मन्त्रि महेश बस्नेतले मेरो खुट्टा भाँच्ने आदेश दिए छन्, आऊ म बागबजारमै छु
दिलु पन्त
महेशजीले गैरराजनीतिक ढंगबाट निर्माण गरेको निरु पालजीको नेतृत्वले माधव नेपाललाई कारबाहीका लागि अध्यक्ष केपी ओलीलाई पत्र बुझाउँदै छ भन्ने हामीले सुन्यौँ । हामी त्यो हेर्न चाहन्छौँ र भन्न चाहन्छौँ, ‘हिम्मत छ भने माधव नेपाललाई कारबाही गरेर देखाऊ ।’ युवा फाँट इन्जार्जले भेला रोक्न दिएको निर्देशनलाई उल्लंघन गर्ने अनि माधव नेपाललाई कारबाहीको माग गर्ने ? यदि त्यसो हो भने हामी चुप लागेर बस्दैनौँ । पार्टीले ७ फागुनमा भेला रोक्न र युवा संघको झन्डा प्रयोग नगर्न निर्दशन दिएको थियो । तर, आफैँ अध्यक्ष, उपाध्यक्ष, सचिव घोषणा भएकाले माधव नेपाललाई कारबाही गर्ने ? केही भरौटेहरू लिएर संगठनमा गुटबन्दी गर्न पाइँदैन ।
युवा संघको महाधिवेशनबाट निर्वाचित व्यक्तिलाई पाखा लगाएर संगठनले नचिनेका व्यक्तिलाई महेश बस्नेतले जिम्मेवारी पदमा ल्याउनुभयो । जुन संगठनविपरीत काम थियो । हामीले त्यसको विरोध गर्यौँ र कसलाई नेता बनाउने हो, त्यो प्रक्रियामा जाऊँ भन्यौँ । तर, उहाँहरूले पदाधिकारी बैठकको निर्णय भनेर विधान र महाधिवेशनले नचिन्ने मान्छेलाई युवा संघको नेता बनाउनुभयो । आफूले राजीनामा दिनुभन्दा पहिले नै महेशजीले यी सब काम गर्नुभयो । पछि राजीनामाको हवाला दिनुभयो । यो अधिकार उहाँलाई कहाँबाट आयो ? हो, महेशजी नेपालको उद्योगमन्त्री हो । अब युवासंघको अध्यक्ष होइन । उखु किसान सिचाइँको अभावमा तड्पेका छन् । तपाईंले त्यहाँ ध्यान दिनुस् । यहाँ हस्तक्षेपकारी भूमिका खेलेर आफ्नो रजाइँ नगुर्नस् । मैले यही भन्दै पनि आएकी छु । एमालेको तर्फबाट मन्त्री भएको हो भने युवालाई उद्योगतिर लगाउनेमा तपाईंको दिमाग खर्च गर्नुस् । युवा संघमा आँखा तर्न पाइँदैन । अध्यक्षबाट राजीनामा दिएँ पनि भन्ने युवासंघलाई विभाजन गर्ने अधिकार तपाईंसँग छैन ।
२१ माघमा बसेको युवा संघको बैठकमा महेशजीले सिनियरहरूलाई पाखा लगाएर जुनियरहरूलाई नेता बनाउने काम गर्नुभयो । जसलाई नेता बनाएपछि केन्द्रीय समितिमा छलफल गरेर, प्रक्रियामा गएर गर्नुपथ्र्यो, त्यो भएन । सोझै मनोपोली ढंगबाट ऊ अध्यक्ष, ऊ सचिव भन्दै तोक्ने काम भयो । म भन्छु, युवासंघ महेश बस्नेतको क्लब हो ? क्लब जसरी पार्टीको प्रभावशाली भ्रातृ संगठन चलाउन पाइन्छ ?
म संवेदनशील भएर केपी कमरेडलाई अनुरोध गर्न चाहन्छु, ‘आदरणीय अध्यक्ष केपी कमरेड, सधैँभरि बल्खुलाई खुइल्याउने, पार्टी नेताहरूको अपमान गर्ने भरौटेहरूलाई कहिलेसम्म काखी च्याप्नु हुन्छ ? यस्तालाई काखी च्याप्नुभयो भने पार्टीको भविष्य के होला ? तपाईं युवासंघको संस्थापन अध्यक्ष पनि हो । गलत प्रवृत्ति रोक्न हामीले तपाईंकै घरमा पुगेर अवगत गराएका हौँ । किन युवासंघको विवाद मिलाउन सक्नुभएन ? युवासंघ महेश बस्नेतको क्लब होइन । युवासंघको विरासत बनाउन हामीजस्ता थुप्रै युवाको ठूलो त्याग छ, त्यो कुरा तपाईं किन बुझ्न चाहनुहुन्न ?’
केही दिनअघि सचिवमाथि आक्रमण भयो । महेश बस्नेतलाई चुनौती दिने तँ नै होइनस् भन्दै उहाँमाथि कुटपिट भयो । उहाँलाई पर्यटनबोर्डको कार्यक्रममा ‘तँ सुरक्षित छैनस्’ भन्दै बारम्बार धम्की पनि आउने गरेको रहेछ । मलाई पनि ‘दिलु पन्तको खुट्टा भाँचेर आऊ’ भनेर आफ्ना भरौटेलाई महेश बस्नेतले भने छ । मेरो खुट्टा भाँच्ने हो भने म बागबजारमै छु, आऊ म चुनौती दिन्छु ।
0 comments
Write Down Your Responses