य कार्यालयका प्रमुख जयबहादुर कार्कीले जानकारी दिए ।

नवलपरासीको महेशपुर, साथै त्रिवेणीलगायत विभिन्न नाकाबाट प्रतिदिन सयौँ व्यक्ति भारतीय नाका भएर जिल्ला भित्रिने गरेका छन् ।
'
राजधानीमा थप तीनजनामा स्वाइन फ्लुको संक्रमण देखापरेको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थुक परीक्षण गर्दा थप तीनजनामा संक्रमण देखिएको सोमबार पुष्टि भए पनि रिपोर्ट सार्वजनिक भइसकेको छैन।


यसअघि भारतबाट फर्किएका तीनजनासहित पाँचजनामा संक्रमण पुष्टि भइसकेको छ। पाँचजनामध्ये तीन काठमाडौं र दुई पोखराका छन्। त्यसअघि भारत घुमेर फर्किएका एक नेपाली चिकित्सकलाई पनि संक्रमण पुष्टि भएको थियो। औषधि सेवनपछि उनलाई निको भएको महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले बताए।

भारतमा महामारीको रूप लिइरहेको स्वाइन फ्लुको रोकथाम पहल नेपालमा नहुँदा यो तीव्र रूपमा फैलिने खतरा बढेको छ। सरकार गम्भीर नभए यसबाट नेपालमा अकल्पनीय क्षति हुनसक्ने छ। दैनिक हजारौं मानिस आवतजावत गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सिमाना नाकामा सतर्कताका लागि स्वास्थ्य जाँचको व्यवस्था गरिएको छैन।

विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा छिट्टै र एकैपटक धेरै मानिसमा संक्रमित हुने यो रोगबाट भारतमा पछिल्लो दुई महिनामा आठ सयजनाभन्दा बढीको ज्यान गएको छ भने साढे ११ हजार बिरामी परेका छन्।

'स्वाइन फ्लु नियन्त्रणका लागि त्यति धेरै प्रयास गर्दागर्दै त भारतमा धेरैको ज्यान गइसकेको छ, नेपालमा त्यहींबाट आएका मानिसमा संक्रमण पुष्टि पनि भइसक्यो तर रोकथामका लागि पूर्ण बेवास्ता गरिएको छ,' टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले भने।

उनले स्वाइन फ्लुको खतरा ठूलो भएकाले समयमै सतर्कता अपनाउनुपर्नेसमेत बताए। 'जोखिम निकै बढेको छ, रोकथामका लागि भारतमा आवतजावत नै बन्द गर्न सम्भव छैन', सेन्चुरीले भने, 'तर त्यहाँबाट फर्किएका प्रत्येक मानिसको निगरानी आवश्यक भइसकेको छ। सम्बन्धित व्यक्तिका परिवार र स्वास्थ्य संस्था दुवै चनाखो हुनुपर्छ।'

संक्रमण रोक्न विमानस्थल र सीमा नाकामा स्वास्थ्य जाँच (स्क्रिनिङ) तत्काल गर्नुपर्ने उनले बताए। अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले भारतसँगको खुला सिमानाका कारण नै स्वाइन फ्लु फैलिने खतरा बढेको बताए।

'को, कहिले, कसरी नेपाल फर्कियो र ऊ कसरी, कोसँग, कस्तो अवस्थामा हिँडिरहेको छ भन्ने हामीलाई जानकारी छैन', उनले भने, 'निगरानीको व्यवस्था नहुँदा बाहिरको कुरा छोडौं, बिरामी भएर अस्पतालमा आउनेबाटै अर्को स्वस्थ मानिसलाई सर्ने खतरा छ।' महामारी निम्त्याउन सक्ने यस्ता रोग नियन्त्रणका लागि सरकार गम्भीर नभएको उनले बताए।

0 comments

Write Down Your Responses