राजेन्द्र महतो र उपेन्द्र यादवद्वारा ओलीसँग हात मिलाउन अस्वीकार


काठमाण्डु, २७ पुस– अएमाले अध्यक्ष ओली शनिबार बसेको प्रमुख चार पक्षका शीर्ष नेताको बैठकबाट अरू नेताभन्दा पहिले बाहिर निस्किए ।
उनले छलफल जारी भए पनि सहमति नभएको प्रतिक्रिया दिए । सञ्चारकर्मीले सोधे, ‘सहमति नभए के हुन्छ त ? उनले जवाफ फर्काए, मैले त आज पत्रकार सम्मेलनमै प्रक्रिया अगाडि बढाउनुपर्छ भनिसकें ।
एमालेले शनिबार नै पत्रकार सम्मेलन गरी पुस २९ सम्म सहमति नभए प्रक्रियामा जाने निष्कर्ष निकालेको छ ।
त्यत्तिनैखेर मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदार पनि बाहिरिए । पत्रकारहरूले तपाईंहरू सँगै बस्नुभयो कि भएन भनेर सोधेपछि ओलीले केही कदम पछाडि सरेर गच्छदारसँग हात मिलाए । उहाँ त मेरो पुरानो मित्र हो, गच्छदारसँगै उभिएर ओलीले भने । गच्छदार हाँसी मात्रै रहे ।


त्यसपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महतो सँगै आए । ओली उनीहरू दुवैसँग हात मिलाउन अघि बढे, महतो र यादव हाँसे मात्र । केहीअघिको बैठकमा महतोसँगै ओलीको ठाकठुक परेको थियो ।
तपाईंहरू मिल्नुभएको हो ? भनेर सञ्चारकर्मीले प्रश्न गरेपछि ओली र यादवलाई छाडेर महतो अगाडि आए । उनले भने, ‘मोर्चाले गरेको निर्णय कार्यान्वयनमा नआएसम्म हामी एमालेसँग वार्तामा बस्दैनौं ।
मधेसी मोर्चाले ओलीले माफी नमागेसम्म एमालेसँग वार्तामा नबस्ने औपचारिक निर्णय गरेको छ । यता ओलीले पनि आफू बाँचुञ्जेल माफी नमाग्ने बताउँदै आएका छन् । महतोको भनाइमाथि प्रतिक्रिया माग्दा ओलीले थपे, यस्ता कुरामा के प्रतिक्रिया दिनु ।
लगत्तै मधेसी मोर्चाकै नेताहरू महन्थ ठाकुर, महेन्द्र यादव र लक्ष्मणलाल कर्ण झुल्किए । ओली उनीहरू नजिक पुगेर लामो समय गफिए । त्यसपछि सबै नेताहरू हाँस्दै बाहिरिए ।
कान्तिपुर दैनिकबाट

0 comments

Write Down Your Responses