लमजुङे युवकले दुईजना चढेर आकाशमा उड्न मिल्ने जहाज बनाए अब हेलिकोप्टर उडाउने

२०७१ फाल्गुन १२ मंगलवार


फोटो :अन्‍नपूर्ण (पोखरामा जारी क्‍यान मेलामा आफूले निर्माण गरेको अल्‍ट्रालाइटका साथ रदी मियाँ। )
पोखरा : सँगैका दौंतरी खेलकुदमा रमाउँदा लमजुङ ईशानेश्वर लक्ष्मीबजारका रदी मियाँ भने घरमै बसेर नयाँनयाँ सामान बनाउन तल्लीन हुन्थे। सानैदेखि नौला वस्तु बनाउन रुचि राख्ने बानीले २४ वर्षीय मियाँले एक्लो मेहनतमै दुईजना चढेर आकाशमा उड्न मिल्ने सानो जहाज 'अल्ट्रालाइट' बनाए।

'बनको काँडालाई तिखार्नु पर्दैन' भनेजस्तै घरवरपर र स्वदेशी बजारमा पाइने सामान बटुलेर एक वर्षको अथक प्रयासले उनले अल्ट्रालाइट बनाएका हुन्। उनले सहयोग जुटाएर आठ लाख ५० हजारको लागतमा अल्ट्रालाइट बनाए।



दिनरात लगाएर बनाएको जहाज सरोकारवाला निकायको असहयोगले उड्न नपाएको दुखेसो उनले पोखे। जहाज बनाइसकेपछि उडाउनका लागि अनुमति लिन उनी जिल्ला प्रशासन कार्यालय लमजुङ पुगेका थिए।

'जिल्ला प्रशासनले नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस ल्याउन भन्यो', उनले भने, 'कहाँ जाने, के गर्ने? कुनै मेसो पाइनँ। आफैंले परीक्षण उडान गर्दा यो जहाज उड्न कम्तीमा तीन सय मिटर दौडनुपर्थ्‍यो।

गाउँमा दौडने राम्रो चौर पनि नभएकाले गुड्दागुड्दै ढुंगामा लागेर पल्टियो र बिग्रियो।' उनले फुच्चे जहाजमा पल्सर र आरएक्स मोटरसाइकलको इन्जिन, आल्मुनियमको पँखेटा, हावापानी छेक्ने कपडाको पँखेटा, जेनेरेटरको पांग्रालगायत सामग्री प्रयोग गरेका छन्।

जहाज तयार पार्न उनले धेरैपटक पोखरा धाएर बनोटको ढाँचा हेरेका थिए। 'प्रहरीले गेटबाटै फर्काइदिएका थिए', उनले भने, 'त्यसपछि विमानस्थल नजिकैको होटेलमा कोठा लिएर बसें। बिहानबेलुका अल्ट्रालाइट उडेको हेरेर स्केच बनाएँ।

इन्टरनेटमा उडानबारे खोज गरें र त्यसैका आधारमा अल्ट्रालाइट बनाएँ।' उनले १५ मिनेट पोखराको आकाशमा अल्ट्रालाइटमा उडेको अनुभवका आधारमा अल्ट्रालाइट उडाउन खोजेका थिए।

जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले गत कात्तिकमा जहाज उडाउनका लागि अनुमति लिन आएको बताउँदै नागरिक उड्डयन प्राधिकरणसँग सिफारिस ल्याउन भनेको बताए।

'यो प्राविधिक विषय भएकाले हामीले जान्ने कुरा भएन', उनले भने, 'विज्ञबाट परीक्षण नगरी उडाउँदा ज्यान जोखिममा पर्ने सल्लाह दिएका थियौं।'

नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख दीपक बरालले युवा वैज्ञानिकले बनाएको जहाज उडाउनुअघि 'फ्लाइट टेस्टी स्ट्यान्डर्ड डिपार्टमेन्ट'ले परीक्षण गरेपछि मात्र निर्णय गर्ने बताए।

जहाज बनाएर सबैको स्याबासी बटुलेका उनले सबैको सहयोग पाए हेलिकोप्टर बनाउने धोको रहेको बताए। 'विदेशमा रहेका आफन्तसँग ऋण सापटी लिएर अल्ट्रालाइट बनाएँ', कुस्माकर उच्चमाविमा शिक्षा विषय लिएर प्लस टु उत्तीर्ण गरेका उनले भने, 'अब हेलिकोप्टर बनाउने योजना छ।

सहयोग पाए पक्कै सफल हुनेछु।' अल्ट्रालाइट बनाउँदा कुनै संघसंस्था र सरकारी कार्यालय भने नधाएको उनले बताए। फुर्सद मिल्नेबित्तिकै नयाँ सामग्रीको आविष्कारमा जुटेका उनले मुसा मार्ने पासो, बाघ मार्ने पासोलगायत सामग्री बनाइसकेका छन्।

उनले बनाएको अल्ट्रालाइट पोखरामा जारी क्यान मेलामा सबैको आकर्षणको वस्तु बनेको छ।

अधिकांश सहभागीले अल्ट्रालाइटको प्रशंसा गर्दै राज्य र सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताएका छन्। 'सानैदेखि आफूलाई चाहिने कुनै पनि कुरा बनाएर देखाइदिन्थे', उनका साथी नेसन शर्माले भने।

0 comments

Write Down Your Responses