पशुपति, सुनिता, राधिका र मञ्जुलाई भ्याइ नभ्याइ

तीजमा तानातान


काठमाडौ, श्रावण १२ - फोनको घन्टी बजिरहन्छ । उनीहरुको फोन सामान्यतया झट्ट उठ्दैन । कलाकार भएर भाउ खोजेको भन्नेहरु पनि हुन्छन् तर वास्तविकता भने फरक छ । तीजको चटारोमा परेका चर्चित गायक गायिकालाई यतिबेला खाने फुर्सद समेत छैन । यो उनीहरुको गीत गाउने मात्र होइन, पैसा कमाउने पनि बेला हो ।

पशुपति शर्मा

लोक गायक गायक पशुपति शर्माकै कुरा गरौं । उनी यसपालि तीजलाई लक्ष्यित गरेर एकैसाथ ९ वटा एल्बम बजारमा ल्याउने तयारीमा छन् । यसका लागि आफ्नै शब्द, संगीत र लयमा उनले करिब डेढ महिनादेखि महेनत गरिरहेका छन् । यी सबै एल्मबमा एक–एक गीत हुनेछन् ।



‘सबैभन्दा व्यापार राम्रो पानीपुरीको, चट्पटेको...’, ‘सातो फुक झाँक्री बा...’, ‘तेरो तागत माने पैसा...’, ‘नाचिदेऊ झिल्के...’, ‘म पनि राम्री  छैन र...’, ‘राम्चेको पहिरो...’ लगायत उनका नयाँ तीज गीत हुन् । तीज गीत निकाल्न थालेदेखि नै पशुपतिले विदेशमा तीज कार्यक्रम पनि गरिरहेका छन् । ९ वर्षदेखि विदेशकै स्रोतलाई लाईभ तीजमा नचाउँदै आएका छन् उनी ।

अरु कार्यक्रमभन्दा उनी तीजमा बेग्लै अनुभूति गर्छन् । ‘व्यवसाय मात्रै हुँदैन तीज,’ उनी भन्छन्, ‘विदेशमा बस्ने नेपालीहरुको मन बुझ्ने मौका पनि मिल्छ ।’ उनले प्रत्येक वर्ष ११ देखि ९ वटासम्म तीज गीत एल्मब निकाल्ने गरेका छन् ।

छोटो समयमा धेरै खटिनु पर्ने भएकाले पशुपतिले आगामि वर्ष भने एल्बमको संख्या घटाउने योजना बनाएका छन् । ‘गुणस्तरमा ध्यान दिनु पर्ला,’ उनले भने ।

तीजमा प्रत्येक वर्ष २ सयभन्दा बढी गीत निस्कीए पनि चल्नेमा औंलामा गन्न सकिने मात्रै हुन्छन् । पशुपतिले प्राय: सामाजिक व्यंग्य समेटिएको हुनाले आफ्नो गीतसँग प्रतिस्पर्धामा नहुने बताउँछन् ।

सुनिता दुलाल

तीजमा चम्किने अर्की गायिका हुन् सुनिता दुलाल । १० औं एल्बमको रुपमा उनले यतिबेला ‘इच्छा पुराइदेऊ’ बजारमा ल्याएकी छन् । जसको शब्द र संगीत सुरेश अधिकारीको रहेको छ । यो गीतलाई युट्युबमा १ लाख बढीले लाइक गरीसकेका छन् । सुनिता यो वर्ष पनि तीज गीतबाट राम्रै आम्दानी गर्ने विश्वासमा छिन् ।



‘तीज गीतको महत्व बेग्लै छ,’ उनी भन्छिन्, ‘तीजको आम्दानीले वर्षभरिको खर्च पुग्छ ।’ देशविदेशका कार्यक्रममा सहभागी हुनाले यसको रौनक बढेको उनी बताउँछिन् । गत वर्ष जस्तै यस वर्ष पनि उनी तीजका लागि क्यानडा पुग्दैछिन् ।

राधिका हमाल

गायक गायिकाका लागि तीज आम्दानीको गतिलो स्रोत बन्ने गरेको छ । यसको अर्को उदाहरण हुन्, गायिका राधिका हमाल । तीजको समयमा गीत गाउने माग बढ्न थालेपछि उनले एकल एल्मब निकाल्न पनि भूलिसकेको बताउँछिन् ।



असार र साउन दुई महिनाका लागि राधीका गीत मिक्सीङ, डबिङ र म्युजिक भिडियो सुटमै व्यस्त छिन् । दैनिक ७ वटासम्म गीत रेकर्ड गरेको उनले बताइन् । यो वर्ष उनलाई दुई दर्जन एल्बममा स्वर दिने अवसर आएको छ । ‘धेरै त गाइसकें,’ उनले भनिन्, ‘साउनभरि सबै सक्काउनुपर्छ ।’

अरुकै गीत गाउन व्यस्त भएकाले आफ्नो एल्बम निकाल्ने फुर्सदै नमिलेको उनले बताइन् ।

मञ्जु पौडेल

तीजमा व्यस्त हुने अर्की गायिका हुन् मञ्जु पौडेल । उनले यस पटक तीनवटा एल्बम निकालेकी छन्– ‘नाच छमछम’, ‘बैमानी मायाले’ र ‘यसपालिको’ ।



उनी तीजमा नेपालमा बस्ने मात्रै नभई विदेशमा बस्ने स्रोताले पनि नयाँ गीत खोज्ने भएकाले तीज गीतलाई निरन्तरता दिएको बताइन् । यो बिहीबारदेखि उनी तीज कार्यक्रममा सहभागि हुन विदेश यात्रामा निस्किदैछिन् । ‘तीजमा भने सुर्खेत आइपुग्नु पर्नेछ,’ उनले भनिन्, ‘तीजको सेड्युल मिलाउदै गाह्रो ।’

सँधै तीज गीत गाएर चर्चामा आउन गायिका कोमल वलीले भने यो वर्ष तीज एल्बम ननिकाल्ने निर्णय गरेकी छन् । भूकम्पका कारण रमाइलो गर्ने मूड नभएकाले गीत ननिकाल्ने उनले बताइन् । सांगीतिक कार्यक्रमहरुमा भने उनको सहभागिता हुनेछ ।

,

0 comments

Write Down Your Responses