आजदेखि चल्यो महिलाका लागि छुट्टै बस

171675106काठमाडौं, पुस २० – वाग्मती यातायात व्यवसायी सङ्घले काठमाडौंमा आजदेखि ‘महिलामैत्री यातायात सेवा’ सञ्चालनमा ल्याएको छ । सङ्घले कलङ्कीदेखि त्रिपुरेश्वर हुँदै भक्तपुरको कौशलटारसम्म करिब १४ किलोमिटरको दूरीमा १७ सिटका चारवटा मिनीबस महिलाका लागि सञ्चालन गरी दुईतर्फी आवतजावतको व्यवस्था गरेको हो । आज यहाँ आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले समयको माग तथा यात्रुको बढ्दै गएको चापअनुसार काठमाडौँ उपत्यकामा अब सार्वजनिक यातायातका रुपमा ठूला गाडी छिट्टै सञ्चालन गर्न लागिएको बताए ।
यातायात व्यवस्था विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीले सार्वजनिक यातायातमा हुने महिला हिंसा न्यूनीकरण गर्न तथा अशक्त, ज्येष्ठ नागरिकको सुविधाका लागि भाडाका सवारी साधनमा आरक्षणको व्यवस्था गरिएको भन्दै यस्ता विषयलाई प्रभावकारीढङ्गमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । महानगरीय ट्राफिक प्रहरी परिसरका प्रवक्ता वसन्त पन्तले विभिन्न भाडाका सवारी साधनमा यात्रुलाई आरक्षणको नियम पालना गर्न आग्रह गर्दै नियमको उल्लङ्घन गर्ने यात्रु तथा सवारी चालकलाई कारबाही गरिँदै आएको बताए । सो सङ्घका अध्यक्ष भरत नेपाल, व्यवसायी योगेन्द्रनाथ कर्माचार्यलगायतले यस किसिमको महिलामैत्री व्यवस्थालाई अन्य सवारी रुटमा पनि बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

,

0 comments

Write Down Your Responses