१५ लाखमा किनेर बिहे गरेको रहेछ

काठमाडौं . अघिल्ला तीन दिनझैं त्यस दिन पनि चिनियाँ युवकले उनलाई जबर्जस्ती गर्न खोज्यो। उनले मानिनन्। चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गरी चीनकै एक विकट गाउँमा पुगेकी ती नेपाली युवतीले संकल्प गरेकी थिइन्, बरु मर्छु, शरीर सुम्पिन्नँ। घटना यही २०७१ माघ २४ गते रातको हो। जबर्जस्ती गर्न खोज्ने व्यक्ति अरू होइन, आफ्नै लोग्ने थिए, कागजी हिसाबले। व्यवहारमा भने उनीहरुबीच यसअघि पति–पत्नीको कुनै सम्बन्ध गाँसिएको थिएन।
पर्वतकी संगीता घिमिरे -नाम परिवर्तन_ लाई कागजी पतिको नाम धरी याद छैन। करिब ९ बजेको हुँदो हो। त्यस दिन जबर्जस्ती गर्न नपाएपछि त्यो चिनियाँ पुरुषले रक्सीको बोतल खोल्यो र चुरोट सल्काउँदै कोठाको एकछेउ बसेर पिउन थाल्यो। बेलाबेला संगीतातिर खाउँलाझैं गरी हेर्थ्यो। उनी निदाएझैं गरिरहेकी थिइन्। केही बेरपछि फेरि उठेर आयो र सुमसुम्याउन थाल्यो। संगीता उठ्दै नउठेपछि ऊ पनि भुतभुताउँदै ओछ्यानको अर्को छेउ पल्टियो।
‘आज -माघ २४ गते_ जसरी पनि यहाँबाट भाग्छु भन्ने सोचेको थिएँ। त्यसैले निदाएको एक्टिङ गरेँ, भागेर नेपाल फर्कन सफल संगीताले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी_ कार्यालयमा  आफ्नो कथा सुनाइन्।


भाग्ने दिन उनले कपडा दिउँसै प्याक गरेर दराजमा राखेकी थिइन्। मौसम चिसो थियो। चार–पाँच जोर शरीरमै लगाइन्। करिब साढे १० बजेतिर ऊ घुरेको आवाज आयो। संगीताले आँखा खोलिन् । पछाडि सानो झ्याल थियो। सिसा खोल्न मिल्ने, ग्रिल नभएको। बिस्तारै दराज खोलेर आफ्ना दुइटा झोला झिकिन्। पहिला दुई झोला झ्यालबाट बाहिर झारिन्, त्यसपछि जुत्ता, अन्त्यमा बिस्तारै आफू पनि हाम्फालिन्।
एकतले घर भएकाले हाम्फाल्न खासै गाह्रो भएन।
बाहिर जताततै हिउँ। उनी हाम्फालेको आडैमा केटोका बाउआमाको थियो कोठा थियो, बत्ती बलिरहेको थियो। टेलिभिजन पनि खुलै। जुत्ता लगाएर दुई पाइला नचाल्दै उनी रोकिइन्। उनको जुत्ताको टकटक आवाज पनि रोकियो। उनले तत्कालै जुत्ता खोलिन्। खाली खुट्टा हिउँमा १५ मिनेट हिँडेपछि मुख्य सडक पुगिन् र जुत्ता लगाइन्।
‘सर्लक्क हिँडेँ, चिसोले खुट्टा हिउँझैं थिए, संगीताले त्यो क्षण सुनाइन्। सडकमा गाडी द्रुत गतिमा हुइँकिएका थिए। उनले रोक्ने प्रयास गरिन्। धेरैपटक हात तेर्स्याइन्। कसैले दया देखाएन। तीन दिनअघि हार्विन विमानस्थलबाट त्यहाँ आउँदा उनले बाटो याद गरेकी थिइन्। विमानस्थलबाट गाडीमा दुई घन्टा लागेको थियो। गाडी नरोकिएपछि उनले साहस गरिन्, ‘अब हिँडेरै हार्विन पुग्छु। त्यहाँ कसै न कसैले सहयोग गर्ला।
