देश भिडन्ततिर, बाबुराम आउट, सूर्यबहादुर इन !

काठमाडौं । संविधानका विवादित विषयलाई प्रक्रियामार्फत टुंगो लगाउने की सहमति खोज्ने भन्ने विषयमा दलहरु विभाजित भएपछि देश फेरि एक पटक भिडन्तको दिशातिर गएको संकेत देखिएको छ ।
संविधानसभाको बैठकमा मंगलबार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा.बाबुराम भट्टराईले प्रतिवेदन पेश गर्ने कार्यसूची थियो ।
तर, एमाओवादी मोर्चाको बन्दका कारण भट्टराई उपस्थित नभएपछि समितिका जेष्ठ सदस्य सूर्यबहादुर थापाले समितिलेको प्रतिवेदन पेश गरेका छन् । यससंगै काँग्रेस–एमाले जुनसुकै हालतमा पनि बहुमतीय प्रक्रियामा गएर संविधान निर्माण गर्ने दिशामा गएको प्रष्टिएको छ ।


केही दिनअघि नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३० दलीय मोर्चाको बैठकमा काँग्रेस एमाले जुनसुकै हालतमा प्रक्रियामा जाने तयारीमा रहेको सूचना आफूले पाएको बताएका थिए ।
सोमबार मात्र बसेको एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रक्रियामा नगए संविधान बन्ने अवस्था नरहेको भन्दै सबै सभासदलाईं राजधानी नछोड्न निर्देशन दिएका थिए ।
मंगलबारको संविधानसभाको बैठकमा राप्रपाका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेको सूर्यबहादुर थापालाई अघि सारेर प्रतिवेदन प्रस्तुत गराएपछि त्यसले दलहरुबीचको दुरी झनै बढ्ने सम्भावना देखिएको छ ।
एमाओवादी सभासद हितराज पाण्डेले आफूहरु आन्दोलनको कार्यक्रममा रहेको बेला प्रतिवेदन पेश गरिएको भन्दै अब मोर्चा र पार्टीमा छलफल गरेर अघि बढ्ने नेपाल सन्देशलाई जानकारी दिए ।
काँग्रेस सभासद तथा संसदीय दलका सचेतक चिनकाजी श्रेष्ठले संवाद समितिको प्रतिवेदनमा १ गतेदेखि छलफल हुने र प्रक्रियामार्फत जसरी पनि माघ ८ मा संविधान ल्याएरै छाड्ने बताए ।

0 comments

Write Down Your Responses