त्रिभुवन बिमानस्थल खुलाउन भारतले गुहार सुन्यो, तर उपकरण अझै पठाएन

२०७१ फागुन २१ गते

काठमाडौँ, २१ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अडकिएको जहाज हटाइदिन भारतीय पक्ष सहमत भए पनि भारतीय वायु सेनाको जहाज कतिबेला काठमाडौँ आइपुग्ने भन्ने अन्यौल छाएको छ ।
‘नेपाल र भारत सरकारबीचको कुराकानीपछि एयरक्राफ्ट रिमुभल किट (जहाज हटाउने उपकरण) मुम्बईबाट दिल्लीमा ल्याइएको छ । त्यो भारतीय वायु सेनाको जहाजबाट अहिले काठमाडौँ ल्याउने तयारी गरेका छौँ । त्यहाँको एयरपोर्टले अनुमति दिनसाथ भारतीय वायु सेनाको जहाज काठमाडौँ आइपुग्छ ।’, त्रिभुवन बिमानस्थलका अपरेशन डाइरेक्टर देवचन्द्रलाल कर्णले दैनिक नेपाल डटकमसँग भन्नुभयो, ‘एयरक्राफ्ट रिमुभल किट इन्डियन एयरवेजको हो । नेपालसम्म ल्याइदिने काम मात्र भारतीय वायुसेनाले गर्न लागेको हो । हाम्रो रन वे बन्द भएका कारण भारतीय सेनाको सहायता लिनु परेको हो । भारतीय सेनासँग पाँच हजार फिटमा ल्याण्ड गर्न सक्ने जहाज छ । हामी त्यसैलाई कुरेर बसिरहेका छौँ ।’
भारतको नयाँदिल्लीबाट भारतीय वायु सेनाले बिहान आठ बजे नै एयरक्राफ्ट रिमुभल किट ल्याउने भनिए पनि अहिलेसम्म जहाज त्यहाँबाट उडेको छैन ।
भारतीय वायु सेनाको जहाजमा १२ जना प्राविधिकहरु पनि साथमा आउँदैछन् । रन वेबाट जहाजलाई हटाएर आज रातिसम्म अन्तर्राष्ट्रिय उडानहरु खुलाउने तयारी गरिएको छ ।
बिमानस्थलका निर्देशक कर्णका अनुसार, यतिबेला बिमानस्थलमा दुर्घटनाग्रस्त जहाजलाई कसरी हटाउने भनेर आन्तरिक तयारी समेत गरिएको छ । त्यसका लागि सेना, प्रहरी र प्राविधिकहरु बिहानैदेखि खटिएको उहाँले जानकारी दिनुभयो ।


टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ विमान अवतरण गर्ने क्रममा बुधबार बिहान धावन मार्गको पश्चिमपट्टि किनारमा अड्किएर धावन मार्ग अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय उडान रद्द गरिएको थियो । विमानस्थलबाट हुने आन्तरिक उडान भने नियमितरुपमा सुचारु भइरहेको छ ।
यसअघि बुधबार पत्रकार सम्मेलन गरी विमानस्थलले भारतबाट इन्डियन एयर फोर्स आज बिहान ८ बजे आइपुग्ने र धावन मार्गमा अड्किएको विमान हटाएर सुरक्षित स्थानमा लगी अपराह्न ४ बजेपछि अन्तर्राष्ट्रिय उडान सुचारु हुने जनाएको थियो ।

त्रिभुवन बिमानस्थल बन्द भएपछि विभिन्न देशबाट नेपाल आउँदै गरेका हजारौँ यात्रु अलपत्र परेका छन् । काठमाडौमा बिमानस्थलमा यात्रुको ठूलो भीड छ । त्रिभुवन बिमानस्थलमा दैनिक ३५ वटा अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । दैनिक १२ हजार भन्दा बढी यात्रु ओहोरदोहार गर्ने बिमानस्थल बन्द हुँदा विदेशमा समेत नेपालको छवि धुमिलिएको छ ।

0 comments

Write Down Your Responses