मृत्यु दण्ड दिँदैमा एसिड छ्याप्न रोकिन्छ र नेताजी ?
झण्डै एक महिनाअघि वसन्तपुरको एउटा ट्युसन सेन्टरमा एसएलसी परीक्षाको तयारी गरिरहेका दुई किशोरीमाथ एसिड प्रहार भयो । नेपाली समाजका लागि यस्तो अपराधिक प्रकृतिको घटना न पहिला थियो, न त अन्तिम नै हुनेछ । एसिड प्रहारको घटनालाई लिएर राजधानी र बाहिरका मुख्य सहरमा प्रदर्शन भए । घटनाका दोषीमाथि फाँसी दिनपर्ने सम्मको नारा सडकमा लाग्यो । तर घटनाको लामो समयसम्म पनि दोषी पत्ता लगाउन राज्य यन्त्र विफल भयो ।
राजेश्वरी सुवेदी
अन्ततः प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न सफल भयो । ठीलै भए पनि यो सुखद समाचार हो । समाजमा विद्यमान महिला र पुरुषबीचको विभेद र उनीहरुमाथि हुने फरक व्यवहार बारेको बासी बहसको आवश्यकता छैन । जब समाज आदिम साम्यवादी युगमा थियो त्यतिबेला समाजमा छोरावा छोरीमा खासै भिन्नता ठानिन्नथ्यो । जबजब समाज सभ्य हुँदै गयो भनियो, तब समाजमा शोषणको नयाँनयाँ रुपहरु देखिन थाल्यो । बच्चा जन्मेपछि कसलाई छोरा भन्ने, कसलाई छोरी भन्ने मनोविज्ञानको विकास भयो ।
घरमा जुनदिन छोरी जन्मन्छे त्यही दिनबाट उसमाथि विभेद सुरु हुन्छ । छोरी जन्माएकामा ससुरा, सासुदेखि श्रीमानसम्म सुत्केरी महिलासँग ठुस्किन सुरु हुन्छ । जब कि प्राकृतिक विज्ञानले छोरा वा छोरी हुनुमा महिलाको कुनै दोष हुँदैन भन्ने प्रमाणित गरिसकेको छ । समाजको सोच्ने तरिका हामीले नै बनाएका हौं । वसन्तपुरमा एसिड हान्ने जीवन विक एउटा प्रतिनिधि पात्र मात्र हुन् । उनी हाम्रो समाजका उत्पादन हुन् । उनमा आपराधिक मानसिकताले घर गर्नुमा समाज पनि दोषी छ । उनी एक्ला मात्र दोषी छैनन् । यस्ता वा यस्तै प्रकृतिका घटना देशका कुनाकाप्चामा दिनमा एक÷दुईको संख्यामा होइन । सयौंको संख्यामा हुने गरेका छन् ।
जीवन बीसीले काठमाण्डुमा एसिड छ्यापेका कारण पनि यो घटना ठूलो भएको हो ।
गाउँघरमा दिनहुँ घटिरहेका महिला हिंसाका घटना न मिडियाले पत्तो पाउँछन् न पीडितको मिडियासम्म पुग्ने पहुँच हुन्छ । धेरै संगीता मगर र सीमा बस्नेतहरुमाथि दुरदराजमा कति यातना थोपरिएको होला के यसबारे हामीले कहिल्यै घोत्लिएर सोचेका छौं ? दुरदराजका कुरा छाडौं, राजधानी सहरमा मै हुँ भन्नेकी श्रीमतीको आँखामा सधैं आँशु टल्पिने गरेको दृश्यको साक्षी यो पंक्तिकार आफैं हो । राजनीतिक वा प्रशासनिक नेतृत्वदेखि आफूलाई बौद्धिक दाबी गर्नेहरुका घरमा सधैं ‘गृहयुद्ध’ भइरहेको हुन्छ । कारण उनीहरुका हवेलीमा महिलाका लागि त सम्मान, न इज्जत, न अस्तित्व हुन्छ । जब नीति निर्माण गर्नेहरु नै महिला हिंसामा रमाउँछन् भने गाउँघरमा अनपढ, अबोला नारीहरुको अवस्था कस्तो होला ? अर्को कुरा हाम्रोमा अपराधीहरुलाई राजनीतिक नेतृत्वको संरक्षण छ । अपराधीका लागि सगर्व सहिद हुन घोषणा गर्नेहरुलाई जनताले आफ्नो नेता मान्नु परिरहेको छ । आफ्नो राजनीतिक भविष्यको जगेर्ना डनबाट खोज्ने नेताहरु धेरै छन् । जबसम्म नेताहरुले आफ्ना वरिपरिका डनलाई कारबाही गर्ने आँट गर्दैनन् तबसम्म अपराधीमाथि कारबाहीको कुरा दन्त्यकथा सरह हुनेछ ।
नेपाल संविधान निर्माणको चरणमा छ । नयाँ संविधानमा महिला हिंसासहित सबै खाले अपराध नियन्त्रणका लागि कस्तो कानुन बन्नुपर्छ भन्नेबारेमा धेरैथरि विचार, विमर्श र बहस जारी छन् ।
कसैले आजीवन काराबास, कसैले फाँसी आदिको कानुन बनाउनुपर्छ भनिरहेका छन् । कतिपय राजनीतिक नेतृत्वले समेत आफू ‘पपुलिष्ट’ हुने होडमा बलात्कारीलाई फाँसी दिनुपर्ने उत्तेजक भाषणबाजी गरे । तर, अपराधीलाई फाँसीको सजायले मात्र समाजमा अपराध निर्मुल हुने होइन । अपराध नियन्त्रणका लागि समाजको मानसिकतामै परिवर्तन ल्याउनुपर्छ । हाम्रोमा जब घटना घट्छ, तब बहसको र समाचारको विषय बनाउने गरिएको छ । तर घटनाको कारणहरु पहिल्याउने र तिनको दीर्घकालिन समाधानको उपाय खोज्ने बारेमा कसैको ध्यान गएको छैन । अपराधको मुल समाजमा छ । तर हामी समस्या समाधान मृत्यु दण्डमा खोजिरहेका छौं । मृत्यु दण्ड समस्याको समाधान होइन । यदि त्यसो हुँदो हो त मृत्यु दण्डको सजाए भएका देशमा अपराध हुने नै थिएन ।
Source: kathmandutoday.com
0 comments
Write Down Your Responses