नेपालमा राहत बाँड्न आए बुद्धधर्मका बडागुरु थाई राजगुरु
२०७२ जेष्ठ २० बुधवार
काठमाडौं : थाई राजालाई दीक्षा र राज्याभिषेक दिने बुद्धधर्मका बडागुरु सोमडेच फ्रा महामंगलाचान एयर एसियाको विमान चार्टर गरी नेपालका भूक पपीडितलाई राहत दिन एक सय ५० जनाको टोली लिएर मंगलबार काठमाडौं आएका छन्।
उनी ८ घन्टा नेपाल बसेर भूकम्पपीडितलाई राहत वितरण गरी मंगलबार साँझ नै थाइल्यान्ड फर्किए। बडागुरु महामंगलाचानका साथमा थाई सूचना तथा प्रविधिमन्त्री, पूर्वमन्त्री र वरिष्ठ धर्मगुरुहरू थिए। उनी बुद्धधर्मको थाइल्यान्डको सर्वोच्च निकायका राजगुरु हुन्।
मंगलबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका धर्मगुरु महामंगलाचान त्यहाँबाट सोझै धर्मस्थली पुगेर भूकम्पपीडितलाई राहत वितरण गरे।
उनी थाइल्यान्डमा मनाइने बुद्धपूर्णिमाको अवसर पारेर भूकम्पपीडितलाई राहत बाँड्न नेपाल आएका हुन्। थाइल्यान्डको परम्पराअनुसार मंगलबार बुद्धपूर्णिमा हो।
बडागुरु महामंगलाचानले थाइल्यान्डका राजा भूमिदेज अब्दुल्याजलाई दीक्षा दिनुका साथै राज्याभिषेक गराएका थिए। बडागुरुलगायतको टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाले विमानस्थलमा स्वागत गरेका थिए।
'उहाँजस्तो विशिष्ट व्यक्तिले नेपाल भ्रमण गर्दा पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग पुग्छ', मन्त्री शेर्पाले अन्नपूर्णसँग भने, 'भूकम्पपीडितलाई राहत वितरण गर्न आए पनि नेपाली पर्यटन क्षेत्रका लागि बडागुरु महामंगलाचानको नेपाल भ्रमणले विश्वभर सकारात्मक सन्देश दिएको छ।'
बडागुरु महामंगलाचान ३५ वर्षअघि सामान्य भिक्षुका रूपमा स्वयम्भूस्थित आनन्दकुटी बिहारमा चार महिना बसेका थिए। उनी कुनै समयमा बसेको बिहारसमेत भत्किएकाले त्यसको पुनर्निर्माणमा समेत उनले सघाउने भएका छन्।
लुम्बिनी विकास कोषका उपाध्यक्ष सिद्धार्थ महर्जन (भिक्षु निर्गोध)ले बडागुरु महामंगलाचानको नेपाल भ्रमणले भूकम्पका कारण लुम्बिनीका संरचना केही नभएको सन्देश दिँदै विश्वका बुद्ध धर्मावलम्बीलाई लुम्बिनी भ्रमण गर्न उत्प्रेरित गर्ने बताए।
उनले भने, 'लुम्बिनी भ्रमण गर्न विश्वका समुदायलाई आग्रह गर्ने उहाँको सोचाइ छ। उहाँ थाइल्यान्ड र विश्वलाई लुम्बिनीका संरचनाहरू केही नभएको सन्देश सुनाउन चाहनुहुन्छ।'
बडागुरुले वैशाख १२ को भूकम्पलगत्तै थाइल्यान्डबाट राहत सामग्री पठाएका थिए। उनले भूक पमा ज्यान गुमाएका परिवारका बच्चालाई छात्रवृत्ति दिने व्यवस्थासमेत मिलाएका छन्।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, सञ्चारमन्त्री मीनेन्द्र रिजाल र पर्यटन तथा नागरिक उड्डयनमन्त्री शेर्पाले धर्मस्थलीका भूकम्पपीडितलाई राहत वितरण गर्न बडागुरु महामंगलाचानलाई साथ दिएका थिए।
उनले भूकम्प प्रभावित अन्य जिल्लाका पीडितहरूलाई पनि राहत बाँडेका थिए।
0 comments
Write Down Your Responses