पानी र नुनबाट बल्ने चीम



“अझ यसले त मोबाइल पनि चार्ज गर्न मिल्ने!”

-कुशल श्रेष्ठ

हालै खुलेको एक इन्जिनियरिङ्ग संस्था ‘साल्ट’ले एउटा नयाँ प्रविधिको चिमको विकास गरेका छन्, जुन चिम ८ घण्टासम्म लगातार बल्न सक्छ त्यो पनि केवल १ गिलास पानी र २ चम्चा नुनको माध्यमबाट। ‘साल्ट’ (SALt- Sustainable Alternatice Lighting) नामक यो चिमले कोठा उज्यालो बनाउनुको साथसाथै यूएसबी पोर्टबाट स्माट्रफोनलाई चार्ज गर्न सक्ने ऊर्जा पनि पैदा गर्दछ।




संसारका अझै पनि करोडौँ मानिसहरू बिजुलीबिनाको अन्धकारमा बाँचिरहेका छन्। यसको मतलब यदि उनीहरूलाई रात परेपछि केही काम गर्न पर्यो भने खतरनाक तथा महङ्गो मट्टीतेलबाट चल्ने चिम प्रयोग गर्नुपर्ने हुन्छ। यहि तथ्यलाई मध्यनजर गरेर नै यो चिमको विकास गरिएको हो।

यस चिममा ‘ग्याल्भानिक सेल ब्याट्री’ (Galvanic Cell Battery) पनि समावेश भएको हुन्छ, जसमा इलेक्ट्रोलाइट – नुन र पानी – र दुई वटा इलेक्ट्रोडहरू हुन्छन्। जब इलेक्ट्रोडलाई इलेक्ट्रोलाइटमा डुबाइन्छ, त्यसबाट निस्केको ऊर्जाले लेड बल्बलाई बाल्दछ। निर्माणकर्ताहरूको अनुसार, यो ब्याट्रीले प्रतिदिन लगातार ८ घण्टा सम्म काम गर्दछ।



फिलिपिन्सका ७००० टापुहरूका बासिन्दाहरूले अझै पनि बिध्युतको सुविधा पाएका छैनन्, त्यसैले गर्दा ‘साल्ट’का एक समूहले सुरुमा त्यहाँका समुदायहरूमा उनीहरूको चिम प्रदान गरेका थिए। यो डिजाइन त्यहाँको सामुदायीक वातावरणसँग अनुकूल भएको थियो किनभने यो चिम समुन्द्री पानीबाट पनि चल्न सक्दछ।

यो चिमलाई २०१६ सम्ममा बजारमा भित्र्याउने निर्माण समूहको आशा रहेको छ, तर उनीहरूका प्रतिष्पर्धीहरू पनि थुप्रै नै छन्। ती प्रतिष्पर्धीहरूले यस्तै प्रकारका आविष्कारहरू गरेका छन्, – ‘द ग्र्याभिटी लाइट’ (the GravityLight) नाम गरेको यो चिम केवल पृथ्वीको गुरुत्वाकार्षण बलको माध्यमबाट काम गर्दछ। यो चिमले घिर्नी (Pulley) ले जस्तै काम गर्दछ, त्यसको एक छेउमा भएको तुलामा केवल १२ किलोग्रामको तौल राखिन्छ, त्यसपछि अर्को छेउमा भएको डोरीलाई समातेर उक्त तौल पुरै माथी नआउन्जेल तानेर छोडिन्छ। यसरी जब तौल तल झर्दै जान्छ, त्यसबाट निस्केको ऊर्जाले २०-३० मिनेट जति बत्ती बाल्न पुग्छ। जति चोटी त्यसरी तौल तानेर झारिन्छ, त्यति नै बढी समयको लागि पुग्ने ऊर्जा पैदा हुन्छ।

यस्ता आविष्कारहरूको कारण समाज तथा समुदायको लागि सहयोग पुग्दछ। मैनबत्ती र लालटिनको धमीलो उज्यालोमा जीवन बिताइरहेका समुदायहरूमा यस्तो किसिमको आविष्कारहरूले धेरै नै मद्दत पुर्याइरहेको हुन्छ।

,

0 comments

Write Down Your Responses