प्रचण्ड नआएपछि २ मिनेटमै सकियो संविधानसभा बैठक

२९ पुस, काठमाडौं ।आजको संविधानसभा बैठक केवल २ मिनेट मात्र सञ्चालन भएर स्थगित भएको छ । विपक्षी १९ दलीय मोर्चा बैठकमा नआएपछि बैठक २ मिनेट मात्र चलेर स्थगित भएको हो । सभाध्यक्ष सुवास नेम्बाङले बैठक माघ १ सम्मका लागि स्थगित गरेका छन् ।

संविधासभा बैठकमा राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन प्रस्तुत भएको छ । प्रतिवेदनमाथि अव माघ १ गते देखि छलफल हुने छ ।



बैठक कक्षबाट बाहिर निस्कँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीलाई सद्बुद्धी आओस् भन्ने कामना सञ्चारकर्मीसँग गरे । उनले भने 'एमाओवादीलाई सद्बुद्धी आओस् यो अन्तिम पटक होस् संविधानसभा बैठकमा नआएको । विरोध गर्ने उग्रहरु आफै थिग्रिन्छन् ।'

ओलीले अव संविधासभा प्रक्रियामा प्रवेश गरेको र प्रक्रियामा नगइ माघ ८ मा संविधान आउन नसक्ने बताए ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि संविधान बनाउन अव प्रक्रियाको विकल्प नभएको बताए ।

कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा भने अन्तरिम संविधानलाई पूर्ण संविधान जारी गरौं भन्ने पुरानै भनाइ दोहोर्‍याए । उनले सञ्चारकर्मीसँग ठट्टाको शैलीमा भने 'अव अन्तरिम संविधान नै जारी गरौं हामीले कति टाउको देखाउने यार ।'

एमाओवादी लगायतका विपक्षी दल भने आज आफैले गरेको बन्द अवज्ञा नगर्ने भन्दै बैठकमा सहभागी नभएका हुन् ।

0 comments

Write Down Your Responses