साथमा राहदानी, नागरिकता केही थिएन। ती दुवै कागजी पतिले खोसेका थिए। सडकको दुवैतर्फ बत्ती बलेका। नेपालमा यस्तो झलमल्ल उनले देखेकी थिइनन्। उज्यालोले उनलाई खासै डराउन दिएन। गाडी रोक्ने प्रयास गर्दै उनी अघि बढिन्। करिब तीन घन्टापछि अचानक सडक बत्ती सबै निभे। सडक चुकअमिलो पोखेझैँ निष्पट्ट अँध्यारो भयो। उनले टाउको छामिन्, हिउँले ढाकेको थियो। गलबन्दी निथु्रक्क भिजेको। घडी हेरिन्, १ बजेछ।
‘एक्कासि बत्ती निभेपछि डर लाग्यो, अब अगाडि बढ्न सक्दिनँ भन्ने भयो, उनले त्यो कहालीलाग्दो रात सम्भि्कइन्।
सडकको केही पर एउटा घरमा बत्ती बलिरहेको देखिन् उनले। देउताकै दर्शन पाएजस्तो भयो। सडक छाडेर उनी त्यता के दौडिइन्, त्यो पनि झ्याप्प निभ्यो। उनले घरको ढोका ढकढक्याइन्। कोही निस्केन।
‘अंकल अनायसै उनको मुखबाट निस्क्यो। तर घरबाट कोही निस्केन। उनी फेरी सडकतिरै आइन्। के सोचिन्, एकैछिनमा फेरि त्यही घरको ढोका ढकढक्याउन पुगिन्। त्यो घरको ढोका खुलेन। चिसोमा काँप्दै उनी अँध्यारो सडकै सडक अघि बढिन्।
‘अब मेरो मृत्यु यही सडकमा हुनेछ, आतंकित मनले यस्तै सोच्दै उनी अघि बढ्दै थिइन्। पछाडिबाट उज्यालो आयो। झसंग भइन्, भूत आएजस्तो लाग्यो। मर्ने दिन आजै रहेछ’ उनले सोचिन्।
उज्यालो नजिकै आयो, त्यो त गाडी रहेछ। उनले हात दिइन्। रोकिएन। केही अघि पुगेपछि गाडी उनीतिरै मोडियो। नजिकै आएर रोकिएको गाडीमा दुई जना पुरुष थिए। प्रहरी रहेछन्। प्रहरीका अगाडि उनी रोइन् र आफ्नो कथा सुनाइन्। तर उनीहरुले बुझेनन्। प्रहरी चिनियाँ भाषामा कुरा गरिरहेका थिए।  एउटा सँगै लैजाऊँ भन्थ्यो, अर्को नबुझी त्यसै लैजान हुँदैन भन्थ्यो सायद, उनीहरुका हाउभाउ संगीता अनुमान लाउँदै बलिन्द्रा आँसुका धारा बहाइरहेकी थिइन्।
आफ्नो परिचयपत्र देखाउँदै प्रहरीले संगीतासँग राहदानी मागे।
‘छैन, संगीताले हात जोडिन्। उनीहरु इशाराले सोध्दै थिए, ‘कहाँबाट आएको <
‘नेपालबाट उनले भनिन्।
‘ओ, निगवोर, उनीहरु उत्साही भए।
त्यसपछि दुवै प्रहरीले दया देखाएर उनलाई गाडीमा राखे। उनी हिउँजस्तै भएकी थिइन्। उनीहरु इशारामै केही न केही सोधिरहेका थिए। उनले पनि इशाराले यातना सहन नसकी भागेर हिँडेको बताइन्। चिन्ता नगर, हामी छौं इशारामै उनीहरुले संगीतालाई आश्वासन दिए।
उनको मन बल्ल चंगा भयो।
