संसद बैठकमा गोली चल्यो, दुई जनाको मृत्यु, दर्जनौं सभाषद् घाइते

काठमाडौं, ७ असार । अफगानिस्तानको संसदमा तालिवान लडाकूले आक्रमण गर्दा एक बालकका साथमा दुई व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणका समयमा गोली चलेको छ भने बम विस्फोट भएका छन् ।
यसका कारण सांसदहरू सुरक्षाको खोजीमा यत्रतत्र भागेको अवस्था टेलिभिजनमा प्रत्यक्ष रूपमा देखिएको छ ।
अफगानिस्तानका प्रतिरक्षामन्त्रीको रूपमा राष्ट्रपतिबाट मनोनित व्यक्तिलाई संसदमा परिचित गराउने समयमा उक्त आक्रमण भएको थियो । आत्मघाती कार चालकका साथमा सबै आक्रमणकारीको मृत्यु भएपछि उक्त आक्रमण अन्त्य भएको थियो ।
काबुलको व्यापारिक क्षेत्रजस्तो उच्च प्राथमिकता प्राप्त क्षेत्रमा आक्रमण भएपछि नेटोको सेनाको सहयोग नभइकन अफगान सुरक्षा सेनाले तालिवान विद्रोहीसँग सङ्घर्ष गर्ने विषयमा प्रश्न उठेको छ । नेटोको सेनाले डिसेम्बर महिनामा आफ्नो युद्धअभियान अन्त्य गरेको थियो ।
पहिलो कारबम संसदीय भवननजिकै मुख्य सडकमा विस्फोट भएको थियो । त्यसपछि आक्रमणकारीको एक समूह संसदअगाडिको एक भवनमा प्रवेश गरेको थिए । उक्त जानकारी काबुल प्रहरीका प्रवक्ता एबादुल्लाह करिमीले दिनुभएको हो ।
दुई नागरिक, एक महिला तथा एक बालकको उक्त आक्रमणमा मृत्यु भएको जानकारी प्रहरी तथा संयुक्त राष्ट्र सङ्घले दिएको छ । आक्रमणमा दर्जनौं सभाषद घाइते भएका छन ।
गृह उपमन्त्री नजिब दानिसले सात आक्रमणकारीले आक्रमण गरेको जानकारी दिनुभयो भने स्वास्थ्य मन्त्रालयले पाँच महिला एक बालकका साथमा ३१ व्यक्ति घाइते भएको जानकारी दिएको छ ।
उक्त घटनाको नाटकीय टेलिभिजन प्रसारणमा पहिलो विस्फोटमा संसदभित्र कोलाहल फैलिएको र सांसद अब्दुल राउफ इब्राहिमीले आफ्नो कुर्चीमा बस्दै यो विद्युतको गडबडी भएको सांसदलाई बताइरहेको देखिएको छ ।
उक्त समयमा संसदमा रहेका सांसद मोहमद रेजा कोसाकले एक ठूलो विस्फोट सुनिएको र त्यसपछि साना विस्फोट सुनिएको जानकारी दिनुभयो ।
उहाँले केही सेकेन्डमा हलमा धुवाँ फैलिएको र सांसदहरू भाग्नथालेको बताउनुभयो ।
तालिवानले अप्रिल महिनाको अन्त्यदेखि मुलुकभर आक्रमण आरम्भ गरेको हो । उसले सरकारी तथा विदेशी लक्ष्यमा आक्रमण बढाएको छ । रासस/एएफपी

0 comments

Write Down Your Responses