किर्ते गरि अर्काको जग्गा बिक्रि गर्ने गिरोहलाई १ करोड ५० लाख जरिवाना, ६ बर्ष कैद सजाय

पोखरा ।


नक्कली जग्गाधनी बनाई अर्काको जग्गा कीर्ते कागजपत्र बनाई बिक्री गर्ने सात जनालाई जिल्ला अदालत कास्कीले एक करोड ५० लाख जरिवाना र कैद गर्ने फैसला गरेको छ।  अमेरिका बस्ने चितवनकी शान्ता राणाको पोखरा–६ लेकसाइडमा रहेको जग्गा नक्कली जग्गाधनी र कीर्ते कागज बनाई बेच्ने सात जनाको गिरोहलाई ठगीको प्रकृतिअनुसार कम्तीमा दुई महिनादेखि छ वर्षसम्मको कैदको फैसला गरेको हो। जिल्ला न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले उक्त फैसला सुनाएको हो।  आफू शान्ता राणा भएको भन्दै नक्कली नागरिकतासहितका कागजपत्र बनाएर ठगीमा संलग्न भएकी नुवाकोट ककनीकी आशामाया लामालाई छ वर्ष कैदसहित ५६ लाख ७८ हजार जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार दीनबन्धु बरालले जानकारी दिए। ठगीमा संलग्न कास्की मालपोत र पोखरा उपमहानगरपालिकाका १४ जना कर्मचारीले भने सफाइ पाएका छन्। फैसलाअनुसार आशामायाकी छोरी सुष्मालाई दुई महिनाको कैद र एक लाख जरिवाना तोकिएको छ। अदालतले रामचन्द्र भण्डारीलाई तीन वर्ष कैद र  ३५ लाख ६६ हजार, ईश्वर कार्की र पीताम्वर भण्डारीलाई एकरएक वर्ष कैदसहित रामचन्द्रकै जतिकै जरिवाना तोकिएको छ। त्यस्तै भोजराज भण्डारी र डिल्लीराम पौडेललाई छ महिना कैद र पाँच हजार जरिवानाको फैसला भएको छ। काठमाडौँको कालिमाटीमा तरकारी बेच्दै आएकी आशामायालाई पाँच लाख दिने लोभ देखाएर गिरोहले शान्ता राणा बनाई प्रयोग गरेको थियो। गिरोहको योजनाअनुसार राणाको जग्गा आशामायाबाट २०६८ साल असोज ५ गते बबिता कार्कीका नाममा पास भएको थियो।
उनको १४ आना जग्गा उनीहरुले कित्ताफोड गरी बबिताबाट दाङ्सिङका चन्द्रबहादुर गुरुङ र पाल्पाका निर्मल गौतमलाई बिक्री गरेका थिए। तीन करोड पर्ने अनुमान गरिएको उक्त जग्गा उनीहरुले एक करोड ५० लाखमा किनबेच गरेका थिए। एक्काइस वर्षदेखि अमेरिका बस्दै आएकी चितवनकी राणाले आफ्नो जग्गा सँधियारले मिचेको खबर सुनेर आउँदा जग्गा अर्काले बेचिसकेको थाहा पाएकी थिइन्। उनले बाबु मोहनबहादुर थापाबाट २०४३ सालमा उक्त जग्गा बकस पाएकी थिइन्।

0 comments

Write Down Your Responses