प्रहरीले उनलाई दुई घन्टा गाडीमा लिएर हिँडे। उनले आफूले केही नखाएको बताइन्। प्रहरीले बाटोमा पर्ने सबै होटलका ढोका ढकढकाए तर कुनै खुलेनन्। केही सीप नलागेपछि प्रहरीले उनलाई एउटा ठूलो अस्पतालमा लगेर त्यहीँ सुत्न भने। खानाका लागि २ सय चिनियाँ युआन पनि दिए र भोलि आउने बाचा गर्दै प्रहरी अस्पतालबाट बाहिरिए। उनी अस्पतालको टिकट काउन्टरअघिको बेन्चमा पल्टिइन्। निन्द्रा किन पर्थ्यो र कोल्टे फेर्दैमा बिहान भयो। बिहानसम्म खाना त के पानी पनि पिउन पाएकी थिइनन्।
बिहान ६ बजेको हुँदो हो, संगीता अस्पतालबाट बाहिर निस्किइन्। ट्याक्सीलाई उनले हार्विन पुर्यासइदिन भनिन्। ट्याक्सी चालकले एक सय ५० चिनियाँ युआन लिएर पाँच मिनेटअघि लगी उनलाई बस चढाइदिए। बसको कर्मचारीले सुरुमै पैसा मागे। उनले बाँकी रहेको ५० युआन देखाइन्। पाँच युआन लिएर बाँकी ४५ उनलाई फिर्ता गरिदियो। दुई घन्टा बसको यात्रापछि संगीता हार्विन पुगिन्।
‘रातभर नसुतेकाले म त बसमा निदाएछु। सबै झरिसकेका रहेछन्। म नझरेको देखेपछि ड्राइभर आई मलाई ब्युँझाए, उनले सुनाइन्।
हार्विन त पुगिन् तर अब कहाँ जाने < विमानस्थल कहाँ छ उनलाई थाहा थिएन। न नेपाली बुझ्ने भेटिन्छन् न अंग्रेजी। चिनियाँ भाषा उनी बुझ्दनन्। केहीछिन अलमल्ल परिन्। उनी सानो पसलभित्र छिरिन् जहाँ एक चिनियाँ युवती बसिरहेकी थिइन्। उनले आफूसँगै चीन आएका छवटा केटीका कागजी पतिको फोन नम्बर टिपेकी थिइन्। उनले ती नम्बर लुकाएर काठमाडौंबाट साथमा राखेकी थिइन्।
‘सबु, पसलबाट फोन गरिन्। सबुको कागजी पतिले फोन सबुलाई दिए। म भागेर आएको, विमानस्थल देखिनँ, संगीताले भनिन्।
‘म बूढालाई पठाइदिन्छु, सबुले भनिन्।
उनी दुई घन्टा त्यही पसलभित्र बसिन्। एकछिनपछि उनको मुख खुलेको खुल्यै भयो। उनका सामुन्ने त्यही कागजी पति र त्यस केटासँग विवाह गराइदिने एजेन्ट त्यहीँ आइपुगे।
पवर्तको एक निम्नवर्गीय परिवारमा जन्मिएकी संगीता १९ वर्षकी भइन्। उनी प्लस टु पढ्दै स्कुल पढाउँथिन्। नत्र पढ्ने खर्च पुग्दैनथ्यो। बाबा बितेपछि सम्पूर्ण परिवारको जिम्मेवारी उनको काँधमा थियो। आमा, बहिनी र दुई भाइको रेखदेख उनैले गर्नुपर्ने। दुवै भाइ बौद्धिक अपांग। उनी पोखरामा पढ्दै र पढाउँदै थिइन्।
गत मंसिरको एक दिन एक जना अंकलले उनले चिनेको एक युवतीलाई विवाह गरी कोरिया पठाइदिने आश्वास दिएका थिए। त्यो कुरा ती युवतीले संगीतालाई पनि सुनाइन्। कोरियनसँग विवाह गरेर जाने, महिनाको एक–डेढ लाख रुपैयाँ नेपाल पठाउन पाइने, ६० हजारको जागिर लाइदिने, ६ महिनापछि परिवार लान पाउने– संगीतालाई प्रस्ताव आकर्षक लाग्यो। उनले ती अंकलमार्फत आफू पनि जाने इच्छा राखेर कुरा अघि बढाइन्।
