प्रेममा परेको छोराले यसो गर्‍यो !

 २०७१, १९ चैत
मन पराएकी केटीसँग बिहे गर्न एक युवकले अपहरणको नाटक गरी आफनै बुबाबाट १५ लाख रकम फिरौती माग गरेको रहस्य खुलेको छ । आफूले मनपराएकी केटीसँग बिहे गर्न नपाएपछि सप्तरीका एक युवकले आफनै बुबासँग अपहरणको नाटक रचेर १५ लाख फिरौती मागेका हुन् । सप्तरीको इटहरी बिष्णुपुर गाविस –३ घर भई हाल ललितपुरको इमाडोल–६ बस्ने कृष्ण बल्लभ ठाकुरलाई शनिबार बिहानै नचिनेको नम्बरबाट फोन आयो । फोनमा उनलाई ‘तेरो छोरा अञ्जन हाम्रो नियन्त्रणमा छ, छोरालाई सकुशल छुटाउनु छ भने नगद १५ लाख फिरौती दे, होइन भने‘’ भन्ने धम्की आयो ।


उनले सुरूमा त पैसा छैन भने । तर, हुकिर्सकेको छोरो अपहरणमा परेको खबर आएपछि ठाकुर निकै आत्तिए । उनले प्रहरीलाई खबर गरे । प्रहरीले पनि दिनभर खोजी गर्‍यो । प्रहरीले अञ्जानको खोजी गरिरहँदा पनि अञ्जान र उनका बाबुबीच पैसामा बार्गेनिङ पनि नचलेको होइनन । तर, कृष्णले पैसा माग्ने आफनो छोरा नै हुन् भन्ने थाहा पाएनन् । आइतबार बिहान फेरि त्यही नम्बरबाट फोन आयो र भनियो, ‘ड्याडी म अञ्जान हो, मलाई कल गर्नुस् ।’ त्यसपछि अञ्जनले अपहरणको नाटक गरेको भेद खुल्यो । यता सरकारी कर्मचारीसमेत रहेका कृष्णबल्लभका अनुसार कक्षाा ११ मा पढ्ने अञ्जानले ११ मै पढ्ने केटी मन पराएका थिए ।

उनले आमालाई प्रेमिकासँग विवाह गर्ने इच्छा व्यक्त गरेका थिए तर सुनुवाइ भएन । अन्तरजातीय भएको भन्दै परिवारले ती केटीलाई स्वीकार नगर्ने बताएका छन । तर, केही दिनअघि अञ्जानले प्रेमिकालाई भेट्न आउ भनेर मोबाइलबाट पठाएको म्यासेज बाबुले भेट्टाए । पढ्ने बेलामा छोरो प्रेममा परेको थाहा पाएपछि बुवाले दुई चार थप्पड पनि लगाए । बाबुले कुटेपछि अञ्जानले डरलाग्दो योजना बनाए । उनले अपहरणमा परेको नाटक गरेर बुबासँग १५ लाख माग्ने र आफूले मन पराएकी केटीसँग विवाह गरेर छुट्टै बस्ने योजना बुनेको कृष्णबल्लभले थाहा पाएनन् । कृष्णबल्लभले उजुरी नदिएकाले प्रहरीले पनि कुनै मुद्दा चलाएन । अञ्जन पिताकै साथ घर गए ।

0 comments

Write Down Your Responses