बलात्कारपछि मृत्यु भएको बालिकाको अन्त्येष्टी गर्न परिवार सहमत
बारा, फाल्गुन ३० - बलात्कारपछि हत्या गरिएकी ७ वर्षीया बालिकाको अन्त्येष्टी गर्न परिवार सहमति भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा वार्तामा प्रशासनले बेटी बचाउन संघर्ष समितिले उठाएको ७ मध्ये ५ माग पूरा गर्न सहमत भएपछि बालिकाको आजै अन्त्येष्टी गरिने भएको छ ।
फागुन ८ गते हराएकी ७ वर्षीया बालिका पूजा साह फागुन ९ गते बाराको राजधानी कलैयामा अचेत अवस्थामा फेला परेकी थिइन् । बलात्कारपछि उनलाई फालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनको राजधानीको कान्ति बाल अस्पतालमा उपचारको क्रममा फागुन २४ गते आइतबार मृत्यु भएको हो । बारामा बालबालिकाहरु असुरक्षित भएको भन्दै परिवारसहित बेटी बचाउन संघर्ष समितिले साहको मंगलबारदेखि शवसहित आन्दोलन गरेको थियो ।
आन्दोलनको क्रममा एक पटक प्रहरीसँग झडप समेत भएको थियो । आज प्रशासन, परिवार, संघर्ष समिति र उद्योग बाणिज्य संघको प्रतिनिधि सम्मिलित वार्तापछि यस्तो सहमति भएको हो ।
संघर्ष समितिले बलात्कारीलाई मृत्युदण्ड हुने गरी कानुन संशोधन गर्नुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्नेलगायत ७ बुँदे माग राखेका थिए । आज भएको वार्तामा प्रशासनले पीडित परिवारलाई यथोचित राहत उपलब्ध गराउन पहल गर्ने, कलैयामा सीसीटीभी जडान गर्ने, बालबालिकाको संरक्षणको लागि विशेष सुरक्षा योजना बनाउने, शान्ति सुरक्षा मजबुत बनाउने, माघ १२ गते मारिएका आशिष गुप्ताको हत्याराको खोजीलाई तीब्रता दिने मागमा सहमति जनाएको संघर्ष समितिका संयोजक प्रमोद गुप्ताले जानकारी दिए ।
0 comments
Write Down Your Responses