नायिका नम्रता श्रेष्ठको त्यो कमजोरी
२०७२ जेठ २४ गते
‘कफी कस्तो थियो कुन्नि, मीठो थियो कि तीतो, केही भन्नु भएन त हर्के गुरुले ?’ सुन्तलीले ठट्यौली शैली प्रयोग गर्दछिन् । हर्के मसक्क मस्कँदै मनको कुरा व्यक्त गर्दछ– ‘अति मीठो कफी रहेछ, कफीले मोहनी नै लगायो, सँधैभरी खान आउँ जस्तो ।’
‘हुन्छ नि, कफी खान दिन नसक्ने जस्तो मान्नुभयो कि क्या हो ?’ सुन्तली आँखा तर्छिन् । हर्केले हात हल्लाउँदै मुख खोल्छ– ‘मैले त्यस्तो भन्न खोजेको होइन, तपाईहरुसँग कफी खान दिने क्षमता छैन भनेर मैले कहाँ भनेको छु र ?’ हर्केको कुरासँगै सबै जना हाँसोमा डुब्छन् ।
नम्रताले बिहानैदेखि खुशीको अनुभूति गरिरहेकी थिइन् । उनी अब कुनै पनि हालतमा आफ्नो जीवनमा निराशाको बादल लगाउन चाहँदिनन् । त्यसैले उनले मनमा दृढ संकल्प गर्छिन्– अबका दिनमा जिन्दगीलाई हल्लाउने गरी कुनै पनि किसिमको भूकम्प आउन दिने छैन । पाइला–पाइलामा सचेत हुनेछु ।
‘ट्याक्सीमा तपाईँले धनाढ्यको छोरी पट्याउने कुरा गर्दै हुनु हुन्थ्यो, अनि मेरी प्रेमीका रुचि भन्नुभयो, अर्की पनि पट्याउने सोंचमा हुनुहुन्छ कि क्या हो ?’ सुन्तलीले प्रश्न गर्दछिन् । हर्केले पनि मुस्कुराउँदै जवाफ दिन्छ–‘एउटालाई त सम्हाल्न गाह्रो परेको छ, कामसाम सबै छाडेर अर्डर आउनासाथ हाजिर हुनुपर्छ, दुईटी भए भने त हाल के होला ? सम्झँदै दिमाग चकराउँछ । गाडीमा मजाक गरेको हुँ, १ बर्ष जति भयो मेरो र रुचिको सम्बन्ध गाँसिएकोे, उनी धनी बाबुको छोरी हुन्, सम्पत्तिको लेखाजोखा छैन उनीहरुको तर म उनको सम्पत्तिका कारण उनीसंग नजिकिएको होइन ।
‘तपाईँको बोली, व्यवहार, निःस्वार्थपनलाई हेरेर मैले पनि सहजै अन्दाज लगाएको छु, हर्के जी, तपाईँ रुचिको सम्पत्तिको पछाडि हुनुहुन्न । यदि हुनुहुन्थ्यो भने तपाईँले ट्याक्सी चलाउनु हुन्नथ्यो । रुचिलाई ललाईफकाई उसको सम्पत्तिमाथि रजाईँ गर्ने योजना बनाउनु हुन्थ्यो ।’–नम्रता मुस्कुराउँदै बोल्छिन् । हर्के पनि मन्दगतिमा बोल्छ– ‘भोलि के हुन्छ मलाई थाहा छैन, भोलिको लागि नै आज राम्रो बनाउनुपर्छ भन्ने मान्यता मेरो छ । तर, कहिलेकाँही मेरो मनमा रुचिलाई छाडेर भागुँकि जस्तो सोचाइहरु उत्पन्न हुन्छ । उनी सुखको तराजुमा सधैभर लक्कु–डाली खेल्ने मान्छे, म दुःख र संघर्षमा आफ्ना गाथा कोर्ने मान्छे । रित्ता थालहरुमा प्रेमले भरिएका शब्दको परिकारले मात्र जिन्दगीभर म उनलाई सुखी राख्न, सायद सक्दिन होला । भोलि मेरा कारण उनले भयानक कष्ट व्यहोर्नुपर्छ जस्तो लाग्दछ, त्यसैले उनीबाट टढा, धेरै टाढा जाउँ कि जस्तो लाग्छ
‘हरे राम ! यो मान्छेले त केटी जस्तो पो कुरा गर्न थाले बा ! भोलि जे हुन्छ–हुन्छ, भोलिको लागि आज खराब बनाउनु हुँदैन । आज राम्रो बनाउने प्रयास गरे भोलि पनि राम्रो हुन्छ । सबै कुरा दाउमा लगाएर यो मान्छेको पछि–पछि लागेकी छन् रुचि, यिनी भने टाढिएर भाग्ने कुरा गर्दछन् । समस्यासँग भागेपछि समस्याले जहाँ पुगेपनि लखेट्न छाड्दैन, समस्यासँग सामना गर्ने आँट गर्नुपर्छ, ताकि समस्याहरु टाढा भागुन’ सुन्तली शिक्षिका बन्दछिन् ।
