‘बाबुछोरा जहाजमा सँगै यात्रा गर्न नहुँदो रहेछ, झण्डै मेरो बंश गुम्यो !’

२०७१ फागुन २० गते
- दीपक मल्होत्रा
दुर्घटना कसैले टारेर टर्दैन । त्यो कुरामा म पूर्वतयारी पनि छु । डराउने भएको भए एउटा पसल थापेर बाहिर नगई बस्न सक्थेँ । तर, आज अलि फरक अनुभूति भने भएको छ । शास्त्रमा लेखेको छ रे– परिवारका सबैजना एकैठाउँमा एकैपटक यात्रा नगर्नु भनेर । हामी बाबुछोरा सँगै यात्रा गरेर गल्ती गरेछु भन्ने लागेको छ । बाबुछोरा एउटै जहाजमा थियौँ, केही भइदिएको भए त हाम्रो व्यापार, सारा कुरा चौपट भइहाल्थ्यो नि ! अब भविष्यमा यस्ता कुरा सच्याउँछु । छोरासँग सँगै यात्रा गर्ने यो अन्तिम हो, मेरो ।

काठमाडौँबाट व्यापारको सिलसिलामा बार्सिलोना जाने योजना बन्न साथ टिकट लिइयो इत्तेहाद एयरवेजको । काठमाडौबाट अबुधाबी, आबुधाबीबाट रोम हुँदै बार्सिलोनासम्म पुग्नका लागि लामो रुट रहेछ । सबैले टर्किस एयरलाइन्समा जान सुझाव दिए । युरोपमा नाम चलेको एयरलाइन्स । रुट पनि छोटो । इत्तेहाद छाडेर यसैमा टिकट काट्यौँ । सोचेजस्तै, भनेजस्तै लाग्यो प्लेनको खानेकुरा, सेवा ।
बार्सिलोनामा सामसुङ–६ को लन्चिङ कार्यक्रममा भाग लियौँ, वर्ल्ड मोबाइल कँग्रेसमा पनि भाग लियौँ । त्यहाँ साथीहरुले थप एकदिन बसौँ भनेर कर गरेका थिए । तर म ‘सेड्युल’मा हिँड्ने । फर्किएँ ।
टर्कीको इस्तानबुल आइसकेपछि चार घण्टाको ट्रान्जिट थियो । एयरपोर्ट हेर्दै रमाइलो मान्दै बसेँ । छोरा र साथीहरु बाहिर घुम्न निस्के ।
राति ८ः२५ बजे निर्धारित समयमै हामी काठमाडौँका लागि उड्यौँ । बिहान ६ बजेर ५५ मिनेटमा काठमाडौँ अवतरण गर्नुपर्ने थियो । तर उडान रुटको मौसम सफा भएकाले ६ बजेर २५ मिनेटमै ल्याण्ड हुन्छ भनियो ।
काठमाडौँ आउन एकघण्टा मात्रै बाँकी थियो । पाइलटले काठमाडौँको मौसम ठीक छैन भनेर जानकारी दिए, ढिला ल्याण्ड हुन्छ भनेर खबर गरे ।
प्लेन ल्याण्ड गर्नका लागि तीनकुनेसम्म झरेको देखियो । त्यतिबेलासम्म पाटन, तीनकुनै प्रष्टै देखिएको थियो । तर, तीनकुनेसम्म आएको प्लेनलाई अवतरण गर्ने बेला एकैचोटि पाइलटले माथि उडाए । अवतरण गरेनन् ।
‘भिजिबिलिटी’ एक सय पचास मिटर मात्र थियो भनेर यात्रुहरुलाई जानकारी गराइयो । त्यतिबेला पाइलटले प्रष्टसँग बोलेनन्, अब अवतरण गर्न आधा घण्टादेखि एकघण्टासम्म लाग्छ भने ।
त्यसपछि प्लेनले ४०–५० मिनेट लगाएर काठमाडौँमाथि ठूलो फन्को मार्‍यो । दोस्रोपटक ल्याण्ड गर्दा भिजिबिलिटी झन कम भइसकेको थियो । तुवाँलोले काठमाडौँ लगायत पहाडका सबै खोँच केही पनि नदेख्ने अबस्था थियो । पाइलटले जबर्जस्ती जहाजलाई काठमाडौँ छिराए, जहाजबाट हामीले काठमाडौं केही देखेका थिएनौँ । बिमानस्थलको मैदान पनि देखिएन ।
एकैचोटी नराम्रोसँग ठूलो आवाज आयो । सामान्य अबस्थाको भन्दा २० गुना बढी झड्का आयो । जहाज अवतरण गर्दा दुईवटा रन–वे बीचको घाँसे मैदानमा जोतियो । पाइलटले २० सेकेण्डसम्म जहाज जोतिरहे ।
त्यो झणचाँहि मेरो लागि निकै अविष्मरणीय रह्यो । त्यो त अब कहिल्यै नि बिर्सिन्न ।
२० सेकेण्डपछि जहाज रोकियो । तर, जहाज जोडले कराइरहेको थियो । भित्र सबै सामान यत्रतत्र छरियो । मानिसहरु रुन, कराउन थाले । बिहान ८ बजेर १० मिनेटको जाँदाको घटना हो यो ।


