जापान जान नपाएर दु:खी त हुनुहुन्न ...?

जापान-अध्ययनको बहानामा कमाउन जापान पुगेका नेपाली ‘विद्यार्थी कामदार' ले समयमा काम नपाउँदा हैरान खेप्नुपरेको छ। नेपालका शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) हरुले जापानमा पर्याप्त रोजगारीको अवसर रहेको ‘भ्रमपूर्ण' विज्ञापन र गलत परामर्श दिएर विद्यार्थीलाई जापान पठाउन थालेपछि समस्या उत्पन्न भएको उनीहरुले बताएका छन्।


विद्यार्थी भिसामा जापान आएर काम गरिरहेका आफूहरुको अवस्था दयनीय रहेको उनीहरुको दुखेसो छ। अध्ययनका लागि जापान सही गन्तव्य नभएको उनीहरु बताउँछन्।

कन्सल्टेन्सीहरुले जापानमा पढ्ने बहानामा काम गर्न पठाउने गरेका छन्। जापानी भाषा पढ्ने र पार्ट टाइम काम गरेर पैसा कमाउने ‘विद्यार्थी कामदार' नेपालका कन्सल्टेन्सीले सही परामर्श नदिँदा दुःख बेहोर्नुपरेको बताउँछन्।


‘पढ्न भनिए पनि सबैको उद्देश्य काम गरेर कमाउने हो तर स्कुलले हप्ताको २८ घन्टा मात्र काम गर्न दिँदा त्यसबाट आएको पैसाले भाषा कक्षाको शुल्क बुझाउनै ठिक्क हुन्छ,' इन्टरनेसनल ल्याङ्ग्वेज अफ स्कुल, फुनावासी जापानमा अध्ययनरत होमनाथ चालिसे भन्छन्।

उनका अनुसार केही विद्यार्थी गैरकानुनी तरिकाले बढी समय काम गरिरहे पनि अधिकांश समस्यामा छन्। ‘नेपालबाट आउँदा केही समयका लागि होस्टल र स्कुलको पैसा लिएर आएका हुन्छौं तर पछि कसरी फी तिर्ने भन्ने नै समस्या हुन्छ,' उनले भने, ‘भाषाको समस्या अझ ठूलो छ।'

कन्सल्टेन्सीहरुले जापान जानेबित्तिकै राम्रो काम पाइन्छ भनेर पठाएका हुन्छन्। तर उनीहरुले भनेजस्तो काम नपाउँदा खर्च धान्नसमेत नपुग्ने कठिन हुन्छ। ‘कलेजले काम दिन्छ भनेका हुन्छन् तर खर्च पुग्ने गरी काम नै दिँदैनन्,' चालिसे भन्छन्।

नेपाली विद्यार्थीले कमाएको तलबबाट करसमेत तिर्नुपर्छ। ‘श्रीलंकालगायत केही देशकाले त्यस्तो ट्याक्स तिर्नुपर्दैन,' उनले भने।

नेपालबाट जापान आउँदा १० देखि १४ लाखसम्म खर्च गर्ने विद्यार्थीले जापान पुगेपछि भाषा पढ्ने स्कुललाई छुट्टै मासिक शुल्क तिर्नुपर्छ। त्यही शुल्क र बसाइ खर्च जुटाउन स्कुलले हप्ताको २८ घन्टा काम गर्न छुट दिने गरेको छ तर नेपालका कन्सल्टेन्सीले स्कुलले काम खोजिदिने र पूरा समय काम गर्न पाइने परामर्श दिँदै आएको विद्यार्थीको गुनासो छ। आजको नागरिकमा खबर छ ।

विद्यार्थी भिसामा जापान आउने अधिकांश नेपालीको भविष्य अन्योलग्रस्त रहेको फुकुवामा रहेका सविन आचार्यले सुनाए। ‘पढ्ने बहानामा कमाउने सोचले नेपाली विद्यार्थी यहाँ आउने गरे पनि जापानी भाषा पढाउने स्कुलको गैरजिम्मेवारी र नेपालको कन्सल्टेन्सीका ‘दलाली' सोचले विद्यार्थीको भविष्य अन्धकार भएको छ,' उनले भने।

हप्ताको २८ घन्टा स्कुल स्वयंले काम खोजिदिने आसमा नेपाली जापान हामफाले पनि यथार्थमा महिनौँसम्म काम नपाउने समस्या रहेको उनले सुनाए।

0 comments

Write Down Your Responses