पूर्वअधिराजकुमारी प्रेरणाद्धारा प्रधानमन्त्री कोइरालाबिरुद्ध मुद्दा दायर

काठमाडौं ।

  मन्त्रिपरिषद्को नेतृत्व गरेकाले विभिन्न सरकारी निकायमा पदेन अध्यक्ष र संरक्षक छन् प्रधानमन्त्री सुशील कोइराला । 
राजा वीरेन्द्र र उनका परिवारको नाममा रहेको सम्पत्ति व्यवस्थित गर्न गठन गरिएको नेपाल ट्रस्टको संरक्षकको जिम्मेवारी पनि प्रधानमन्त्रीको हो  । 

यही जिम्मेवारीका कारण प्रधानमन्त्री कोइरालाविरुद्ध २५ माघमा सर्वोच्च अदालतमा एउटा रिट परेको छ । रिट दायर गरेकी हुन् पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले ।

तत्कालिन राजा ज्ञानेन्द्रले छोरी प्रेरणालाई विवाहमा काठमाडौ १५ मा रहेको १५ रोपनी १ आना जग्गा र त्यसमा बनाइएको घर दाइजो दिएका थिए । 

तर, त्यो घरजग्गा राजा वीरेन्द्रको भएको ठहरसहित मन्त्रिपरिषद्ले ७ असोज ०६७ को बैठकले नेपाल ट्रष्ट अन्तर्गत ल्याउने गरिदियो । अहिले पूर्वराजा ज्ञानेन्द्रकी छोरी र नेपाल ट्रष्टबीच बिजयावासको स्वामित्वलाई लिएर कानुनी लडाँइ भइरहेको छ । 

विवाहमा दिएको दाइजोमाथि कसैले प्रश्न उठाउन नसक्ने दावी प्रेरणाको छ । प्रेरणा ज्ञानेन्द्रको एकमात्र छोरी हुन् । उनको विवाह २०५९ माघ १० गते राजबहादुर सिंहसँग भएको थियो । विवाह हुँदा आफ्ना बाबुले घरसहित काठमाडौंको छाउनीको १५ रोपनी एक आना जग्गा दाइजो बकस दिएको तर सरकारले जवरजस्ती ट्रष्टमा राखेको दावी प्रेरणाको छ ।  कित्ता नम्बर २५ को घरजग्गा काठमाडौं छाउनीमा छ । उक्त जग्गाको क्षेत्रपत्र ०७६६४।६० छ ।

0 comments

Write Down Your Responses