खोई मेलै के सोचेँ, बाहिर श्रीमती कुरेर बसेकी थिइन, उनलाई फोन गरेँ । घटना विवरण सबै बताएँ । सबै सुरक्षित भएकाले नआत्तिन भनेँ । त्यतिबेलासम्म दुर्घटनाको खबर बाहिर गएको थिएन । उनले अरु कसैबाट सुनेको भए आत्तिन सक्थिन ।
त्यसपछि म भित्रै साथमा रहेको मोबाइलबाट भिडियो खिच्न थालेँ । सबै यात्रु बाहिर निस्कन खोज्दा पाइलट आएर ‘अब केही हुन्न, अहिले सबै ढोका खोल्दा तिमीहरु सबै हाम्फाल्छौ, त्यसले फेरि अर्को दुर्घटना गराउँछ’ भनेर सम्झाउन थाले ।
त्यसपछि बाहिरबाट अगाडिपट्टि एउटा भर्‍याङ ल्याएर राखियो । एक–एक जना गरी झर्न मिल्थ्यो । ‘बिजनेश क्लास’मा बसेकाले म सबैभन्दा पहिले झर्न पाएँ ।

एकजना नब्बे बर्षका बुढा थिए । उनको साथमा छोरी थिइन् । उनलाई ट्वाइलेट लैजान पनि छोरीको सहारा चाहिन्थ्यो । तर, उनलाई छोरीले यति सान्त्वना दिइन कि उनलाई केही भएन, उनलाई पनि त्यही भर्‍याङबाट निकालियो ।
११ जनाजति झरिसकेपछि जहाजको इन्जिनमा धुँवा आयो भनेर जहाजभित्र होहल्ला सुरु भएछ । तीन–चार जना विदेशी भित्रै ढले । तिनीहरुलाई बोकेर ल्याइयो । एकजना अहिले पनि अस्पतालमै छन भन्ने सुनेको छु ।
दुर्घटना हुनासाथ इमरजेन्सी ढोका खोल्नुपर्दथ्यो जस्तो लाग्छ । तर किन ढिला खोलियो ? चारवटा इमरजेन्सी ढोका खुलेपछि मात्र मानिसहरु हाम्फालेर बाहिर निस्केका हुन् ।

म बाहिर निस्केर फोटोहरु खिच्न थालेँ । तर, छोरा दिकेश भित्रै । उ पछाडि बसेको थियो । उ ननिस्कँदा एकछिन फेरि तनाव सुरु भयो । जहाजमा आगो लाग्न सक्थ्यो, पड्कन सक्थ्यो । उ बाहिर ननिस्कँदासम्म मन आत्तियो ।
मानिसहरु निस्केपछि बल्ल दमकलबाट जहाजमा पानी हाल्न थालियो । दमकल, सेना, प्रहरी तत्कालै पुगेका थिए । बिमानस्थलका सुरक्षाकर्मीले निभाएको भूमिका सराहनीय छ ।

बाहिर निस्कँदा ‘इमिग्रेशन’ एकछिन त खाली। सबै मानिस मैदानतिर कुँदेका रहेछन् । उनीहरु फर्केपछि बधाई दिन थाले ।
म र दिकेश सिधै बाहिर आयौँ र परिवारलाई अनुहार देखायौँ । त्यसपछि फेरि भित्र गएर क्याबिनमा राखिएका लगेजहरु लिएर आयौँ। त्यतिबेलासम्म बिमानस्थलमा भीड सुरु भइसकेको थियो, संचारकर्मीहरु पुग्न थालेका थिए । हामी दुई–अढाई घण्टा त्यहाँ बसेपछि सिधै घर आयौँ ।
बाहिर आएपछि मैले फेसबुक अपडेट गरेको थिएँ । धेरैले घटनाबारे थाहा पाए । देश–विदेशबाट फोनहरु आउन थाले ।
प्रहरीमा कुनै ठूलो पदमा बढुवा हुँदा फोनहरु आउँछन् नि, त्यो भन्दा पनि १० गुना बढी फोन–कलहरु आयो आज मलाई । धेरै फोन उठाउन भ्याइएन । दुईवटा फोन तारान्तर बजेको बज्यै छ । सयौँ एसएमएसहरु छन्, त्यो हेर्न पनि पाएको छैन ।