ती अंकलले काठमाडौं रहेर यही धन्दा गर्ने छेरु शेर्पाको नाम र मोबाइल नम्बर दिए। काठमाडौं चुनदेवीस्थित छेरु इन्टरनेसनल म्यारिज ब्युरोकी सञ्चालिका छेरु। इपिएस प्रणालीमार्फत कोरिया जान संगीताले पहिल्यै कोरियन भाषा सिकेकी थिइन्। तर इपिएस परीक्षामा उनी पास हुन सकिनन्। त्यति नै बेला उनले राहदानी पनि बनाएकी थिइन्। मंसिरकै एक दिन उनले छेरुलाई फोन गरिन्, कुरा अघि बढ्यो। त्यसपछि छेरु आफैंले फोन गर्न थालिन्।
संगीता काठमाडौं आइन्। माघ ९ गते। छेरुको अफिस राम्रै लाग्यो उनलाई। छेरुले उनको फोटो खिचेर चीन पठाइन् जुन संगीताले पत्तै पाइनन्। नानी, कोरिया ढिला हुन्छ। चीन जाने भए तुरुन्तै हुन्छ। तिमी चीन जाऊ छेरुले प्रस्ताव गरिन्। छेरुले चिनियाँ पुरुषको फोटो पनि देखाइन्। उनले ओके गरिन्। भोलिपल्ट ७ जना चिनियाँ केटा आए। त्यही दिन अन्य ६ जना केटी पनि छेरुको अफिस आइपुगे। काठमाडौंमा चिनेजानेको कोही नभएर संगीता पनि छेरुकै अफिसमा बसेकी थिइन्। अफिस गेस्टहाउसजस्तै थियो। चिनियाँ पुरुष र केटीहरुको पहिलो भेट त्यहीँ भयो। केटाहरुलाई ठमेलस्थित एक होटलमा राखिएको थियो। त्यसको पर्सिपल्ट कोट म्यारिज भयो। संगीताले भक्तपुर जिल्ला प्रशासन कार्यालयमा गएर विवाह दर्ता गरिन्। उनले विवाह गरेको केटाको उमेर २८ वर्ष थियो, उनको बढाएर २१ बनाइयो। कागजात बनाउन जिल्ला प्रशासनका कर्मचारीलाई १० हजार रुपैयाँ बुझाइन्।
‘एक दिनमा तीन जना लगेका थिए विवाह गर्न संगीतले सुनाइन्।
विवाह दर्ता गर्न जानुअघि नै उनीहरुलाई सबै कुरा छेरुले सिकाएकी थिइन्, आफ्नाबारे केही नखोल्न।
‘किन विवाह गर्न लागेेको <   जिल्ला प्रशासनका कर्मचारीले सोधे।
‘दाइभाउजू चीनमा हुनुहुन्छ। उहाँहरुले चिनेको, मसँग पनि पहिल्यैदेखि चिनजान भएको मान्छे भएर विवाह गर्न लागेको सर, संगीताले सिकाएअनुसार खर्खर भनिन्।
‘भाषा आउँछ त <
‘आउँछ
बिहे सकियो।
नागरिक दैनिक लेख्छ, पर्सिपल्ट बालुवाटारको एक रेस्टुरेन्टमा भोज गरियो। विवाह गर्ने सात जना चिनियाँ पुरुष र सातै नेपाली युवती सँगै बसेर खाना खाए। एक घन्टामा बिहेभोज सकियो। सबै केटी आ–आफ्ना घर गए, चिनियाँ पुरुष होटलतिर। संगीता भने छेरुकै अफिस गइन्। उनीहरु विवाह प्रमाणपत्र प्रमाणीकरण गर्न परराष्ट्र मन्त्रालयको कन्सुलर विभाग पुगे। कन्सुलर विभाग जानुअगावै छेरुले के भन्ने के, नभन्ने सबै सिकाएकी थिइन्।

0 comments

Write Down Your Responses