२०७१ पुष ३० गते
३० पुस, काठमाडौं । बहुमतीय प्रक्रियाबाट भने पनि संविधान जारी गर्न माग गर्दै हस्ताक्षर गर्ने सभासदहरुको संख्या दुई तिहाई पुगेको छ ।
कांग्रेस र एमालेका युवा सभासदहरुको अगुवाइमा शुरु भएको हस्ताक्षर अभियानमा संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले समेत साथ दिएपछि संख्या दुई तिहाई पुगेको हो ।
राप्रपा नेपालले माघ ८ मै संविधान जारी गर्नका लागि हस्ताक्षर गरेको त्यस पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीले बताए । उनले संविधानका अन्तरवस्तुमा भने कांग्रेस-एमालेसँग आफूहरुको फरक मत रहेको बताए ।
अब हामी हाम्रो धारणालाई पनि मतदानमा लगियोस् भन्ने माग गर्छौं, दुई तिहाई बहुमतले हाम्रो मत पराजित भए स्वीकार गरेर जान्छौं, गिरीले भने, संविधान आउनबाट रोक्दैनौं ।
माघ ८ मै संविधान जारी हुनुपर्ने भनेर शुरु भएको सभासदको हस्ताक्षर अभियानमा शीर्ष नेता र संवाद समितिमा रहेकाहरुलाई सही गराउन बाँकी नै रहेको एमाले सभासद शेरवहादुर तामाङले बताए ।
अहिलेसम्म दुई तिहाई भन्दा बढि सभासदले हस्ताक्षर गरिसकेको र केही सभासदले हस्ताक्षर गर्ने पनि चलिरहेको कांग्रेस सभासद रामहरि खतिवडाले बताए । प्रक्रिया शुरु हुँदा केही दिन लम्बिन सक्छ तर माघ ८ लाई खेर जान नदिन हस्ताक्षरले सभाध्यक्षलाई बल पुग्नेछ ।
कांग्रेस, एमाले, राप्रपा नेपाल, राप्रपा, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, बहुजन समाज पार्टी र स्वतन्त्र सभासदहरुले हस्ताक्षर गरेका छन् ।
संविधान जारी गर्न आवश्यक ४ सय १ सभासद पुगिसेकको र त्यसलाई अझ बढि बनाउने गरि हस्ताक्षर चलिरहेको एमाले सभासद यज्ञराज सुनुवारले बताए । अब सहमतिका नाममा सभासद र संविधानसभा निरीह बन्न सक्दैनन्, सुनुवारले भने सहमति र प्रक्रिया दुवै सँगै जान्छन्, संविधान जारी हुन्छ ।
दुई तिहाई भन्दा बढि सभासदहरुको हस्ताक्षर संकलन गरेर सभाध्यक्षलाई बुझाउने तयारी भइरहेको छ । अभियानका सभासदहरुबीच छलफलपछि हस्ताक्षर बुझाइने अभियान संयोजक एमाले सभासद प्रकाश ज्वालाले बताए ।
यसबीचमा एमालेले संसदीय दलको बैठक नै राखेर सभासदहरुलाई जुनसुकै परिस्थितिको सामना गर्नका लागि तयार भएर बस्न निर्देशन दिइसकेको छ ।
कांग्रेसले बुधवार अपरान्ह संसदीय दलको बैठक बोलाएको छ । दलको बैठकपछि भावी रणनीति तय हुने सभासद तथा केन्द्रीय सदस्य सीता गुरुङले बताइन् ।
0 comments
Write Down Your Responses