फेसबुकले लगायो यी चिज राख्नमा बन्देज

न्युयोर्क, ७ चैत– विश्वभर लगभग १ अर्ब ३९ करोड अर्थात १.३९बिलियन प्रयोगकर्ता भएको संसारकै ठूलो आमसञ्चारको माध्यम हो, फेसबुक । यसमा हरेक पल संसारका हरेक कुनामा रहेका व्यक्तिले केही न केही हालिरहेका वा हाल्न खोजिरहेका हुन्छन् । त्यसमा के–के पर्छ हामी कल्पनासम्म पनि गर्न सक्दैनौं ।
गत सोमबार फेसबुक कम्पनीले फेसबुकमा केके पोस्ट गर्न पाइँदैन भन्ने जानकारी सार्वजनिक गरेको छ । समाजमा उत्तेजना तथा हिंसा पैदा गर्ने कुनै पनि सामग्री फेसबुकमा राख्न पाइने छैन । यद्यपि यसो गर्दा कसैको सूचनाप्रतिको हक भने कुण्ठित हुन नहुनेमा फेसबुक सचेत रहेको बताइन्छ । फेसबुक प्रयोगकर्ता विभिन्न देशका विभिन्न तह तप्का ,धर्म र समुदायका छन् । जसले गर्दा पनि फेसबुकमा के गर्न हुने वा नहुने भन्नेमा फेसबुक आफैं द्विविधामा थियो ।

अब फेसबुक कुनै पनि हिंसात्मक सामग्री पोस्ट गर्न पाइँदैन । हिंसालाई बढावा दिने वा त्यसको समर्थन गर्ने खालका सामग्री पनि निषेध गरिएको छ । त्यस्तै आतंकवादसँग संलग्नता देखिने सामग्री पनि राख्न पाइँदैन । कसैलाई गाली बेइज्जती गर्न फेसबुकमा निषेध गरिएको छ । आत्महत्या गर्न अभिप्रेरित गर्ने सामग्री पनि निषेधको सूचीमा राखिएको छ ।
फेसबुकमा सुरुदेखि नै अश्लील क्रियाकलापका सामग्रीमा बन्देज लगाइएको छ । महिलाहरुले खुल्ला स्तन देखाएको फोटो राख्न नपाए पनि आमाले शिशुलाई स्तनपान गराइरहेको फोटो राख्न भने कुनै बन्देज छैन ।
फेसबुकले पहिलोपल्ट ‘रिभेन्ज पोर्न’ (बेइजती गराउने उद्देश्यले बनाइएका अश्लील भिडियो वा फोटो) लाई पनि बन्देज गरेको छ । कुनै व्यक्तिले त्यस्तो प्रकारको व्यक्तिगत तस्बिर सेयर गर्न चाहन्छ भने तस्बिरमा भएका अन्य व्यक्तिसँग अनुमति लिनु पर्नेछ । ट्वीटरले आफ्नो नयाँ नियममा ‘रिजर्भ पोर्न’लाइ बन्देज लगाएको छ ।
यति सबै हुँदा पनि फेसबुकले प्रयोगकर्ताको सामग्री आफैं स्क्यान गरेर भने हटाउने छैन । यसका लागि प्रयोगकर्ताले नै उजुरी गर्नुपर्छ र उजुरी गरेको ढिलामा ४८ घन्टाभित्र यस्ता सामग्री हटाइन्छन् ।
फेसबुकका अनुसार २०१४ को अन्तिम ६ महिनामा मात्रै उसले स्थानीय कानुनको उल्लंघन गरेका ९ हजार ७ सय ७ पोस्ट हटाएको थियो । जसमध्ये भारत सरकारलेमात्र ५ हजार ८ सय ३२ त्यस्ता पोष्ट हटाउन आग्रह गरेको थियो ।
नागरिक दैनिकबाट

,

0 comments

Write Down Your Responses