नगरकोटी, तिमी नाङ्गै हिँड !



कपाल फालेको, झुस्स दाह्री पालेको । अघोरी–अघोरी टाइपको मान्छे । झ्वास्स हेर्दा बप्पी लहरीलाई सम्झाउँछ । बप्पी लहरी सुनैसुनको माला पहिरन्छन् । कुमार नगरकोटी धाँमीझाक्रीको जस्तो माला लगाउँछन् । मसानमै बस्छन् रे । कपडा पनि काला जादूगरले जस्तै लगाउँछन् । हाम्रै काले गोपाल जस्ता । वा, भनौं मःम, पासा जस्ता । साहूबा वा सानुचा खड्गी जस्ता । उनी विशुद्ध साहित्यकार पो रहेछन् । नेपाली साहित्यमा पृथक र विशिष्ट पहिचान बनाइसकेका ।



मदन भण्डारी

अस्ति नै पोखरा आ’का थे । ‘मैले वेश्यागमनबाटै सम्भोग सुरु गरेको हुँ’ भने । नारीवादीहरू रिसाए । ‘यो महिला हिंसाकै एउटा रुप हो’ धेरैले भने । केहीले पोखरामा लेखे पनि । अहिले फेरि बिग एफएमले डाकेछ । ‘बुक–हिल पब्लिकेशन’ ले छाप्न थालेको ‘मिस्टिका’ उपन्यासको विज्ञापनकै क्रममा अन्तक्र्रिया भयो । सरस्वती ‘प्रतीक्षा’को प्रश्नमा कुमार नगरकोटीले प्रतिउत्तर गरे ।
‘झूलभित्र बस्न र भित्री कट्टु लगाउन मलाई साह्रै अप्ठ्यारो लाग्छ !’ नगरकोटीले यसपालि पनि राम्रै हँसाए । यहाँका गाउँतिर गाइन्छ, ‘नै हाँसी बोल्दैन मेरो मायाजाल !’ धेरैका मायाजाल हुन भ्याएका नगरकोटी हाँसी–हाँसी बोल्छन् । अनुहारमा विषाद वा नाटकीयताको भेऊ पाइन्नँ । लाग्छ मनैबाट बोल्छन् ।
‘कुमार दाइभन्दा अगाडि नेपालमा सँच्चा साहित्यकारको अविर्भाव भए जस्तो लाग्दैन !’ सबैले आ–आफ्नै डम्फू बजाउने हो । कार्यक्रमको थालनी मै प्रकाशकले आफ्नो डम्फू बजाए । वर्तमानको हाम्रो साहित्यलाई नियाल्दा कुरो असत्य पनि लाग्दैन । तारानाथ शर्माले मविवि शाहलाई चोर भनेर चर्चा कमाए ।

मोदनाथ प्रश्रितले बालकृष्ण समलाई ‘सामन्त र ठिमाहा’ जस्ता गालीका पर्रा छोडेरै (हेर्नू, ‘देवासूर संग्राम’को भूमिका ।) अगाडि आए । अहिलेको हाम्रो संविधानको मस्यौदाको प्रस्तावनामै सामन्ती, निरंकूशजस्ता गालीका शब्द सजाइएका छन् । सामान्तवाद अब हाम्रो खास समस्या रहेन । पाखण्डीपन नै हाम्रो समस्या हो । आहुति यस्तो पाखण्डी जिन्दगीलाई ‘ऐनाको जिन्दगी’ भन्छन् । आफू कुनै कुरा ग्रहण नगर्ने । कुमार नगरकोटी चाहिँ आफू हाँस्दा रहेछन् र हाँस्न पनि सिकाउँदा रहेछन् ।
२०७२ साउन १० गते पोखरामा बिग एफएमको निम्तो मान्ने झण्डै एक जना जति मान्छेको भेला थियो । कृति छाप्नु स्वतः एक प्रकारको विज्ञापन हो । लिटरेटिक–एजेन्टको कुरो पनि उठ्यो । आज प्रत्येक कुराको मापन मान्छेको मनले आफै गर्नुपर्छ । आचारसंहिताको सीमामा बाँधिनु छुट्टै कुरा हो तर साहित्यमा सबै अराजक हुन्छन् । बीपी कोइराला एक्ला जस्ता देखिएका मात्रै हुन् । अहिले त्यसरी नै मुख खोल्ने कुमार नगरकोटी पनि एक्ला जस्तै देखिन्छन् । सबैलाई थाहा छ कपडाभित्र सबै मान्छे नाङ्गै हुन्छन् । सरस्वती ‘प्रतीक्षा’ले कुमार नगरकोटीको पहिलो प्रेमीकालाई भेटेको कुरालाई निकै जोडले उचालिन् । ‘म ढाँटदिनँ’–नगरकोटी झनै जोडले उचालिए । यो झूटको संसारमा सत्यलाई थोरै आत्मसात गर्ने कुमार नगरकोटी कथाका हरिश्चन्द्र जस्तै देखिन्छन् । मिनी गान्धी जस्तै देखिन्छन् । गान्धी लगौटी मात्रै लगाउँथे । कुमार नगरकोटी धोती मात्रै बेर्दा रहेछन् । फरक कोणबाट संसारलाई हेर्दा रहेछन् ।
अत्याधिक ‘साहित्यकार’हरू डिप्लोम्याट जस्ता छन् । खालि कुरा चपाएर बोल्ने । ‘सत्यम् वद, प्रियम् वद’ को स्कुलिङले अप्रिय सत्य कहिल्यै नबोल्ने ।