पाइलटका कारणले गर्दा दुर्घटना भएको हो कि होइन ? दुर्घटना कसरी भयो ? सत्यतथ्य बाहिर आउला । तर, भिजिबिलिटी नहुँदानहुँदै पाइलटले जबर्जस्ती ल्याण्ड गराउँदा घटना भएको ठान्छु म । काठमाडौँ जस्तो ठाउँमा, पहाडै पहाडैबीचको भागमा यस्तो जोखिम पाइलटले लिनु हुन्नथ्यो । भविष्यमा यस्ता जोखिम नलिइयोस ।
जहाँसम्म जहाजको चक्का निस्केन भन्ने हल्ला छ । त्यो सत्य होइन् । ल्याण्ड हुनुभन्दा एकछिन अघिसम्म पनि चालकले सुरक्षित अवतरण हुन लागेको बताएका थिए । जहाजको प्राविधिक समस्या पनि केही भनिएको थिएन । चक्का निस्केको घिर्रर्र…आवाज आएको थियो ।
काठमाडौँमा मौसम खराब भए भारतको लखनउ, पटना लगेर ल्याण्ड गरिएला भन्ने लागेको थियो । तर जबर्जस्ती नै किन ल्याण्ड गरियो ? सिधै घाँसे मैदानमा लगेर जहाज जोतियो । रन–वे कसरी ‘मिस’ भयो ? मलाई लाग्छ, रन–वे मा ल्याण्ड गरेको भए केही हुन्नथ्यो । पाइलटले केही नदेखीकनै किन ल्याण्ड गर्नुपथ्र्यो ? यो सरासर पाइलटको गल्ती हो । पाइलटले ज्यान बचाए, त्यो फरक कुरा हो । तर, पाइलटको गल्तीले आज ज्यान सक्थ्यो ।

म ५४ बर्षको भएँ । ३५ बर्ष भयो जहाजमा ओहोरोदोहारो गर्न थालेको । मेरा एक्लो छोरा हो, दिकेश । ऊ २७ बर्षको भयो । व्यवसायमा उसैले साथ दिँदै आएको छ ।

म आफैलाई भन्न चाहन्छु– म एक्लै जाँदा पनि हुन्थ्यो । छोरा एक्लै जाँदा पनि हुन्थ्यो । दुई जना अलग–अलग जाँदा पनि हुन्थ्यो । हामी ढुक्कसँग एउटै प्लेनमा गयौँ, एउटै प्लेनमा फर्कियौँ । यदि केही भएको भए त हाम्रो वंश नै जान्थ्यो । हाम्रो व्यापार–व्यवसाय चौपट हुन्थ्यो । कमसेकम एकजना हुँदा त त्यो सम्हालिएला । हामी हाउजिङ, अस्पताल, सुनचाँदी, ट्रेडिङको व्यवसाय गर्छौँ । सामसुङ मोबाइलको मात्र गतबर्ष ५ अर्ब ४० करोडको कारोबार गरेका छौँ ।
तर, एउटा पाइलटको दम्भले गर्दा २२४ जना जना यात्रु र २४ जना जहाजका कर्मचारीका ज्यान जान सक्थ्यो । त्यसो भएन आफ्नै ठाउँमा छ । अलि तलमाथि भएको भए त ज्यानै जान सक्थ्यो नि !
गाडी दुर्घटना हुँदा मानिस बाँचेको त हामीले सुनेका–देखेका छौँ, तर जहाजै दुर्घटना भएर पनि हामी बच्यौँ । आजसम्मका यस्ता दुर्घटनामा त जहाजमा आगो लाग्छ, जहाज पडकिन्छ तर आश्चर्यजनक यो दुर्घटनामा कोही मानिसलाई एउटा सामान्य घाउ समेत लागेन । यो विश्वका दुर्लभ घटनामध्ये पर्नसक्छ । हामीले यसलाई भाग्यका रुपमा लिएका छौँ । साथीभाइको सदभाव र कामनाका रुपमा लिएका छौँ ।

0 comments

Write Down Your Responses