क्षणभरमै खरानी भयो ताप्लेजुङ सदरमुकाम, हेर्नुस् कहालीलाग्दा तस्वीरहरु

२०७१ चैत १० गते 

रविन भट्टराई
ताप्लेजुङ, १० चैत । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा सोमबार साँझदेखि भएको आगलागीका
कारण चार दर्जनभन्दा बढी घर जलेर नस्ट भएका छन् । बेलुकी करिव साँढे ७ बजेदेखि सुरु भएको आगलागीले बजारको तोक्मेडाँडा क्षेत्रमा रहेका तीन सरकारी कार्यालय, आधादर्जन गैरसरकारी कार्यालय, दर्जनौं घर र पसल नष्ट भएका
छन् ।




फुङलिङ बजारस्थित पूर्वेली होटल अर्थात (पुरानो झापा होटल) बाट सुरु भएको भनिएको आगो क्षणभरमै करिब चार मिटर दायाँबायाँका घरमा फैलिएको थियो । पूर्वेली होटलबाट वीरेन्द्र चोकतर्फका घरमा फैलिएपछि स्थानीयले नरेन्द्र गुरुङको घर भत्काएर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर, घर भत्काउन नभ्याउँदै दायाँबायाँका घरमा आगो सल्किएको थियो ।
तोक्मे डाँडाको बजार लाग्ने क्षेत्रदेखि आसपासका सबै घर जलेका छन् । तीव्र वेगमा हावा चलेको र पर्याप्त पानी नभएकाले आगो नियन्त्रण गर्न नसकिएको स्थानीयले बताएका छन् ।
काठले बनेका अधिकांश घरमा तीनभन्दा बढी ग्यास सिलिन्डर रहेको तथा दुईवटा ग्यास डिलरमा समेत आगो सल्किएकाले राति करिब साँढे ९ बजे मात्र आगो नियन्त्रणमा आएको थियो । जिल्लामा दमकल नभएकाले आगो नियन्त्रणमा लिन एस्काभेटर र डोजर लगाएर घरटहरा भत्काइएको थियो । बाक्लो बस्तीमा भएको यो क्षेत्रमा धेरै व्यवसायीले व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
ढिलासम्म आगो नियन्त्रणमा नआएपछि इलामबाट दकमल झिकाएको थियो । तर दमकल आइपुगेन । प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले ग्यास सिलिन्डरको जोखिम तथा पानी अभावका कारण आगो नियन्त्रणमा लिन ढिला भएको बताएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले आगो निभाउन अथक प्रयास गरेका थिए । सशस्त्र प्रहरी बल ताप्लेजुङका गणपति सुधीर सुवेदीका अनुसार आगो निभाउन बजारका करिब दर्जन घर भत्काइएको छ । ३५ भन्दा बढी घर–पसल नष्ट भएका छन् ।
आगलागीबाट जिल्ला विकास समिति कार्यालयको पुरानो भवन, ऊर्जा तथा वातावरण शाखाको कार्यालय, स्थानीय शान्ति समितिको कार्यालय जलेका छन् । हाम्रो फोटो स्टूडियोको तल्लो भागमा रहेको नेपाल पत्रकार महासंघको कार्यालयसमेत ध्वस्त भएको छ भने निलम न्यौपानेको घरमा रहेको रेडपान्डा नेटवर्क, हिमाली संरक्षण मञ्च तथा जनमुखी कृषि सहकारी संस्थाको कार्यालय र प्रभु मनी ट्रान्सर्फरको कार्यालयसमेत पूर्ण रुपले नष्ट भएको प्रहरीले जनाएको छ ।
यो क्षेत्र फुङलिङकै प्रमुख व्यापारिक केन्द्रसमेत रहेकाले आगलागीबाट ठूलो क्षति भएको अनुमान नेपाल रेडक्रस सोसाइटीले गरेको छ । रेडक्रसका जिल्ला सभापति गणेश अधिकारीले आगो नियन्त्रणमा लिनु र उद्धार कार्यमा लाग्नु पहिलो दायित्व भएकाले क्षतिको विवरण मंगलबार बिहानबाट मात्रै संकलन हुने उनले बताए। यो समाचार तयार पार्दासम्म कुनै मानवीय क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ ।
स्रोत -: दैनिक नेपाल

0 comments

Write Down Your Responses