परोपकारी फेसबुक अभियानले नेपाली चेली न्युयोर्कमा यसरि चर्चित बनिन्
“यदि तिमीले जिन्दगीमा राम्रो काम गरेर ठूलो मान्छे भयौं भने, तिम्रो नाम कसले राखिदिएको भनी कुनै अन्तर्वार्तामा सोध्दा, तिमीले मेरो नाम लिएको हेर्न पाउँ, त्यतिखेर म निकै खुशी हुनेछु; मेरो प्रिन्सिपल सरले म ७ कक्षामा हुँदा भन्नुभएको थियो, शायद त्यो अन्तर्वार्ता मैले आज दिए तपाईँलाई ।” उनले लजाएर हाँस्दै भनिन् यो पंक्तिकारलाई । उनी अर्थात २९ वर्षिया आङ माया शेर्पा, जो झरना शेर्पा भनेर चिनिन्छिन् । अमेरिकी जीन्दगी भागदौडको जीन्दगी हो ।
कुनै बेला सातै दिन, दिनको १२ घण्टा काम गर्ने झरना
अहिले यहि परोपकारी काममा लागेकै कारण ५ दिनमात्रै
काम गर्छिन् र बाँकी २ दिन फेसबुकको सदुपयोग गर्छिन् ।
झरना शेर्पा विगत ५ महिनादेखि विशेषगरी अमेरिकाको न्युयोर्कमा निकै नै चर्चित भइरहेकी छिन् । उनको चर्चा यति व्यापक हुनमा सामाजिक सञ्जाल फेसबुकको मुख्य योगदान छ । अरु जस्तै फेसबुकमा अरुलाई गाली गर्ने, खिसी गर्ने, आफू भन्दा ठूलो कोही होइन जस्तो गरी लेख्ने , आफ्नो फोटोमा लाइक्स र कमेन्ट धेरै आओस् भनेर पारदर्शी लुगा लगाएर फोटो सेसन गराउने जस्तो काम गरेर उनी चर्चामा आएकी होइनन् । उनी त विशुद्ध सामाजिक सेवाका कारण यति चर्चामा आएकी हुन् । फेसबुकलाई सदुपयोग गरेर उनले विगत ५ महिनाभन्दा बढी समयदेखि विभिन्न अभियानको लागि रकम संकलन गरेर नेपाल पठाइरहेकी छिन् । समयको मुल्य भएको यो देश अमेरिकामा झरना अरुको लागि समय निकालिरहेकी छिन् । उनले यसो गरेर चर्चित भइन्छ भनेर शायदै यो काम गरेकी हुन् । यदि यस्तो हुंदो हो त उनको कथा आज पाठक माझ प्रस्तुत हुन्नथ्यो होला । तर, सत्कर्म गर्दै गयो भने चर्चा त्यसले पाउँदै जान्छ । यहि भएको हो झरनाको पक्षमा पनि । कुनै बेला सातै दिन, दिनको १२ घण्टा काम गर्ने झरना अहिले यहि परोपकारी काममा लागेकै कारण ५ दिनमात्रै काम गर्छिन् र बाँकी २ दिन फेसबुकको सदुपयोग गर्छिन् ।
परोपकारी अभियानको शुरुवात
२ वर्षअघि अमेरिका छिरेकी हुन् झरना । आएदेखि नै न्युयोर्कमै बसिरहेकी झरना यहाँ हाउस किपिङको काम गर्छिन् । झरना सानो छँदादेखि आफ्नोे आमाबाट परोपकारी गुण सिकेको बताउँछिन् । सहयोग गर्नु नै धर्म हो भनेर उनलाई आफ्नी आमाले सिकाएकी हुन् । उनी व्यक्तिगत रुपमा सधैं अरुलाई सहयोग गरिरहन्थिन् । यो फेसबुकबाट सहयोग गर्ने अभियान एक्कासी फुर्यो उनको मनमा । गएको दशैंताका हो उनले यो अभियान शुरु गरेको अर्थात अंग्रेजी महिनाको कुरा गर्दा गत वर्षको सेप्टेम्बरदेखि उनको यो अभियान शुरु भएको हो । सिभिडिएस नामक संस्था जसले द्धन्दपीडित, अपांगता भएका बालबालिका र जेष्ठ नागरिकहरुको लागि काम गर्छ, झरनाले त्यहि संस्थामा रहेका २१ जनाको लागि दशैंमा खुशी दिऔं भनेर पहिलोपटक भिडियो अपलोड गरेकी थिइन् । उनले परोपकारी भावना राखेर यो अभियान त शुरु गरिन् तर पैसा कसरी उठ्छ र कसरी उठाउने , केहि मेलो मेसो नै थाहा थिएन झरनालाई । तर भनिन्छ नि सत्कर्म गर्दै जानुपर्छ, सहयोगी