रोगसँगै लड्दै नेताहरु कुन नेतालाई कस्तो रोग ?

काठमाडौं,माघ १८ – नेताहरुको स्वास्थ्य प्रत्यक्ष रुपमा देशको स्वास्थ्यसित पनि जोडिएको हुन्छ । स्वस्थ नेताले नै देश र समाजलाई सक्रिय नेतृत्व प्रदान गर्न सक्छन । त्यसैले नेताहरुको स्थास्थ्यसित जोडिएका विषयहरु ठूला समाचार बन्ने गर्छन् । यद्यपि,स्वास्थ्यको मामलामा नेपालका नेताहरु त्यति सबल छैनन् । धेरैजसो नेताहरु कुनै न कुनै रोगबाट ग्रसित छन् ।


राष्ट्रपति डा. रामवरण यादवलाई उमेरजन्य आँखा र दाँतको समस्या छ । केही समयअघि सुगर बढे पनि नियमित वाक गरेर सन्तुलनमा ल्याएको उनका प्रेस सल्लाहाकार राजेन्द्र दाहालले जानकारी दिए ।
प्रधानमन्त्री सुशील कोइरालालाई नौ वर्षअघि जिब्रोको क्यान्सर भएको थियो । अमेरिकामा उपचार गरेपछि रोग निको भएको जानकारी जनसम्पर्क सल्लाहाकार मृदुला कोइरालाले दिइन् । केही समयअघि फोक्सोमा क्यान्सर भएको थाहा पाएपछि उपचारका लागि अमेरिका गएका उनको उक्त क्यान्सर पनि निको भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली समकक्षी नेतामध्ये सबैभन्दा रोगी मानिन्छन् । विशेषतः मृर्गौलासम्बन्धी रोगबाट उनी पीडित छन् । उनको दुवै मृर्गौला फेल भएको छ । आठ वर्षअघि नै मृर्गौला प्रत्यारोपण गरेका यिनलाई वेलावेलामा हुने इन्फेक्सनले सताइरहन्छ । नियमित औषधि सेवन गरिरहेका ओलीलाई केही महिनाअघि मेनेन्जाइटिस पनि भएको थियो ।
एमाओवादी अध्यक्ष प्रचण्ड मधुमेह र उच्च रक्तचापबाट पीडित छन् । उनले यी दवै रोगको नियमित औषधि सेवन गरिरहेका छन् । औषधिसँगै समस्यालाई कम गर्न उनी प्रत्येक बिहान कम्तीमा आधा घन्टा व्याडमिन्टन खेल्छन् । उनको नियमित स्थास्थ्य परीक्षण सिभिल अस्पतालका डाक्टर दामोदर गजुरेलले गर्छन् । प्रचण्डका अनुसार केही समस्या परे वीर,गंगालाल,ग्रिनसिटी अस्पतालका डाक्टरहरुले पनि हेर्छन् ।
कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवालाई ७–८ वर्षदेखि ब्लडप्रेसर समस्या छ । त्यसैले उनी नियमित औषधि सेवन गर्दै आइरहेका छन् । एमाले बरिष्ठ नेता झलनाथ खनालाई युरिनरीसम्बन्धी समस्या छ । उनी केही महिनाअघि यसकै उपचारका लागि अमेरिका गएका थिए । पूर्वप्रधानमनत्री तथा एमाओवादी नेता बाबुराम भट्टराई पनि उच्च रक्तचापको समस्याले ग्रसित छन् । उनले रक्तचापको औषधि नियमित सेवन गर्दै आएका छन् । उपप्रधान तथा गृहमन्त्री एवं एमाले उपाध्यक्ष वामदेव गौतम समकालीन नेताहरुमा स्वस्थ नेतामा गनिन्छन् । पछिल्ला दिनमा उनमा पनि प्रेसरको समस्या देखिएको छ । एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधबकुमार नेपाललाई छातीको समस्या छ । चिसोको समयमा घाँटी र छाती दुख्नेबाहेक उनमा अरु खासै समस्या छैन । नयाँ पत्रिका लेख्छ – एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठमा थाइराइड र नशाको समस्या छ भने कांग्रेस उपसभापति रामचन्द्र पौडेलमा ब्लडप्रेसरको समस्या छ । उनी केही वर्षदेखि औषधि सेवन गर्दै आइरहेका छन् ।

0 comments

Write Down Your Responses