मसान पुज्ने भन्दै माताद्वारा ५१ तोला गरगहना लुट

धनगढी, ३ पुष, मंसिर २५ गते दिउँसो छोरी आरती र म घरमा थियौँ । टाउको दुखेकाले छोरी सुतेकी थिई । त्यो दिन दिउँसो मनकामना माता बताउने दुईजना महिलाले धनगढीको नैनादेवी मन्दिरको सन्तोषी माताको पूजाका लागि चन्दा उठाउन आएको बताए । केही रकम दिन गेटमा गएका बेला एक महिलाले 'तपाईको घरमा मसान लागेको रै'छ, अशान्ति हुन्छ होला, छोरी बिरामी भइराख्छिन् होला, धन आए पनि स्वाट्टै खर्च भइहाल्छ होला' भनिन् । अमेरिकामा लाखौँ खर्च गरेर व्यवस्थापनमा स्नातक गरेर फर्केकी छोरीलाई विसन्चो भइरहन्थ्यो । यी माताले भनेका धेरै कुरा मिलेजस्तो लाग्यो । उनले तपाईको घरमा पूजा ग¥यो भने मसान ठीक हुन्छ भनिन् । मैले छोरीको स्वास्थ्यका लागि पूजा गरिदिन आग्रह गरेँ ।


दुईमध्ये अलि पातली झन्डै २७–२८ वर्षकीले कुर्तासुरुवाल लगाएर सल ओढेकी थिइन् । अर्की अलि मोटी ३२–३४ वर्षकी थिइन् । पातलीले आफू माता भएको बताउँदै आज पूजा हुँदैन भनिन् । उनले धनगढीकै नैनादेवी मन्दिरमा बसिरहेको र अर्को दिन (२६ गते) बिहान आउने बताइन् । मैले पनि आइदिन आग्रह गरेँ । उनीहरुले एनसेलको फोन नम्बर पनि दिए ।

उनीहरुले जुटाउनु भनेको सामान बजारमा कहँि पाइएन । छोरीले फोन गरेर सामान नपाएको बताएपछि उनीहरुले अर्काका लागि तयार गरेको केही सामान आफूहरुसँग रहेको र केही खर्च तिरे दिने बताए । दुईतीनपटक उनीहरुसँग छोरीको फोन भयो । उनीहरुले छोरी र मलाई मसानको पूजा गोप्य गर्नुपर्छ, पतिसहित कुनै पनि पुरुषलाई नबताउनु भनेकाले हामीले घरमा सल्लाह गरेनौँ । २६ गते विहान दुवैजना आए । पूजासामग्रीको खर्च साढे ११ हजार रुपैयाँ हामीसँग थिएन । आरतीले साथीसँग मगाई ती तान्त्रिकले आरतीको साथीलाई पनि आगनमा खुट्टा हाल्न नदिनू भनेपछि छोरीले गेटबाहिरै गएर पैसा ल्याई । घरका सबै गहनामा मसान लागेकाले एकै ठाउँमा राख्न भने । धेरै गहना सासूकहाँ राखेका थियौँ । २५ गते राती नै मगाएर राखेँ । पाँचवटा रुमालमा झन्डै एक किलो दरले चामल हाल्दै हगना पोको पार्न लगाए । मैले खुट्टामा लगाएको सुनको बिच्छुसमेत खोलेर पोकामा राखेँ । छोरीको घाँटीको सिक्री, हीराजडित हार, सुनका चुरा, मंगलसूत्र सबै पोको पारेर राख्यौँ । सबै गहना हाम्रै लकरमा राख्ने भनेकाले ढुक्क भयौँ ।

मलाई गहना र चामलको पोको पार्न र गाँठो कस्न भने । घरको चारै कुनामा पानी छर्कन लगाए । केके गरे केके । केही खान पनि दिएका थिए । पूजाकोठामा रहेको लकरमा त्यो गहनासहितको पाको राख्न लगाए । मैले लकरमा राखेर चाबी लगाएँ । थप साढे सात हजार दक्षिणा दिएँ । उनीहरुले पाँच दिनसम्म कसैलाई नबताउन भनेका थिए । पाँचौ दिन पुष १ गते छोरीलाई नैनादेवी मिन्दर आउनु, पूजा हुन्छ भनेका थिए । छोरी बिहानै नुहाइधुवाई गरेर मन्दिर पुगेर पुजारीलाई मनकामना माताबारे सोध्दा भनेछन्, 'नानी तिमी पनि ठगिएछौँ । यहाँ कोही मनकामना माता बस्दैन ।' छोरीले रुँदै मन्दिरबाटै फोन गरेर लकर हेर्न भनी । लकरमा झण्डै ६ सय ग्रामको गोलो ढुङ्गा भेटियो । रुपमाल र चामल थिए, गहनामात्रै गायब ।

(आजको अन्नपूर्ण पोष्टले छापेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल हमालकी पत्नी शारदासँग शिवराज भट्टले गरेको कुराकानी ।) *सांकेतिक तस्विर

0 comments

Write Down Your Responses