पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार




४६ करोड बिगो दाबीसहित अख्तियारको मुद्दा


१० माघ, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना बनाउने नाममा अवैध बालुवाखानी सञ्चालन गरी करोडाँै रुपैयाँ अनियमितता गरेको आरोपमा कोषका तत्कालीन दुई सदस्यसचिव तथा तीन स्थानीय विकास अधिकारीसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कोषका तत्कालीन सदस्यसचिवहरू निर्मल कुइँकेल तथासुशील नाहटासहित नौजनाविरुद्ध४६ करोड ५६ लाख ८७ हजार एक सय ५८ रुपैयाँ ४६ पैसा बिगो–दाबीसहित शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


कुइँकेल तथा नाहटासहित काठमाडौंका तत्कालीन स्थानीय विकास अधिकारीहरू महेन्द्रलाल श्रेष्ठ, गोपालप्रसाद पराजुली तथाप्रेमराज जोशी,कोषका उपनिर्देशक राजकुमार रेग्मी, योजना अनुगमन तथा प्रशासकीय अधिकृत भीष्मकुमार मल्लएवं खानी उत्खननकर्ता बच्चुराम दाहाल र मिठुराम दाहालविरुद्ध मुद्दा दायर गरिएको हो । मुद्दा दायर भएसँगै स्थानीय विकास अधिकारीलगायत सबै सरकारी अधिकारी निलम्बनमा परेका छन् ।

भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएका कुइँकेल एमाले काठमाडौंका अध्यक्ष हुन् । उनी दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं ४ बाट एमालेतर्फका प्रत्याशी थिए ।

अख्तियारका अनुसार २०६३ देखि २०६८ सम्मको अवधिमा कोषको गुरुयोजना बनाउने नाममा अनियमितता भएको थियो । अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले पशुपति क्षेत्रको विकासका नाममा ठूलो भ्रष्टाचार भएको पाइकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिए । नेपालमा सामाजिक, प्रशासनिक तथा राजनीतिक मात्रै नभई धार्मिक क्षेत्रमा पनि ठूलो भ्रष्टाचार हुने गरेकोतथ्य पशुपति क्षेत्रमा भएको भ्रष्टाचारले उजागर गरेको प्रवक्ता सापकोटाले बताए ।

अख्तियारले भ्रष्टाचार गरेको रकमको बिगो भराउन माग गर्दै एकदेखि १० वर्षसम्मको कैद सजाय माग गरेको छ । यो प्रकरणमा बालुवा उत्खननकर्ता बच्चुराम दाहालसँग सबैभन्दा बढी ३८ करोड ३८ लाख ३७ हजार आठ सय ३४ रुपैयाँ बिगो दाबी गरिएको छ । यसैगरी तत्कालीन सदस्य–सचिव निर्मल कुइँकेलले एक करोड ६८ लाख २९ हजार एक सय ९४ रुपैयाँ तथा अर्का सदस्यसचिव सुशील नाहटाले एक करोड ९२ लाख ७८ हजार एक सय ३८ रुपैयाँ भ्रष्टाचार गरेको ठहर अख्तियारको छ ।

अख्तियारका अनुसार काठमाडौंका तत्कालीन स्थानीय विकास अधिकारीहरूले पनि विनाअध्ययन अवैध खानी सञ्चालनलाई वैधता दिएका थिए । मिलेमतो र सेटिङकै आधारमा वैधता दिएकाले उनीहरूविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर गरिएका तत्कालीन स्थानीय विकास अधिकारी पराजुली हाल सिन्धुपाल्चोकका   प्रमुख जिल्ला अधिकारी छन् । यस्तै जोशी स्थानीय विकास मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत छन् भने श्रेष्ठ आन्तरिक राजस्व विभागमा कार्यरत छन् ।

आयोगका अनुसार पशुपति क्षेत्र विकास कोषमा भएका विभिन्न भ्रष्टाचारका अन्य १४ वटा उजुरी परेका छन् । ती उजुरीबारे पनि छानबिन भइरहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।



कोसँग कति बिगो दाबी ?

१. निर्मल कुइँकेल (तत्कालीन सदस्य–सचिव)
बिगो दाबी : १,६८,२९,१९४।३०
अभियोग : सूचना चुहावट, खानी ऐन आकर्षित गर्ने प्रयास, प्रतिस्पर्धाको सिद्धान्तविपरीत बोलपत्रकम मूल्यमा सम्झौता, अवैध खानी सञ्चालन कार्यादेश दिएको, अवैध वन कटान निर्णय



२. महेन्द्रलाल श्रेष्ठ (तत्कालीन स्थानीय विकास अधिकारी)
बिगो दाबी : १२००४३९९।३०
अभियोग : बच्चुरामले मात्रै खानी उत्खनन गर्न पाउने गरी पत्राचार, ६ महिना उत्खनन नभएको अवस्थामा नवीकरण, खानीको निर्देशनको अपव्याख्या, वातावरणीय प्रभाव मूल्यांकन नगराईअवैध खानी सञ्चालन स्वीकृति, अवैधवन कटान, राजस्व छली



३. गोपालप्रसाद पराजुली (तत्कालीन स्थानीय विकास अधिकारी)
बिगो दाबी : १,७२,७६,६०८
अभियोग : अवैध खानी सञ्चालनलाई निरन्तरता, अवैध राजस्व छली



४. बच्चुराम दाहाल (बालुवा ठेकदार)
बिगो दाबी : ३८,३८,३७,८३४।४९
अभियोग : अवैध खानी सञ्चालन, लाइन लेभल नै नगरी जथाभावी उत्खनन, वन कटान, तोकिएको परिमाणभन्दा बढीबालुवा उत्खनन, सम्झौता माइनिङ स्किमविपरीत खानी उत्खनन, कोषलाई क्षति



५. सुशील नाहटा (तत्कालीन सदस्य–सचिव)
बिगो दाबी : १,९२,७८१३८
अभियोग : वातावरणीय प्रभाव मूल्यांकन नगराई खानी सञ्चालन, सम्झौता रद्दपश्चात पनि जथाभावी खानी सञ्चालन तथा उल्लङ्घन गरिएकै सर्त राखी पुन: सम्झौता, तोकिएको परिमाणभन्दा बढीबालुवा उत्खनन



६. प्रेमराज जोशी (तत्कालीन स्थानीय विकास अधिकारी)
बिगो दाबी : १४,२६,०००
अभियोग : १५ महिनासम्म अवैध खानी सञ्चालन,६ महिना उत्खनन नगरेको अवस्थामा नवीकरण, परिषद् बैठकलाई गुमराह



७. भीष्मकुमार मल्ल (तत्कालीन योजना अनुगमन तथा प्रशासकीय अधिकृत)
बिगो दाबी : १४,२६०००
अभियोग : छानबिनविना नै मन्जुरीनामा पत्र, १५ महिनासम्म अवैध खानी सञ्चालन, ६ महिना उत्खनन नगरेकामा नवीकरण



८. मिठाराम दाहाल (खानी ठेकेदार )
बिगो दाबी : ३,०३४,००,००
अभियोग : आव ०६९/७० मा कोषको स्वीकृतिविना खानी सञ्चालन, क्वारी क्षेत्रबाहिर जथाभावी बालुवा उत्खनन



९. राजुकुमार रेग्मी (कोषका उपनिर्देशक)
बिगो :१४,२६०००

0 comments

Write Down Your Responses