विश्वका विभिन्न मुलुक राजपरिवारका चम्किला बुहारीहरु
कुविक एनपी न्युज
विश्वका विभिन्न मुलुकमा अहिले पनि राजतन्त्र कायम छ। राजपरिवारको बुहारी भएर भित्रिने सौभाग्य पाएका युवती कोही फेसन, कोही सुन्दरता त कोही परोपकारी कामका कारण चर्चामा आइरहने गर्छन्।
विश्वका विभिन्न मुलुकमा अहिले पनि राजतन्त्र कायम छ। राजपरिवारको बुहारी भएर भित्रिने सौभाग्य पाएका युवती कोही फेसन, कोही सुन्दरता त कोही परोपकारी कामका कारण चर्चामा आइरहने गर्छन्।
सञ्चारको युगमा उनीहरूका गतिविधि गोप्य छैन। कस्ता छन् त केही राजपरिवारका चम्किला बुहारी :जेस्टुन पेमा, भुटान
विश्वमा सबैभन्दा कान्छी रानीका रूपमा परिचित छिन्, भुटानकी जेस्टुन पेमा। २१ वर्षमा रानी बनेकी पेमाको जन्म राजधानी थिम्पुमै भएको हो।
अहिले उनी २४ वर्षकी भइन्। उनका बाबु पाइलट हुन्। पारिवारिक वनभोजका क्रममा जिग्मे र पेमाको पहिलोपटक भेट भएको थियो। पहिलो भेटमै पेमालाई मन पराएपछि सन् २०११ मा उनीहरूले विवाह गरे।
विवाहकै दिन पेमा जेस्टुनलाई भुटानकी रानी घोषणा गरिएको थियो। अन्तर्राष्ट्रिय सम्बन्ध, मनोविज्ञान र इतिहास अध्ययन गरेकी पेमा फेसन आइकनका रूपमा पनि चिनिन्छिन्।
स्रिरस्मी, थाइल्यान्ड
दुईपटक विवाह गरिसकेका थाइल्यान्डका राजकुमार भाजिरालोंकोरले तेस्रो विवाह गरेका हुन् स्रिरस्मीसँग। ४३ वर्षीया स्रिरस्मीले अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छन्।
उनी स्टाइलिस्ट राजकुमारीका रूपमा चिनिएकी छन्। सन् २००५ मा एक छोरालाई जन्म दिएकी उनले ब्रेस्ट फिडिङ अभियान चलाएकी छन्।
सन् २००१ मा विवाह गरेका उनीहरूले सन् २०१४ मा डिभोर्सको घोषणा गरेका छन्।
माइतीका नातेदारसँग मिलेर भ्रष्टाचार गरेको अभियोगमा भाजिरालोंकोरले नै उनलाई राजकुमारीबाट मुक्त गर्न पत्र पठाए। यसबारे राजा भुमिबोलबाट निर्णय हुन बाँकी छ।
मासाको ओदाका, जापान
अमेरिकाबाट विद्यालय शिक्षा पूरा गरेकी मासाको ओदाका जनावरप्रेमी र पशुचिकित्सक पनि हुन्। पियानो वादनदेखि फुटबल, टेनिस एवं ह्यान्डिक्राफ्टमा समेत उनको दखल छ।
एकपटक उनले राजकुमारलाई भेट्ने मौका पाइन्। पहिलो भेटमै एकअर्काप्रति आकर्षित उनीहरूबीच एक वर्ष लामो अफेयरपछि विवाह भएको हो।
स्वतन्त्र कूटनीतिज्ञ बन्न चाहने उनले सुरुमा राजकुमारको विवाह प्रस्ताव अस्वीकार गरेकी थिइन्। सन् १९९३ मा विवाह गरेकी उनी अहिले ५१ वर्षकी भइन्। यो दम्पतीको एक छोरी छिन्।
केट मिडलटन, बेलायत
३३ वर्षीया राजकुमारी केट मिडलटन पनि सामान्य घरानाबाट आएकी हुन्। बेलायतमा फेसन आइकनका रूपमा चिनिएकी उनको सन् २००१ मा राजकुमार विलियमसँग सेन्ट एन्ड्र्यु विश्वविद्यालयमा पहिलोपटक भेट भएको थियो।
सन् २००३ देखि डेटिङ सुरु गरेका उनीहरूबीच लामो समय अफेयर चलेको थियो। लामो गोप्य प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका यो दम्पतीको दुई वर्षीय छोरो छ भने अहिले उनी फेरि गर्भवती भएको चर्चा छ।
केट अहिले विश्वकी प्रभावशाली महिलामध्येमा पर्छिन्।
मारी एलिजावेथ, डेनमार्क
डेनमार्ककी ४२ वर्षीया राजकुमारी मारी एलिजावेथ अस्ट्रेलियाली हुन्। राजकुमार फ्रेडिक र मारीबीच सिड्नीको बारमा पहिलोपटक भेट भएको थियो।
