एसिड हान्ने भाइ जीवन विकलाई खुल्लापत्र : भाइ ! तिमीले मात्रै पाएका हौ र प्रेममा धोका ?
२०७१ चैत ६ गते
धुव्र ओली
बिगत केही सातादेखि राष्ट्रिय रुपमा चर्चित एसिड कान्डका अभियुक्त जीवन बिकलाई घटनाको २६ दिनपछि शुक्रबार नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । अभियुक्तले यो घटना प्रेमसम्बन्धमा धोका पाएर बदलाभावको उपज हो भनेर बयान दिएका छन् । विभिन्न अनलाइन छापामा आयेको खबर अनुसार, विकले किशोरी संगीता मगरलाई २०६९ देखि मन पराउँदै आएको र परिवारले उक्त कुरा थाहा पाएपछि उनीहरुबीचको प्रेम भाँडिएको थियो ।
शुरुमा जीवनले आफ्नो नाम जीवन खड्का बताएको र पछि जीवन विक भन्ने कुरा संगीताले थाहा पाएपछि उनीप्रति हेयभाव देखाएकी थिइन् भन्ने सार्वजनिक भएको छ । संगीताका परिवारले समेत दुबैको प्रेम प्रकरणका क्रममा जीवनलाई दुर्व्यवहार गरेको तथा संगीताले समेत जीवनका बुवालाई हातपात गरेकै कारण उनले बदला लिन एसिड हानेको हुन बताइएको छ । संगीताले आफूलाई सुन्दरी भएको बताउँदै जीवनलाई हेपेपछि उनको सौन्दर्यमा क्षति पुर्याउन जीवनले एसिड छ्याप्ने योजना बनाएको बताइएको छ । यदि जीवनले भनेकै कुरा सत्य हो भने उनको बयानले केही हदसम्म मन छोयो मेरो ।
मन छोयो भन्नुको अर्थ यो नजाओस कि मैले जीवनलाई निर्दोष देखेको छु । हो, जीवन अभियुक्त नै हो। उसले सार्बजनिक अपराध गरेको छ । ऊ सजायको भागिदार हुनैपर्छ । तर, उसको बयानमा मैले थोरै पीडा देखेँ, प्रेममा धोकाको पीडा । तल्लो जात भनेर हेयभावको पीडा । मायाप्रेम अति नै ‘सेन्सेटिभ’ चीज हो । आफूले चाहेको मान्छेबाट धोका पाउँदा संसारै बिरानो लाग्छ । तडपिन मन लाग्छ । भडकिन मन लाग्छ । बहकिन मन लाग्छ । त्यो स्वभाबिक हो ।
म तिमी भन्दा एकबर्ष जेठो हुँ जीवन भाइ । त्यसैले मैले तिमीलाई भाइ भनेर सम्बोधन गर्छु । भाइ तिमी धोका पाएर पीडामा थियौ । पीडामा बहकिनु स्वभाभिक नै हो । प्रेम आफैमा प्रेम होइन। प्रेममा धोका छ र त त्यो प्रेम भएको हो । र त प्रेमले सार्थकता पाएको हो । तिमीले मात्र हो र प्रेममा धोका पाएको ? संसारमा धेरै छ्न् धोका पाउने । तिमी पीडामा थियौ, शोकमा थियौ, तिमीले शोकलार्इ शक्तिमा बदल्न सकेको भए आज यस्तो दिन देख्नपर्थेन । तिमी आज जुन रुपमा कलंकित भयौ, एउटा अभियुक्तको रुपमा, अपराधीको रुपमा ।
आज हेर अधिकांशका फेसबुकका भित्ता तिम्रै फोटोले भरिएको छ । अनलाइन तथा छापामा तिम्रै समाचारले भरिएका छन् । सबै आक्रोशित छन तिमीसँग। तिमीले शोकलाई आबेगमा बदल्यौ । आज हेर् तिमीलाइ सराप्ने हजारौं छन्। तिमी आज एक्लो छौ । तिमीलाइ साथ दिने कोही छैन । तिम्रा आफनै बुवाआमा पनि तिमीलाइ साथ दिन हिच्किचाउँछन् होला । तिम्रा बाआमाको सपना तिमी कुनै राम्रो अनि सम्मानित स्थानमा पुगोस् भन्ने थियो होला । तर आज हेर त क्षणिक आबेगले गर्दा आज तिमी देशकै अभियुक्त भयौ । कस्तो भइरहेको छ होला बिचरा ती तिम्रा आमाबुवालाई ! मर्नु र बाँच्नु बनाइदियौ है उहाँहरुलाई !
यदि तिमीले पीडालाई शक्तिमा बदल्न कोसिस गर्थियौ भने भाइ राष्ट्रिय रुपमा त तिमी चिनिन सक्थ्यौ, सक्थेनौ त्यो तिम्रो क्षमताको कुरा । तर एक न एक दिन तिमीले आफ्नी संगीता पाउन सक्थ्यौ । या संगीताको मन जित्न सक्थ्यौ । के नारायण गोपालले प्रेममा धोका पाएका थिएनन् र ? आबेगमा आइ उनले पनि तिम्रो जस्तै कुनै हर्कत केही गरेको भए नेपाली गायन क्षेत्रका स्वर सम्राट पाउँथेन नेपालले। उनी पीडित बने अनि पीडामै गाए ।
शोकलाई शक्तिमा बदले र हेर त उन्को स्थान कहाँ छ आज ? अनि तिम्रो स्थान मूल्याकंन गर त! न तिमीले संगितालाई पायौ । संगीताको नजरमा तिमी पहिल्यै गिरेको तिम्रो बयान साँचो हो भने तिमी झन् गिरिसक्यौ उसको नजरमा। आफूले चाहेको मान्छेको झनै नजरमा गिर्नु के राम्रो कुरा होला र ? अनि तिमीले न आफ्ना बाउआमालाइ खुसी दिन सक्यौ । न त आफ्नो राम्रो छवि बनाउन सक्यौ, केबल एउटा क्षणिक आबेगले गर्दा ।
जीवन त एक प्रतिनिधि पात्र मात्र हुन् । यस्ता घटना यो भन्दा अघि नघटेका नि होइनन् । अब उपरान्त नघटला भन्न नि सकिन्न । तर कामना गरौँ यस्ता घटना नघटुन । बदला र क्षणिक आबेगलाई त्यागौँ र पीडालाई शक्तिमा बदल्ने सामर्थ्य जुटाउँ । यही प्रेरणा लिउँ जीवन बिकको एसिड काण्ड घटनाबाट । पीडित संगीता र सीमा बस्नेतको चल्दै गरेको एसएलसी परिक्षा राम्रो होस् कामना अनि शीघ्र स्वास्थ लाभको कामना पनि ।
0 comments
Write Down Your Responses