हातहरु बढ्दै जान्छ । झरनालाई पनि त्यहि भयो । एक जना शुभचिन्तकले उनलाई पेपल आइडी (PAYPAL ID) बनाइदिनुभयो जसले गर्दा अन्य देशबाट पनि उनलाई रकम उठाउन सहजभयो । उनको यो अभियानबाट त्यसबेला १ लाख ५५ हजार रुपैंया उठ्यो । उक्त रकमले त्यो संस्थामा रहेका बालबालिका र ज्येष्ठ नागरिकहरुको लागि दशैंको उपहार पठाउन सफल भइन् । त्यो पाएर तिनीहरुको मुहारमा देखिएको खुशीले धेरै नै सन्तुष्टि प्रदान गरेको बताउँछिन् झरना । यसरी उनको त्यो अभियानले प्रदान गरेको खुशीले उनमा थप हौशला मिल्न थाल्यो । उक्त अभियान लगतै उनले यसरी नै अरु अभियान शुरु गर्न थालिन् र धेरैको मुहारमा खुशी ल्याउन थालिन् । यसबीचमा उनले एक बालिकाको उपचार खर्चका लागि ५ लाख रुपैंया, त्यस्तै चेपाङ समुदायका लागि लत्ताकपडा लगायत उठाएर पठाउन सहयोग गरेकी छिन् । साथसाथै आफ्नो व्यक्तिगत सहयोग गर्न पनि उनी पछि पर्दिनन् । उनले रौतहट जिल्लास्थित चन्द्रनिगाहपुर नगरपालिका बासिन्दा १०२ वर्षिया आफन्तविहिन एक आमालाई ३ – ३ महिनाको फरकमा खाद्यान्न सहयोग गरिरहेकी छिन् । यसरी धेरै अभियानहरुमा उनी निरन्तर निःस्वार्थ भइ जोडिरहेकी छिन् ।
घरपरिवारको गुनासो
बौद्ध घर भएकी झरना परिवारमा साहिंली छोरी हुन् । कैलाली जिल्लाको धनगढीमा जन्मिएकी झरनाकी आमा याङजी शेर्पालाई झरनाको यो अभियान पटकै चित्त बुझेको छैन । झरना भन्छिन् – “आमालाई मेरो यो परोपकारी काम मन परेपनि पैसा उठाउने काम चाहिं मन परेको छैन । अरुसँग पैसा मागेर सहयोग गर्दा पछि अवगाल आइलाग्न सक्छ, त्यहि भएर यो काम बन्द गरेकै जाती भनी उहाँ भन्नुहुन्छ । ” घर परिवारको सहयोग त्यत्ति नपाएपनि आफुले राम्रो उद्धेश्यको साथ यो काम गरेकाले आफु परोपकारी काम गर्न पछि नपर्ने झरनाको ठम्याई छ । नेपालमा पैसा पठाउनका लागि उनले आफ्नै दिदीको छोरी किपा शेर्पाको एकाउन्टमा पैसा पठाउने गर्छिन् ।
पारदर्शिता
पैसा जस्तो कुरा हो , मानिसले झट्टै कसैलाई पनि विश्वास गरिहाल्दैन । परिश्रम गरेर कमाएको पैसा झरनाको हातमा मानिसहरु दिइरहेका छन् । किन विश्वास गरिरहेका छन् त झरनामाथि मानिसहरु ? एउटै जवाफ हो – पारदर्शिता । उनले उठेको रकमको बारे फेसबुकमा अपडेट गरिरहेकी हुन्छिन् । कसरी त्यो रकम र सहयोग प्रदान गरियो भनेर पनि फेसबुकमै जानकारी दिइरहेकी हुन्छिन् । अझ रोचक कुरा त के हो भने पैसा र सहयोग पठाउंदा आउने भइपरी खर्च बरु उनी आफ्नो गोजीबाट हालिरहेकी हुन्छिन् । प्रश्न सोधियो – कत्ति मानिसहरु तंपाईको हातमै पैसा पार्न भेट्न पनि आउँछन् , त्यतिखेर भेटघाट हुंदा चियागफ पनि हुन्छ, त्यो पैसा तंपाई त्यहि सहयोगको रकमबाट त कटाउनु हुन्न ? झरना भन्छिन् –“ त्यस्तो कहिले गर्दिन । बरु नेपालमा सहयोगलाई हस्तान्तरण गर्ने व्यक्तिहरुलाई कहिलेकाहीँ बाटो खर्च आफैंले व्यक्तिगत रुपमै पनि हालिदिएको छु ।
केहि व्यक्तिगत गुनासो