सन् २००० को ओलम्पिकका बेला भेट गरेका उनीहरूले अर्को वर्ष नै विवाह गरे। त्यस बेला राजकुमार र सामान्य महिलाबीचको रोमान्स दन्त्यकथाजस्तो मात्रै होइन, मिडियाको तारो पनि बनेको थियो।
मारी पेरिसमा अंग्रेजी सिकाउने भएकाले उनीहरूको प्रेम फोन, ईमेल र चिठीमा सीमित थियो। बीकम, बीएल गरेकी मारीले डेनिस भाषा पछिमात्रै सिकेकी हुन्।
रानिया अल यासिन, जोर्डन
रानिया अल यासिन विश्वमै सर्वाधिक सुन्दरी प्रथम महिलाका रूपमा परिचित छिन्। राजा अब्दुल्लाह बिन अल हुसेनसँग विवाह गरेकी ४४ वर्षीया उनी समाजसेवामा पनि चर्चित छिन्।
शिक्षा, संस्कृति र सामाजिक सशक्तीकरणबारे उनले आवाज उठाउँदै आएकी छन्। सामाजिक सञ्जालमा उनका लाखौं फ्यान छन्।
दुई छोरी र दुई छोराकी आमा उनी प्यालेस्टाइन बाबुआमाबाट कुबेतमा जन्मिएकी हुन्। अमेरिकी विश्वविद्यालयमा अध्ययन गरेकी यासिनले इस्लामिक महिलाले स्वेच्छाले बुर्का लगाउनुपर्ने नियम लागू गर्न माग गरेकी थिइन्।
मेट मेरिट, नर्वे
विवाहित र एक सन्तानकी आमा बनिसकेकी मेट मेरिट राजकुमार हाकुनसँग विवाह गरेपछि विवादमा आएकी थिइन्। मेरिटले सन् २००० मा हाकुनलाई एक महोत्सवमा पहिलोपटक भेटेका थिए।
चिनजान भएको अर्को वर्षमै उनीहरूले विवाह गरे। उनी स्थानीय एक पत्रिकाको पत्रकार पनि थिइन्। सानै उमेरदेखि सक्रिय उनले भलिबल कोचका रूपमा पनि काम गरिन्।
४१ वर्षीया उनले इक्जुकेटिभ म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छन्। सामाजिक सञ्जाल प्रयोगकर्ता भए पनि उनलाई राजपरिवारको कुरा बाहिर ल्याउन अनुमति छैन।
अमिरा, साउदी अरेबिया
राजकुमारी अमिराले १८ वर्षको उमेरमा राजकुमारलाई भेट्ने मौका पाएकी थिइन्। पहिलो भेटमै प्रेम सुरु भएपछि चिनजान भएको नौ महिनामै विवाह भयो। राजकुमार अलवालिद बिन तलालसँग विवाह गरेकी अमिरा अहिले ३२ वर्षकी भइन्।
तर, उनीहरूबीच सन् २०१३ मै सन्बन्धविच्छेद भयो। ७१ भन्दा धेरै मुलुकको भ्रमण गरिसकेकी उनी अहिले परोपकारी काममा सक्रिय छिन्।
सर्वाधिक सुन्दरी राजकुमारी र प्रभावशाली महिलाका रूपमा परिचित उनले महिलाको पक्षमा बोल्दै आएकी छन्।
लेतिजिया अर्टिज, स्पेन
४१ वर्षीया लेतिजिया अर्टिज राजा फिलिप चौथोकी श्रीमती हुन्। आफ्नै पितालाई अपदस्थ गरेर राजा बनेका फिलिप स्पेनमा चर्चित मानिन्छन्।
सामान्य परिवारकी लेतिजिया भने पत्रकार तथा समाचारवाचिका थिइन्। उनलाई राजाले विवाह गर्दा सबै मानिस चकित भएका थिए।
सन् २००४ मा उनीहरूको विवाह भएको हो। पत्रकारितामा स्नातकोत्तर लेतिजियाले विभिन्न सञ्चारमाध्यममा काम गरिसकेकी छन्।
सल्वा एगा खान, स्विट्जरल्यान्ड
राजकुमारी सल्वा अहिले २६ वर्षकी भइन्। उनको वास्तविक नाम केन्द्र स्पेयर्स हो। अमेरिकामा चर्चित मोडेलका रूपमा समेत चिनिएकी उनले अमेरिकाबाट समाजशास्त्रमा स्नातक गरेकी छन्।
न्युयोर्कबाट फेसन मोडलका रूपमा काम गर्न थालेकी सल्वाले विभिन्न मुलुकमा आयोजित फेसन सोमा काम गरेकी छन्।
सल्वा र राजकुमार राहिम एगा खानबीच सन् २०१३ मा विवाह भएको हो। उनीहरू अहिले पहिलो बच्चाको प्रतीक्षामा छन्।
0 comments
Write Down Your Responses