सुशील र बामदेवलाई गिरफ्तार गर्न ३० दलीय मोर्चाको माग

काठमाण्डु, २४ चैत


 एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई गिरफ्तार गर्न माग गरेको छ ।
कोइराला र गौतमले संविधान र कानून उल्लंघन गरेको भन्दै पक्रन माग गरेको हो । तीन दिने आमहड्तालको पहिलो दिनको कार्यक्रम सकिएपछि बिजुलीबजारमा भएको कोणसभामा बोल्दै एमाओवादी सचिव वर्षमान पुनले कोइराला र गौतम कानूनको नजरमा दोषी रहेको भन्दै पक्रनु पर्ने बताए ।

जनताको शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने नैसर्गिक अधिकारमाथि हस्तक्षेप र दमन गरेर सरकारले ज्ञानेन्द्र शाहको भन्दा चर्को निरंकुशता प्रदर्शन गरेको आरोप उनले लगाए । उनले प्रतिपक्षको काम सरकारलाई खबरदारी गर्नु भएकाले प्रतिपक्ष सडकमा आउँदा सत्तामा बसेर धम्क्याउनु अलोकतान्त्रिक चरित्र भएको तर्क गरे ।
‘जनताको ठाउँ सडक हो’, जनता विगतका सहमतिका आधारमा संविधान, विकास र रोजगारी मागेर सडकमा आएको छ’, पुनले भने्, ‘सत्तामा बसेर जनतालाई कानूनले दिएको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारमाथि हस्तक्षेप गर्नेलाई तत्काल पक्राउ गर्नुपर्छ ।’
उनले सत्तापक्ष विपक्षीप्रति अनुदार भएको भन्दै उक्साएर दमनका लागि वातावरण बनाउन काममा नलाग्न गृहमन्त्री गौतमलाई चेतावनी दिए ।
सत्ता पक्षले विगतका सहमति र सम्झौता र अन्तरिम संविधानविपरीत बलमिच्याईं गरेर यथास्थितिवादी संविधान ल्याउन खोजेकाले त्यसको जवाफ दिन सडकमा आएको बताए । आमहड्ताल र बन्दले जनतालाई मर्का परेकोबारे आफूहरु जानकार रहे पनि जनताकै अधिकारका लागि आन्दोलन गर्न बाध्य भएको जिकिर गरे ।
सत्तापक्षले विपक्षीको आवाज नसुने थप सशक्त आन्दोलन गर्ने चेतावनी पुनले दिए । उनले आफूहरु वार्ता र संवादबाटै निकास दिन तयार रहे पनि प्रधानमन्त्री सुशील कोइराला वार्ताका लागि इच्छुक नरहेको आरोप लगाए ।

0 comments

Write Down Your Responses