ठगी गर्ने वैदेशिक रोजगार व्यवसायी फन्दामा पर्दै !

कतार, मलेसिया र सिंगापुर पुगेका अधिकांश नेपालीको अवस्था दयनीय रहेको आयोगको निष्कर्ष छ ।
वैदेशिक रोजगार व्यवसायी, बिचौलिया र सरकारी निकायको लापरबाही र बदमासीका कारण वैदेशिक रोजगारीमा पुगेका लाखौं नेपालीको अवस्था कष्टकर बनेको आयोगले जनाएको छ ।
आयोगले वैदेशिक रोजगारीमा सरोकार राख्ने श्रम, परराष्ट्र तथा गृह मन्त्रालयका अधिकारीसँग लापरबाहीबारे स्पष्टीकरण लिने तयारी गरेको छ ।
आयोगले केही समयअघि सहसचिव वेगेन्द्रराज शर्मा पौड्यालको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोलीलाई कतार पठाएको थियो । अर्का सहसचिव हरिराज पन्तको नेतृत्वमा १४ सदस्यीय टोली मलेसिया र सिंगापुर गएको थियो ।
अनुसन्धान सकेर फर्किएका दुवै टोलीको प्रतिवेदनका आधारमा आयोगले थप छानबिन गर्न लागेको हो । दुवै टोलीले आफ्नो विस्तृत प्रतिवेदन तयार गरिरहेका छन् ।
आयोग प्रवक्ता कृष्णहरि पुष्करले वैदेशिक रोजगारीमा हुने ठगीका साथै श्रमिक र प्रवासीको मुद्दाप्रति आयोग संवेदनशील भएको बताए । ठगी गर्नेलाई आयोगले कानुनी कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।
वैदेशिक रोजगार व्यवसायी, बिचौलिया र सरकारी निकायका अधिकारीको सेटिङमा नै ठगी हुने गरेको अख्तियारको छानबिन टोलीको निष्कर्ष छ ।
आयोग प्रवक्ता पुष्करले वैदेशिक रोजगारीमा पठाउने प्रक्रियामा सहभागी हुने श्रम, गृह, परराष्ट्र तथा स्वास्थ्य मन्त्रालय र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका उच्च पदाधिकारीलाई आयोगमा नै बोलाएर जानकारी मागिने बताए ।
अख्तियारको छानबिन टोलीले कतार र मलेसियास्थित नेपाली दूतावासका केही कागजपत्र नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगारीमा हुने ठगीबारे अनुसन्धान गर्न कागजपत्र नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ

,

0 comments

Write Down Your Responses