२०७१ माघ १०
१० माघ, काठमाडौं ।पूर्वयुवराज पारस शाहले अाफ्नो गिरफ्तारी छल्न अनेक उपाय अपनाएको डीअार्जी केशव अधिकारीले बताएका छन् । अधिकारीले नयाँ पत्रिकासँग पारसलार्इ गिरफ्तार गर्न जाँदाको अनुभवका बारेमा कुरा गर्दै गिरफ्तारी छल्न विभिन्न बाहना बनाए पनि अाफूहरूले नियन्त्रणामा लिएको बताए ।
आफूलाई पक्राउ गर्न फूलबारी रिसोर्ट पुगेको प्रहरीलाई पारसले सुरुमा स्वास्थ्य कमजोर रहेको भन्दै चिकित्सक ल्याएपछि मात्रै जाने बताए । प्रहरीले ‘गण्डकी अञ्चल अस्पतालका क्षेत्रीय प्रमुखलाई नै सँगै लिएर जाने र स्वास्थ्यको रेखदेख गर्ने’ बतायो ।
त्यसपछि पारसले ‘वकिल झिकाइदिन’ आग्रह गरे । प्रहरीले सम्झाउँदै जवाफ दियो, ‘पोखरामा वकिलको कामै छैन, चितवनमै बोलाउनुस् ।’
तीन घन्टापछि प्रहरीसमक्ष पारसको नयाँ माग आयो, ‘मेरो
स्वास्थ्य ठीक नभएकाले गाडीमा जान्नँ, हेलिकोप्टरमा लैजानुपर्छ ।’ प्रहरीले भन्यो, ‘फौजदारी अभियोग लागेको व्यक्तिलाई सरकारी सुविधामा हेलिकोप्टर उपलब्ध हुँदैन ।’ पारसले भने, ‘हेलिकोप्टरको खर्च मै तिर्छु, मगाइदिनुपर्यो ।’
भुजा आएको केही बेरपछि पारसले ‘सावर’ लिन टाइम मागे । प्रहरीले ‘ठीक छ’ भन्यो । ‘सावर’ लिएपछि चुरोट तान्दै बसिरहे । त्यसपछि पनि पारस घरि प्रहरीलाई ‘पख्नोस्, तपाईंलाई प्रधानमन्त्रीको फोन आउँछ’ भन्थे त घरि ‘प्रधानमन्त्रीले नगरे गृहमन्त्रीले फोन गर्छन्’ भनेर आलटाल गर्थे ।
पारसको आनाकानीले हैरान भएको प्रहरीले ‘१० मिनेटभित्र बाहिर ननिस्किए कोठाभित्रै आएर पक्राउ गर्ने’ चेतावनी दिएपछि पनि पारसले दुईवटा सर्त अघि सारे । पहिलो ‘होटलको लबीमा भएका सबै प्रहरी हटाइदिन’ र दोस्रो, ‘हत्कडी नलगाउन ।’ भाग्ने सम्भावना नभएकाले प्रहरीले पारसको सर्तमा सहमति जनाउँदै ‘हुन्छ’ भन्यो । र, हेलिकोप्टर चढाएर चितवन पुर्यायो ।
.jpg)

0 comments
Write Down Your Responses