एउटै पत्नीसँग दुईपल्ट बिहे


धादिङे प्रेमबहादुर नेगीको रामकहानी
२०७१ माघ १९
कृष्णमुरारी भण्डारी
मैले पढेर केही पनि जानेको छैन, सबै ‘परेर’ मात्र जानेको हुँ ।
पढ्न त ‘क-ख’ पनि जान्दिन । प्रेम भनेर सही गर्न चाहिँ सक्छु । यो पनि विद्यालय सञ्चालक समितिको अध्यक्ष भएपछि गर्नैपर्छ भनेर ।
नभई नहुने भएपछि कनीकुथी १५ दिन लगाएर सिकेको हुँ । बूढापाका भन्थे, ‘बूढो सुगालाई जति धान खुवाए पनि बोल्दैन ।’ हो रै’छ । त्यसैले पाल्न समाउनेहरू सुगा, मैनाका बचोरा नै खोज्दा रहेछन् । मलाई जुनसुकै काम दिनूस् फत्ते गर्छु तर लेखपढ गर्न सक्दै सक्दिँन ।

मेरो नाम ‘प्रेम’ भन्दा अगाडि कुन र पछाडि कुन अक्षर आउँछ, मलाई पत्तोसम्म छैन । पढेपछि के हुन्छ भन्ने चाहिँ मलाई राम्रोसँग थाहा छ । त्यसैले मेरा पाँचवटै छोराछोरीलाई क्याम्पस त पढाएँ-पढाएँ, यो भेगकै केटाकेटीलाई उच्चशिक्षा दिलाउन प्राथमिक विद्यालयलाई उच्च माविसम्म पुर्‍याएँ, सञ्चालक समिति अध्यक्ष भएर । मेरो जीवनको सफलता भनेकै यही हो ।
मैले पढ्न पाएको भए मेरा सन्तान अझ धेरै सक्षम र सभ्य हुन्थे होलान् । म त झन् के-के हुन्थेँ-हुन्थेँ । मलाई पढ्न नसकेकोमा कुनै दुःखमनाउ छैन । मेरो परिवारमा विद्या भित्रिएकोमा साह्रै सन्तोष छ ।
मेरा धेरै बालबच्चा भए पनि सबैले उच्चशिक्षा पाए । दुर्गम गाउँको खनीखोस्री खाने भए पनि हामी बूढाबूढीबाहेक परिवारमा सबै शिक्षित छन् ।जेठी छोरी त शिक्षिका नै बनिसकी ।
मेरो जीवनमा यस्तो हुनु महाआश्चर्य हो । म टुहुरो हुँ । अर्काको भाँडा माझ्दै, भारी बोक्दै, गिट्टी कुट्दै, कुल्लीको जीवन गुजारेर यो अवस्थासम्म आइपुगेँ । बाबु रुपा नेगी म चौध महिनाको हुँदा बित्नुभयो ।गर्भे टुहुरो मेरो भाइ अढाई महिनाको नपुग्दै आमाले पनि संसार छाड्नुभो । मेरो बापट्टकिी हजुरआमा हुनुहुन्थ्यो रे ! त्यसपछि उहाँलाई सघाउन मेरी आमापट्टिकी हजुरआमा पनि हाम्रो घर आउनुभएछ । हामी शिशुहरूलाई माया गरेर दिदीले खेलाउनुहुन्थ्यो रे, आमा मरेको डेढ महिनापछि उहाँ पनि स्वर्गे हुनुभएछ । त्यसको महिना दिनभित्रै भाइ र दुबै हजुरआमा (मावली र घरकी) पनि बित्नुभएछ ।
त्यसपछि अब म र मेरो दाइमात्र बाँकी भयौँ । अब यी पनि मर्छन् र रुपा नेगीको वंशै मासिन्छ भनेर दाइलाई मेरी ठूलीआमा (आमाकी दिदी) ले थाक्रे गाविस, राम्चेमा लग्नुभएछ । २१ महिना उमेरको मलाई चाहिँ माइला-बाका छोरा पूर्णबहादुर नेगीले गैह्रीखर्क लगेछन् ।
दाइ सात-आठ वर्षको भएपछि कमाउन भनेर घट्टेखोलामा गएर गिट्टी कुट्न थालेछ । त्यहीँ ट्रकको ढालाले बूढीऔँला च्यापेछ । ट्रक अगाडि बढ्दा दाइलाई लछारेर बूढीऔँला छिनेछ । मोटो नसा कुमदेखिको एक हात तानिएर बाहिर निस्किएछ । दाइको पनि मृत्यु भएछ । यसरी हाम्रो परिवारका मबाहेक बा, आमा, दिदी, दाइ, भाइ, हजुरआमाहरू सबै सकिनुभयो । अनि हाम्रो घर, जग्गा र भाँडाकुडाका निम्ति आफन्तबीच तानातान भएछ । मेरो पैतृक ३६ रोपनी जमीन थियो । ठूलीआमाको छोरा मङ्गले र प्रधानपञ्च कर्णबहादुर लामाले त्यो आ-आˆनो नाममा पारेछन् । नापी हुँदा ११ रोपनी भने मेरो नाममा लेखिएको रहेछ । त्यो पनि मङ्गलेले प्रधानपञ्चसँग मिलेर लालपूर्जा आˆनो हातमा पारेको रहेछ- रुपा नेगीको छोरो दमैसिं मै हूँ भनेर ।

