किन परयो प्रधानन्यायाधीश साह र प्रचण्डबीच चर्काचर्की ?

काठमाडौं । झण्डै तीन साताअघि, सत्तापक्षिय दलहरुसँग संवाद नगर्ने औपचारीक निर्णय गरेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संबैधानिक परिषदको बैठकमा पुगे । बिहीबारको बैठकमा लोकसेवा आयोग लगाएत संबैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिको तयारी थियो ।
परिषद्को बैठकमा संबैधानिक निकायका पदाधिकारीका लागि विभिन्न नामहरु प्रस्तावित भए ।

 यस्तैमा प्रचण्डले पनि एक्कासि दमन घलेको नाम उठाएपछि संबैधानिक परिषदका सदस्य समेत रहेका प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले कठा टिप्पनी गरे । दाहाललाई लक्षित गरी प्रधानन्यायाधीश साहले कडा टिप्पनी गरेपछि दाहाल अक्क न बक्क भए । उनले भने दलले मात्र हैन, राज्यको निकायको हेपाई मलाई मन परेन, म बाहिर जान्छु, तपाईहरु नै जे मन लाग्छ गर्नुहोस । दाहाल बम्केपछि प्रधानमन्त्री कोइरालाले फेरी फकाएर बसाले । प्रचण्डले घलेलाई अख्तियार पदाधिकारीका लागि प्रस्ताव गरेका थिए ।



प्रधानन्यायाधीश साहले संवैधानिक प्रावधानको हवाला दिँदै सैनिक पृष्ठभूमिका मानिसलाई त्यो ठाउँमा लान नमिल्ने ठहर सुनाइदिए । सभामुखले पनि ल्हारक्याल लामा नियुक्तिको विवाद भइरहेको बेला अर्को उपयुक्त पात्रको नाम राख्न सुझाए । त्यो दिन त्यत्तिकै भयो । भोलिपल्ट फेरि प्रचण्डको जोड रह्यो, ‘लौन यिनलाई गरौँं ।’ प्रधानमन्त्री र उपप्रधानमन्त्री वामदेव गौतमसँग छुट्टै भेटमा पनि प्रचण्डले दमनकै नाम लिइरहे । उता एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीलाई प्रचण्डको प्रस्तावलाई अस्वीकार गर्न फोन मार्फत सतर्क गराइसकेका थिए, ‘विरोध थामिसाध्य हुन्न । त्यो नाममा सहमति नगरौँ है !’

प्रधानन्यायाधीशकाअनुसार, अनुसन्धान पृष्ठभूमिका मानिसलाई अख्तियारमा लान सकिन्छ तर सेनाले अनुसन्धानको काम गर्दैन । सबैको साझा विरोधपछि प्रचण्डले एमाओवादी कोटाबाट गणेशराज जोशीको नाम प्रस्ताव गरे । यसअघि पूर्वडिआइजी अशोक श्रेष्ठलाई आश्वासन दिएर वर्षौंसम्म झुलाइएको थियो । तर, आफूसँग उपलब्ध सूचना र स्रोत प्रचण्डको हितमा खपत गरिसकेका उनीसँग दिन बाँकी शायद केही थिएन यसर्थ फुत्त दमन घलेको नाम आयो । यिनै प्रचण्डले कुलबहादुर खड्कालाई सेनापति बनाएर छत्रमानको रोलक्रम मिच्न खोजेका थिए । उपत्यका पृतनापति र जङ्गी अड्डामा अपरेशन प्रमुख रहेका दमन उनै छत्रमानका बहिनीज्वाईं हुन् अनि भाटभटेनी सुपरमार्केटका साहुजी मीनबहादुर गुरुङ छत्रमान र दमन घलेका सम्धी । मिनबहादुरको सम्पत्तिबारे दुनियाँ जानकार नै छ । त्यही सम्पत्तिका कारण दमनको नाम एक्कासि प्रचण्डले प्रस्ताव गरेको चर्चा चलेको थियो ।

0 comments

Write Down Your Responses