डा. केसी तपाईको अनसन उदेश्य सरकार ढाल्ने हो ?
जीवन बिसी
भारतका प्रसिद्ध गान्धीबादी सामाजिक कार्यकर्ता अन्ना हजारेको भ्रष्टाचारबिरोधी अभियानले दिल्लीमा १५ बर्षदेखि शासन गर्दै आएकी सिला दिक्षितको सरकारलाई पत्तासाफ मात्र गरेनन् भारतीय कांग्रेसको राजनीतिक भविश्यमै चिन्ता पैदा गरिदियो । एकपछि अर्काे गर्दे कांग्रेसको विकेट झार्न थालेपछि त्यही मौलोमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी शक्तिशाली प्रधानमन्त्री बने भने, उनका अनुयायी अविन्द केजरीवाल दिल्लीको दुईपटक मुख्य मन्त्री बने । भारतमा सत्तारुढ दलबिरुद्ध लाखौ मान्छे सडकमा आएर आन्दोलन नगरेका होइनन् । तर सत्य र निष्ठाबान एउटै ब्यक्तिको सत्याग्रहले पनि सत्ताका जरा हलिन्छन भन्ने मान्यतालाई अन्नाले पुष्टी गरे ।
जोसँग नैतिक बल हुन्छ त्योसँग लडाई लड्ने दैविक शक्ति हुन्छ अन्नालाई त्यही भयो । भ्रष्टाचारबिरुद्धको लोकपाल बिधेयक उनको सत्याग्रहले भारतीय संसदमा प्रवेश ग¥यो । लोकपाल बिलको माग गर्दा अन्नाले तत्कालिन प्रधानमन्त्री मनमोहन सिंहको राजिनामा मागेनन् । उनले ब्यक्ति भन्दा सिस्टमको खरावी देखाए र त्यही सुधारको प्रयास थाले । सिष्टम सुधारमा उनको जित भयो । लोकपाल बिद्येयकको मागसँगै १० सुुत्रिय माग राखेका थिए । त्यसमध्ये एक माग थियो ‘प्रत्येक सांसदले आफ्नो पारिश्रमिकको ५० प्रतिसत रकम स्वच्छ भारतमा लगाउनु पर्ने’ मोदी प्रधानमन्त्री भएपछि स्वच्छ भारतको अभियान सञ्चालन भएको छ ।
ठिक त्यसैगरी १० सुत्रिय माग लिएर नेपालमा मौलाउँदै गएको स्वास्थ्य क्षेत्रको माफिया अन्त्यका लागि त्रिबि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसी १२ दिनदेखि आमरण अनसनमा छन् । पटक–पटक आमरण अनसन बस्दै आएका केसीले माफिया अन्त्यको सिस्टम बसाल्न सरकारलाई आग्रह गर्दै आएका छन् । अन्ना हजारे र केसीबीचमा एउटा ठुलो बिभेद छ । अन्ना सिस्टमका पक्षम थिए भने केसी ब्यक्ति बिशेषका बिपक्षमा छन् । रोजिरोजी ब्यक्तिको राजिनामा माग्दै अनसन बसीरहेका छन् । राज्य सिस्टमले चल्छ, ब्यक्ति त्यसको कार्यान्वयन कर्ता मात्र हुन्छ । गुण या दोष सिस्टममा हुन्छ तर पनि किन डा. केसी राजिनामाको पछि लागेका छन् ? ब्यक्तिको राजिनामामै आफ्नो प्राण जोगिने जोखिमपूर्ण खेल किन खेलिरहेका छन् ?
केसीका धेरै माग जायज छन तर उनको शैली नितान्त गलत र अराजक छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलसँगको टेलिफोन संवादमा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपीमाथी अराजक शैलीमा प्रस्तुत भएका छन् । ‘मैले चाहे सरकार ढाल्दिन्छु, सुशील, केपी र बामदेव मसँग जोरी नखोज भनिदिइसक्या छु’ यस्तो शैलीमा प्रस्तुत हुनु डा. केसीको गरिमामा आँच आउनु हो । फेरी उनी यो सरकार ढालेर कुन पार्टीको सरकार बनाउन चाहान्छन ? डा. केसी यसबाट प्रमाणित हुन्छ तपाई स्वास्थ्यको नाममा राजनीतिक गोठी बन्दै हुन्नुहुन्छ । सरकार बनाउने या गिराउने तपाईको काम होइन । गलत बाटोमा हिडेको सरकारलाई सहि बाटो देखाउने कर्तब्य हो जहाँ तपाई चुक्दै हुनुहुन्छ ।
त्यति मात्र हैन ‘माकुने चोर देश छोड’ एमाले मुर्दावादको नारा लगाउने राजनीतिक इनर्जी तपाईका अनुयायीहरुलाई कहाँबाट आयो ? यसको जवाफ तपाईले दिनै पर्दछ । फेरी मनमोहनको नाम फेरेपछि मात्र सम्बन्धन पाउने कुरा कसरी आयो ? यसको उदेश्य के हो ? यो डा. केसीबाट निरन्तर खोजिने जवाफ हो ।
केही राजनीतिक दल र गिरोह गोर्खा भुजेलका नन्दप्रसाद अधिकारीको हालतमा डा. केसीलाई पु¥याउँदै छन् । ‘पहिले नन्दप्रसादलाई हाम्राबिरुद्ध उचाले अव हामी कांग्रेस र एमालेकाबिरुद्ध डा. केसी प्रयोग गर्छाे’ एक दलका नेताले भनेको यो कुरा कतै छिपेको छैन । कहीँ तपाई त्यही मोहराको मुख्य पात्र त बन्नु भएको छैन ? जे होस् सवैले स्वास्थ्य सुविधा पाउनु पर्दछ भन्ने तपाईको मागप्रति सबै नेपालीको सहयोग छ तर अरुको गाठी नबन्दाँ नै तपाई र नेपालीको भलाई छ डा. केसी ।
.jpg)

0 comments
Write Down Your Responses