कृष्णमुरारी भण्डारी
मेरो खास नाम दमैसिं हो । नाम बिगारेर दमै भएको होइन ।
गाउँमा केटाकेटी कलिलैमा मर्ने भएकाले ‘तल्लो जात’ का दमै-कामीलाई ‘बेच्ने’ चलन रहेछ । जुन जातले किनेको छ, त्यही नाम राखिने रहेछ ।
मेरो दाइको नाम पनि ‘सार्की’ राखिएको रहेछ । दिदीलाई कामीले ‘किनेका’ रहेछन्, त्यसैले उसको नाम ‘कामी’ रहेछ । गर्भे टुहुरो भाइको नाम ‘गर्पु’ राखिएको रहेछ । ‘पानी नचल्ने’ जातलाई बेच्दा पनि मबाहेक कोही बाँचेनन् । त्यसैले यसलाई छोए मरिन्छ भनेर मलाई पनि पछिसम्म गाउँलेहरू छुँदैनथे । कसैको घरमा गएँ भने धपाइहाल्थे, ‘ए, तँ जा-जा ।’ आफ्ना छोराछोरीलाई तर्साउँथे, ‘योसँग खेल्न हुन्न, मरिन्छ’ भनेर । मलाई देख्यो कि मान्छेहरू कुरा गरिहाल्थे, परिवारै यसरी विनाश भयो भनेर ।
ठूलीआमाकहाँ सानैदेखि काम गर्नुपथ्र्यो । बाख्रा चराउने, मुडखोलाबाट पानी बोकेर राम्चेसम्म पुर्‍याउने र अरु पनि काम गर्नपथ्र्यो । अरुका कुरा सुन्दा र आफूले गनुर्प रेको दुःख देख्दा मलाई ठूलीआमाकहाँ बस्नै मन लाग्दैनथ्यो । कमाउन पाए गरेर देखाइदिन्थे भन्ने लागिरहन्थ्यो । म नौ वर्षको भएँ । नौ पुगेपछि बुद्धि आउने रहेछ । अनि एक दिन केही नभनी ठूलीआमाकहाँबाट काम खोज्न निस्केँ । मलाई घर छाडेर एक्लै कहीँ कतै गएको अनुभव थिएन ।
ढोडको थुप्रोमा रात बिताएँ । झिसमिसेमै उठेर हिडेँ । नौबिसे नजिकको जुँगेखोलामा ढुङ्गा कुटेर पैसा कमाउन सकिन्छ भन्ने सुनेको थिएँ ।
छ बज्दा म जुँगेखोलामा पुगिसकेको थिएँ ।  त्यहाँ मैले चिनेको एउटै अनुहार देखिन । बेस्सरी भोक लागेको थियो । गोजीमा एक पैसा थिएन । दुई-तीन घण्टासम्म मान्छेहरू भएको ठाउँमा चक्कर काटिरहेँ । एउटा क्रसरमा गाउँको एउटा मान्छे देखेंँ ।
उहाँले पनि मलाई चिनेर सोध्नुभो, ‘ए दमैं, तँ किन आएको ?’
मैले भनेँ, ‘काम खोज्न ।’
उहाँले भन्नुभो, ‘तँ जस्तो फुच्चेलाई कसले काम दिन्छ ?’
मैले भनेँ, ‘मलाई खानलाउन दिए पुग्छ ।’
उहाँले भन्नुभो, ‘ल पख्, त्यसो भए !’
आफूलाई पकाएको खाना बाँडेर मलाई पनि खुवाउनुभो । साहू केशरसिंह बल पनि आइपुगे । उहाँले साहूलाई भन्नुभो, ‘यसलाई पनि काम गर्न दिनुपर्‍यो ?’
साहूले त उल्टै हप्काए, ‘यो डोकोभन्दा सानो भुरोलाई के काम दिनु ?’
उहाँले आँसु झार्दै मेरो सबै जना मरेको ‘कथा’ सुनाए । अनि साहूले भोलिपल्टदेखि काममा लगाए । बिहान उज्यालो भएदेखि साँझसम्म काम गर्नुपथ्र्यो । मैले त्यहाँ एक महिना २५ दिन काम गरें । साहूले दिनको दुई रुपैयाँको दरले एक सय २५ रुपैयाँ दिए ।
त्यो पैसाबाट मैले एक जोर चप्पल, गञ्जी, कट्टु र पाइजामा किनेर लगाएँ ।बाँकी ९५ रुपैयाँ बोकेर ठूलीआमाको घर गएँ । ठूलाबा र आमालाई त्यो पैसा लगेर दिएँ । उहाँहरू ज्यादै खुशी हुनुभयो ।
तीन-चार महिना ठूलीआमाकै घरमा बसेँ । मलाई लाग्यो, ‘गाउँमा बाख्रा चराएर उन्नति हुन्न, काम गर्न वाहिर नै जानुपर्छ ।’
मङ्गल दाइ रसुवाको बाटो खन्दा राम्चेमा पेट्टी-ठेकेदार बनेका रहेछन् । उहाँ गाउँमा कुल्ली लिन आउनुभएको थियो । मलाई पनि जाऊँ भन्नुभो । साइट हेर्ने ओभरसियर थिए, आङकाजी शेर्पा । म सानो भएकोले उहाँको भात पकाउने, भाँडा माझ्ने र कोठा सफा गर्ने काममा लगाइएँ । आधा दाइको र आधा शेर्पाकोमा तीन महिना काम गरें । मङ्गल दाइसहित २२ जना कुल्लीको पैसा पनि नदिई ठेकेदार भाग्यो ।एजेन्सी

,

0 comments

Write Down Your Responses