‘मिस्टीका’ हाते पुस्तिकाको पृष्ठ ७ मा कुमार भन्छन्, ‘छल होइन, छलफल गरौं ।’ हामी प्रत्येक छलफलमा छलका अनेक षडयन्त्र रच्छौं । ठूल्ठूला होटलहरूको छलफलबाट दशकौं बित्दा पनि हाम्रा नेतागणले फल निकाल्न सकेनन् । ‘मुखमा राम–राम बगलीमा छुरा !’ खाली कुरा दोचर्ने । यही ढाँट, ढोङ्, कृतिमता र पाखण्डीपनाले वाक्क भई गोविन्द वर्तमान आक्रोशलाई महत्व दिन्थे । ‘पागल’का देवकोटाझै दाँत किटेर भन्थे, ‘मेरा आक्रोसहरू सकिएपछि/अन्यायविरुद्धका मेरा टिप्पणीहरू पनि सकिने छन्/अनि म स्वयम् सकिने छु ।’
कुमार नगरकोटीले मुस्कानलाई हतियार बनाउन चाहे जस्ता देखिन्छन् । समेली दर्शनमा भनिएझैँ घृणा पचाएर प्रेम फैलाउने । यसका लागि धेरै ठूलो त्याग र तपस्या चाहिन्छ । अहिले साहित्यकारहरू चेतना मात्रै छर्छन् । ‘चमडी जाए, दमडी नजाए !’ अब यो अति भयो । यसैले कुमार नगरकोटी त्यागतिर छन् कि आशा गर्न सकिन्छ । कारण, नगरकोटी फकिर जस्तै देखिन्छन् । बढो मस्त, मस्तराम जस्तै ।

सिकन्दरका गुरु डायोजनिस महा मस्ताराम थिए अरे । डायोजनिस सर्वाङ्ग नाङ्गै बस्थे । कौपिन (लगौँटी) र कमण्डलु पनि मिल्काएका थिए । आफ्ना विश्वविजयी शिष्य सिकन्दरले ‘के सेवा गरौं ?’ भन्दा जाडोको बेला नदी किनारमा घाम तापिरहेका मस्तरामले ‘घाम नछेल भैगो’ भनेका थिए । यसैले सिकन्दरलाई मर्ने बेला वैभवको व्यर्थता र जीवनको यथार्थता बोध भएको थियो ।

र, अन्तिम इच्छा जाहेर गरेका थिए । ‘संत दर्शन’ पृष्ठ ११४ मा स्वामी आनन्द अरुण लेख्छन् ‘म मरेपछि मेरो अर्थीबाट दुवै हात देखिने गरी बाहिर निकालिदिनु ।’ सेनापतिहरूले सोधे ‘यस्तो किन गर्नु ?’ सिकन्दरले भने, ‘मेरो लासबाट दुवै हात बाहिर निकालिदिनु, म चाहन्छु संसारले राम्रोसँग देखोस् र बुझोस् कि सिकन्दरले पनि केही लान सकेन । ऊ पनि खाली हातै जानुप¥यो । मेरो इच्छाअनुसार अर्को जन्म भयो भने म सिकन्दर भएर जन्मन चाहन्नँ बरु डायोजनिस भएर जन्मन चाहन्छु ।’
कुमार नगरकोटीले लगौटी हुर्याएछन् । बाहिरी सुरुवाल हुर्याउन बाँकी रहेछ । कुरो सुनेर गनेश पौडेलले उन्मुक्त अट्ठाहस गरेका थिए । कार्यक्रमको अन्त्यमा महेश भण्डारीले ‘अब हामी कुमारजीलाई छाडिदिन्छौं । तपाईंहरू समात्न सक्नुहुन्छ, आफ्ना जिज्ञासा, सल्लाह र सुझाव राख्न सक्नुहुन्छ !’ भने । हामी सल्लाह चिम्टीले लिन्छौं र पाथीले दिन्छौं । मलाई जोडले चिच्याएर एक पाथी सल्लाह दिन मन लाग्यो–‘नगरकोटी तिमी नाङ्गै हिड् ।’

,

0 comments

Write Down Your Responses