धादिङमा आगोमा जलेर एकै परिवार चारजनाको मृत्यु


१९ माघ, धादिङ । धादिङको धुसा १ चरौंदीमा आगोमा जलेर एकै परिवारका चार जनाको मृत्यु भएको छ  । स्थानीय किशोरचन्द्र थपलियाको घरमा आगो लाग्दा थपलियासहित उनको ज्वाईं अनिल जिसी, छोरी योजना र नातिनी रोजेट जिसीको मृत्यु भएको हो ।
थपलिया एनेकपा माओवादी धुषा गाउँ कमिटीका अध्यक्ष हुन् । थपलियाको घरमा भाई पवनको विवाह थियो । आइतबार विवाह भोज सम्पन्न गरी पाहुना बिदाइ गरेर राति स–परिवार सुतेका थिए । घरका सदस्य सुतिरहेकोबेला सोमबार विहान २ बजे आगो लागेको थियो ।
अन्य पाहुना बिदाइ भए पनि कास्की घर भएका छोरी, ज्वाइँ र नातिनी घरमै थिए । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो । विवाहको रमाइलो सकेर सुतेका परिवारमा एकाएक दुःखद् घटनाको खबरले थपलिया परिवार शोकमा डुबेको छ ।
आगोमा जलेर थपलियाकी श्रीमती अणकुमारी घाइते भएकी छन् । उनलाई उपचारको लागि काठमाडौंको बीर अस्पताल ल्याइएको छ । तर स्थिति गम्भीर भएको भन्दै अस्पतालहरुले भर्ना गर्न नमानेको पारिवारिक स्रोतले जनाएको छ ।
थपलियाको जस्ताले छाएको २ तले घरमा विद्युत सट भएर आगो लागेको अनुमान गरिएको छ । खाना पकाउने ग्यास सिलिण्डर पनि पड्कीएपछि धेरै क्षति भएको प्रहरीले जनाएको छ ।
आगो लागेको थाहा पाएलगत्तै गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारी नेतृत्वको २५ जनाको प्रहरी टोली घटनास्थल गएको थियो । आगो निभाउन प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए । तर, दमकल नहुँदा आगो निभाउन समस्या परेको प्रहरीले जनाएको छ ।


गत शुक्रबार काभ्रेको पनौति १० सुनथानमा पनि विद्युत सट भएर घरमा आगो लाग्दा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो ।

0 comments

Write Down Your Responses