किशोरीमाथि एसिड आक्रमण प्रकरण: २६९ जनासँग सोधपुछ, हात लाग्यो शून्य


२०७१ फागुन २९ गते
काठमाडौं, २९ फागुन । काठमाडौँमा दुई किशोरीमाथि भएको एसिड आक्रमणको चौतर्फी आलोचना भइरहेका बेला प्रहरीले भने पत्रकार सम्मेलन गरेर लाचारीपन देखाएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले अहिलेसम्म २ सय ६९ जनासँग सोधपुछ गर्दा पनि कुनै उपलब्धि ननिस्केको जनाएको हो । प्रहरीले पारिवारिक कलहको आशंकामा छिमेकका १ सय २२ जना र बदलाको भावनाले हुनसक्ने आशंकामा उनीहरु पढ्ने स्कुलका १ सय ४७ व्यक्तिसँग सोधपुछ गरेको थियो ।

नेपाल प्रहरीका उपत्यका प्रमुख, एआइजी विज्ञानराज शर्माले अहिलेसम्म उपलब्धि शून्य अबस्था रहेको स्वीकार्नुभयो । ‘प्रहरी अनुसन्धानमा कि शून्य हुन्छ, कि एक सय प्रतिशत हुन्छ । अहिलेसम्म हामी शून्य अबस्थामै छौँ ।-‘ उहाँले भन्नुभयो ।

राजधानीको बसन्तपुरमा रहेको ‘ए प्लस’ ट्युसन पढ्न गएका दुई छात्रा सरिता मगर र सीमा बस्नेत माथि १९ दिन अघि एक ब्यक्तिले ट्युसन सेन्टर भित्रै प्रवेस गरेर एसिडको बोत्तल प्रहार गरेका थिए । आक्रमणकारीलाई पक्रन प्रहरीमाथि चौतर्फी दबाब छ । तर, प्रहरीले एसिड आक्रमणको कारण समेत अझै खुल्न नसकेको जनाएको छ ।

घटनाका पीडित किशोरीले आक्रमणकारीबारे प्रष्ट बयान दिन नसकेको भन्दै प्रहरी उम्कन खोजेको छ ।

0 comments

Write Down Your Responses