फेसबुकमा ५ हजारजना साथी, २५०० भन्दा बढी फलोअर छन् झरनाको । यहि फेसबुककै कारण उनको अभियान यसरी अगाडी बढिरहेको छ । तर फेसबुकमा केही साथीहरुले अनावश्यक कुरा लेखिदिने , मेसेज बक्समा रिप्लाई गरेन भने रिसाउने जस्ता कुराले उनलाई वाक्क पारेको छ । “म ५ दिन काम गर्छु, २ दिनको बिदामा त्यहि अभियानमा पूर्ण रुपमा लाग्छु । तर कति शुभेच्छुक यो कुरा बुझ्न हुन्न र मेसेजको जवाफ दिएन, ठुलो पल्टियो भनेर गुनासो गर्नुहुन्छ ।” कति शुभेच्छुकले त झरनाको फोटोलाई काटेर “लभ” को साइन हानेर “तपाईं कति राम्री” भनेर फेसबुकमा हाल्छन् । त्यस्तो देखेर निकै नै रिस उठ्ने र त्यस्तालाई त ब्लक गर्ने गरेको बताउँछिन् झरना । कुनै पनि अभियानको लागि पात्र छनौट गर्न पत्रपत्रिका, अनलाइन मिडियाको साहरा लिने झरना बताउँछिन् । “कहिलेकाहीँ कोहि व्यक्तिहरु आफैं सहयोग चाहिने व्यक्तिहरुको जानकारी दिन्छन्, म उनीहरुको बारेमा सबै पृष्ठभुमिहरु प्राप्त गर्छु । उनीहरुलाई सहयोग गर्न ठिक लाग्यो भने म अभियान शुरु गरिहाल्छु ।” कहिलेकाहीँ अभियानबाट उठेको रकम प्रदान गरिसकेपश्चात उक्त पात्र वा पात्रका आफन्तले सजिलै पैसा आएको जस्तो व्यवहार गर्दा झरनालाई चित्त पनि दुखेको छ । झरना भन्छिन् – “कति व्यक्तिहरु पैसा सजिलै आएको देखेर होला विदेशमा पैसा फल्ने जस्तै कुरा गर्छन् । त्यो देख्दा निकै नै दुःख लाग्छ । यहाँ कति घण्टा परिश्रम गरेर कमाएको पैसा हो भनेर उहाँहरुले बुझ्नु हुन्न ।
लक्ष्य
आङ मायालाई झरना नाम दिएका हुन् उनका विधायलका प्रिन्सिपलले । कक्षा ७ मा हुँदा प्रिन्सिपलकी छोरीको मृत्यु भएको थियो । प्रिन्सिपलले आङमायामा आफ्नी छोरी देखेपछि उनको नाम झरना राखिदिएका हुन् । ५ महिनाभन्दा बढी भयो उनको यो फेसबुक अभियान शुरु भएको । छोटो अवधिमा धेरैलाई सहयोग जुटाइसकेकी छिन् झरनाले । उनको यो अभियानबाट प्रभावित भएर उनको यो परोपकारी कामलाई सम्मान गर्दै विभिन्न संघसंस्थाले पनि उनको सम्मान गर्ने क्रम जारी छ । उनी सम्मानित भएको देख्दा पक्कै पनि प्रिन्सिपलको छाती गर्भले उचो हुँदो हो अहिले । उनमा अब केहि समय विश्राम लिने सोच नआएको पनि होइन । तर विभिन्न माध्यमबाट उनलाई सहयोग जुटाइदिन आग्रहहरु आइरहन्छन्, अनि मन थाम्न सक्दिनन् र अभियान चालिहाल्छिन् । जस्तै गत महिना काठमाडौंमा एसिड प्रहारबाट घाइते भएकी दुई किशोरीका लागि उनले अभियान चलाएर सहयोग गरिहालिन् । अमेरिकी जीन्दगी भागदौडको जीन्दगी हो । झरना अब आफ्नो पढाइ पनि पूरा गर्न चाहन्छिन् । सम्भव भएसम्म उनी यो फेसबुक अभियानलाई साथ साथै लिएर आफ्नो पढाइ पूरा गर्न चाहन्छिन् । यदि नभए उनी यसबाट केहि समय विश्राम लिएर पढाई पूरा गर्नतर्फ लाग्नेछिन् । त्यसपछि फेरी त्यो परोपकारी काममा लाग्ने बताउँछिन् झरना । उनको अबको योजना भनेको ठुलो धनराशीको परोपकारी कोष स्थापना गर्ने र त्यहि कोषबाट आर्थिक रुपले विपन्नहरुको सेवा गर्ने रहेको छ । जहाँ इच्छा, त्यहाँ उपाय । उनको फेसबुकको परोपकारी अभियानले त यसरी आकार लिदैंछ भने उनको त्यो परोपकारी कोष स्थापना गर्ने लक्ष्यले पनि छिट्टै आकार लिने झरनाको विश्वास छ ।
.jpg)

0 comments
Write Down Your Responses