‘हर्केजी, मनको डर अनि शंकालाई पाखा लगाउन गाह्रो हुन्छ । मलाई पनि त्यस्तै भएको थियो । यो सुन्तली दिदीले नै मेरो मनमा यतिधेरै हिम्मत, साहस बटुली दिनुभएको छ कि अब म पुनः आफ्नो क्षेत्रमा फर्कन सक्छु कि जस्तो लागेको छ, त्यसैले तपार्इँ पनि हिम्मतका साथ अगाडि बढ्नुहोस्, तपाईँको मनमा बिराजमान शंकाको निवारण समयले अवश्य गर्नेछ । तर, हिम्मत हारेर आफ्नी प्रियलाई छाडेर भाग्ने कामचाँहि कदापी नगर्नु होला । मान्छेले सबै कुरा सहन सक्छ, मनको प्रियको घात सहन धेरै गाह्रो हुन्छ’–नम्रताले बोल्दा बोल्दै लामो स्वास छाड्छिन् । हर्के एकछिन् टोलाउँछ । केही समय त्यहाँ मौन्ता छाउँछ ।
‘हुन्छ नम्रता जी, सुन्तली जी, म अहिले लाग्छु । आज तपाईहरुसँगको भेटले मेरो मनमा नयाँ चिन्तनको विकास भएको छ । सकेसम्म म यसको पारखी भएर अगाडि बढ्नेछु’–हर्केले हात जोड्दै बिदा माग्छ । नम्रताले पनि मन्द मुस्कान छर्दै बिदा दिन्छिन् । सुन्तलीले भने जान लागेको हर्केमाथि ठट्टाको झटारो पुनः हान्छिन्–‘राम्रोसँग जानु, धनाढ्यको छोरीलाई पट्याई सक्नु भा’रैछ, अलि होस गरेर प्रेमको रथ अगाडि बढाउनु, दुर्घटनामा गइएला ।’
हर्के पनि कम थिएन । ठट्टाको जवाफ ठट्टाकै चोटिलो शव्दबाट दिन्छ –‘हवस मेरो आमा, हजुरको जो आज्ञा ।’
त्यहाँ पुनः हाँसोको फोहरा छुट्छ । हाँस्दै हर्के आफ्नो बाटो लाग्दछ । सुन्तली र नम्रता गफमा लिन बन्छन् ।
‘हर्के ट्याक्सी चालक भएपनि राम्रो रहेछन् । जसले गर्दा रुचि जस्तो माया गर्ने केटीको साथ पाएका रहेछन्।’ सुन्तलीले आफ्नो राय राख्छिन् । नम्रताले पनि ‘ठीक भन्नुभयो’ भन्दै समर्थन् गर्छिन् ।
आज नम्रताले बिहानैदेखि खुशीको अनुभूति गरिरहेकी थिइन् । अन्धकारमा रुमलिएको उनको जीवनमा उज्यालो देखा परेको छ । उनी अब कुनै पनि हालतमा आफ्नो जीवनमा निराशाको बादल लगाउन चाहँदिनन् । त्यसैले उनले मनमा दृढ संकल्प गर्छिन्– अबका दिनमा जिन्दगीलाई हल्लाउने गरी कुनै पनि किसिमको भूकम्प आउन दिने छैन । पाइला–पाइलामा सचेत हुनेछु ।
‘आज खुशीको दिन रहेछ, सुन्तली दिदी म आज धेरै खुशी छु, घरपरिवार, किर्तिपुरे दिदी भिनाजु, अनि हर्के गुरु सबैले मन प्रफुल्ल बनाउने काम गरेका छन्’ नम्रताले मनको खुशी प्रकट गर्दछिन् । रागिनीले उनको कुरामा प्रशन्नता दर्शाउँछिन्–‘मासिनको जिन्दगी सुख, दुःख, मिलन बिछोड सबै मिलेर बनेको हुन्छ, सधैभर हाँसो र सधैभरी आँशु पनि हुँदैन । तपाईँको रुने दिन अब सकियो, खुशी, उमँग, प्रगतिमा रमाउने दिन सुरु भएको छ । तर यसलाई सधैभर बचाउनका लागि आफूले धेरै कुराहरुमा ध्यान दिनुपर्छ ।’
‘कहिलेकाँही मान्छेले जिन्दगीमा गर्न नहुने काम पनि गरिँदो रहेछ, नसोचेको ठाउँमा पनि गइँदो रहेछ, मैले पनि सोचेको थिएन यस्तो हुन्छ होला भन्ने तर के गर्ने ?’ नम्रताले लामो सुस्केरा छाड्छिन् । सुन्तलीले सान्त्वना दिन सुरु गर्छिन्– ‘त्यही त हामी मान्छे भयौं नि, भगवानबाट त गल्ती–कमजोरी भएका छन्, झन हामी मान्छेबाट ! तर गल्ती कमजोरी सच्चाउने सवालमा भने हामीले विशेष रुपमा ध्यान दिनपर्छ । आफूले गरेको गल्ती कमजोरी महसुस गर्दै अगाडि बढेमा भविष्यमा जटिल अवस्थाको सामना गर्नुपर्दैन ।’
(पत्रकार प्रियासनको अप्रकाशित उपन्यास ‘नम्रता’बाट)
स्रोत - दैनिक नेपाल
0 comments
Write Down Your Responses