९ वर्षअघि मलेसिया पुगेका श्रीमानसँग सपनामा मात्र हुन्छ भेट

धनगढी –‘उहाँ छातीमा हात बाँधेर आँगनमा उभिनुभएको थियो । मैले सोधें– माथि कसरी आउनुहुन्छ ? फ्याट्टै भन्नुभो – आइहाल्छु नि । र एकैछिनमा मेरो सामुन्ने उभिनुभयो ।’ कैलालीको लम्की–चुहा नगरपालिका–५, भल्काकी लक्ष्मी चलाउनेले केही दिनअघि आफ्ना श्रीमानसँग सपनामा भेट भएको कुरा सम्झनुभयो ।
पूर्वपश्चिम राजमार्गको उत्तरतिर बिस्तार हँदै गरेको वस्तीमा चार कोठे पक्की घर । सटरमा किराना पसल । अर्को सटरमा पर्दा टाँगिएको छ । त्यो घर र परिवारको हेरचार गरिरहेकी ३८ वर्षिया लक्ष्मी नौ वर्षदेखि श्रीमानको प्रतिक्षामा हुनुहुन्छ । मलेसिया गएका उहाँका श्रीमान् पुरनको ६ वर्षदेखि अत्तोपत्तो छैन ।
‘उहाँ (पुरनबहादुर) माओवादीमा हुनुहुन्थ्यो, तीन वर्ष भूमिगत बस्नुभो । हामीले कैलाली भल्कामा घर बनायौं । घरमा सेना आउन थाल्यो । सधैं डर लागिरहन्थ्यो ।
श्रीमानको ज्यान बचाउनकै लागि मैले नै विदेश पठाउन जिद्दी गरें’ लक्ष्मीले ती दिन सम्झिदै भन्नुभयो, ‘असारमा श्रीमान मलेसिया जानुभो, मंसिरमा शान्ति सम्झौता भयो, मेरो फुटेको कर्म !’ पुरनलाई विदेश पठाउन पूर्वमन्त्री एवं एमाओवादी नेता भीमबहादुर कडायतका छोरा ध्रुवले सहयोग गरेका थिए ।
उनी २०६३ साल असारमा १ लाख ४० हजार रुपैंया तिरेर मलेसिया उडे । उता पुगेपछि पुरनले तीन वर्षमा ९५ हजार रुपैयाँ पनि पठाए । गएको तीन वर्षसम्म त फोनमा नियमित कुराकानी पनि हुन्थ्यो । २०६६ असार १८ गते उनीहरूबीच भएको फोनवार्ता अन्तिम भयो । ‘यत्ति थोरै पैसाले कसरी घरबार चलाउने भनेर रिसाएँ । त्यतिबेला पुरनले भनेका थिए, ‘के गरुँ ? तलव नै कम छ । मसँग अहिले ६०/७० हजार रुपैयाँ छ । तीन वर्ष भइसकेकोले भिसा थप्नका लागि राखेको छु । भीसा लागेन भने घर फिर्ता आउँला । हो यही कुराकानी भएपछि पुरनको फोन आउन बन्द भयो’ उहाँले भन्नुभयो ।
दिन, साता गर्दै वर्षदिन वित्यो । तर न पुरनले घरमा फोन गरे, न यताबाट गरेको फोन नै लाग्यो । लक्ष्मीको मन आत्तिँदै गयो । पुरन मलेसिया उडेको दिन काखमा ३६ दिनको छोरो थियो । काखे छोरोसँगै लक्ष्मीमाथि १० र ६ वर्षकी दुई छोरीको जिम्मेवारी पनि थियो ।
शुरुमा त लक्ष्मीले नजिकै रहेका माइतीको भर गर्नुभयो । तर माइतीको भरथेक सधैंभरीका लागि भएन । छोराछोरीको लालनपालन, पढाई उहाँले नै धान्नुभयो । श्रीमानको खोजखबरका लागि लक्ष्मीले आफ्नो क्षमताले भ्याएसम्मको प्रयास गरेको बताउनुभयो । ‘धामीझाँक्री, ज्योतिष, पण्डितकहाँ हेराएँ, देवीदेउता भाकल गरें, पूजाआजा गरें, तर कुनै खबर आएन’ उहाँले भन्नुभयो ।
पुरनसँगै मलेसिया गएका अछामको लयाटीका भरत बुढा २०६६ साल जेठमा घर फर्किए । भरतले पुरनलाई पनि फर्किन आग्रह गरेका थिए । तर पुरन फर्किएनन् । बरु लक्ष्मीलाई पुरनको खबर सुनाइदिए, ‘पैसा कमाउन सकिन, केही वर्ष काम गरेर फर्किन्छु ।’ भरत मलेसियाबाट फर्केपछि पुरनको हालखबर दिने व्यक्ति पनि कोही रहेन ।
श्रीमानको खोजीका लागि सकेको प्रयास गरेर लगभग टुंगिएको अवस्थामा पुगेकी लक्ष्मीलाई एउटा संस्थाले खोजखबर गर्न थालेपछि फेरि आशा पलाएको छ । ‘मैले त आशा मारिसकेकी थिएँ,’ सुरक्षित आप्रवासन सम्बन्धी काम गरिरहेको सञ्चार प्रतिष्ठान नेपाल संस्थाको टोलीसँगको भेटमा लक्ष्मीले भन्नुभयो, ‘विदेशमा वेपत्ता भएका व्यक्तिको कसरी खोजखबर गर्ने थाहा थिएन, अब केही आशा जाग्यो ।’  सुरक्षित आप्रवासन, विद्यालय तथा आमसञ्चार कार्यक्रमले वैदेशिक रोजगारीमा जाने, गएका र गएर फर्किएका व्यक्तिका बारेमा जानकारी लिने क्रममा लक्ष्मीसँग भेट भएको थियो । सुरक्षित आप्रवासन परियोजनाका रिटर्नी भोलियन्टरहरूले वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिहरूलाई आवश्यक परामर्श दिने र जिल्लामा खुलेको सूचना तथा परामर्श केन्द्रमा गएर जानकारी लिन सल्लाह दिने गर्छन् ।
‘गाउँमा वैदेशिक रोजगारीमा गएका व्यक्तिबारे जानकारी लिने क्रममा लक्ष्मीसँग भेट भएको हो ।’ लम्की–चुहा नगरपालिका कार्यक्षेत्र भएका रिटर्नी भोलेन्टियर नरबहादुर रावलले भन्नुभयो, ‘घरमा भएका कागजपत्र सबै खोतल्दा पुरनको नागरिकता, राहदानी नम्बर आदिबारे जानकारी पायौं ।’
परियोजनाले पुरनबारे खोजखबर प्रक्रिया शुरु गर्ने जनाएको छ । ‘हामीले  वैदेशिक रोजगारीमा गएर दुःख पाएका व्यक्तिबारे खोजखबर गर्छौं,’ सुरक्षित आप्रवासन, विद्यालय तथा आमसञ्चार कार्यक्रमका कार्यक्रम अधिकृत ऐश्वर्या ओझाले भन्नुभयो, ‘हाम्रो च्यानलमार्फत पुरनबारे जानकारी प्राप्त गर्ने प्रयास गर्नेछौं ।’

मनमोहन स्वाँर
ujyaaloonline बाट

0 comments

Write Down Your Responses