अब मोबाइलले बताइदिनेछ ! कतिखेर दिसा तथा पिसा आउँछ ?

 २०७१ फागुन २४ गते

आफुलाई कतिखेर दिसा  तथा पिसा  लाग्छ वा कतिखेर मलमुत्र त्याग गर्न जानुपर्ने हो भन्ने कुरा समेत अब मोबाइल फोनको जिम्मामा छाडिदिने जमाना आएको छ । वैज्ञानिकहरुले यस्तो उपकरण बनाउँदैछन् जसले मानिसलाई कतिखेर दिसा गर्न जाने भन्ने कुरा बताइदिनेछ ।

डी फ्री नाम दिइएको उक्त डिभाइस खासगरी अपांग तथा विभिन्न खाले असक्तता र रोग भएका मानिसहरुका लागि चिकित्सा उपकरणको रुपमा बजारमा ल्याइँदैछ । ट्रिपल डब्लु नामक परियोजनाले यो उपकरणको निर्माण गर्दैछ । यसलाई व्यवसायिकरण गर्नका लागि एउटा अभियान नै सुरु गर्दैछ ।
टि्रपल डब्लु अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको जापानी कम्पनी हो ।


यो डिभाइसका फिचर्सहरु के-के हुनेछन् भन्ने विषय अझै गोप्य नै राखिएको छ । तर, यसको प्रोमोसनल भिडियो अनुसार यो उपकरणले पेटमा भएको गतिविधि थाहा पाउनसक्छ । पाचन प्रक्रियाको गतिविधि पहिचान गरी सम्बन्धित व्यक्तिले मल त्याग गर्ने उपयुक्त समय आउनुभन्दा १० मिनेट अगाडि एक एप मार्फत यो उपकरणले स्मार्टफोनमा त्यसको सूचना प्रवाह गर्दछ ।

बिजनेस कार्ड आकारको यो चौकुने डिभाइस पेटमाथि लगाइन्छ । यो डिभाइसले दिसा गर्ने समयको बारेमा मात्र होइन पेटमा कुनै गडबडी उत्पन्न भएको विषयमा समेत जानकारी उपलब्ध गराएर पाचन प्रक्रिया र अस्वस्थताको बारेमा समेत मानिसलाई जानकारी दिनसक्छ ।

दिसा तथा पिसा  गर्दा लामो समय लाग्ने खालको समस्या भएका, अपांग तथा वृद्धवृद्धाहरुका लागि यो उपकरण निकै उपयोगी भएको र यसले मानिसलाई दिसा त्याग अगाडि पर्याप्त तयारीको मौका दिने दाबी ट्रिपल डब्लुले गरेको छ । मार्च महिनामा रकम संकलन अभियान सुरु गरेर यो वर्षको अन्त्यसम्ममा यो डिभाइसलाई बजारमा पठाउने योजना कम्पनीको रहेको बताइएको छ ।

0 comments

Write Down Your Responses