मनकामना केबलकार छिट्टै सञ्चालन हुने

१९ जेठ, चितवन ।


मनकामना मन्दिरका पुजारीले मन्दिर बाहिर पूजा गर्न नमानेपछि अरु थप समय मनकामनामा केबलकार सञ्चालन नहुने देखिएको छ ।

पुजारी इन्सान थापा मगरले देवीको थान बाहिर पूजा गर्दा सन्देश राम्रो नजाने बताउनुभयो । नियमित कर्म पूजा गरिरहेको बताउँदै उहाँले जतिसक्दो छिटो मन्दिरको भाग बाहिर निकालेर देवीको स्थानमा ट्रसले बारेर नियमित पूजाआजा गर्न सकिन्छ भन्नुभयो । उनले भने– “मलाई बाहिर पूजा गर्न दबाब आइरहेको छ तर देवीभित्र भएकाले बाहिर पूजा गर्दा राम्रो सन्देश नजाने भएकाले म त्यसको पक्षमा छैन

अहिले मन्दिर भत्काउनका लागि खट बाँध्ने काम भइरहेको छ । मन्दिर एक फिट दक्षिण पश्चिम कोल्टिएपछि मन्दिरमा खट बाँध्न नमिल्दा मचान बनाएर खट बाँध्ने काम अन्तिम चरणमा पुगेको मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए ।

मन्दिर भत्काउनका लागि करिब एक महिना लाग्ने बताइएको छ । मनकामना केबलकार सञ्चालक र स्थानीय व्यवसायीले पुजारीलाई बाहिर पूजा गरिदिन आग्रह गरे पनि पुजारी त्यसमा सहमत नभएपछि मनकामना केबलकार थप एक महिना सञ्चालन नहुने देखिएको छ ।

गत वैशाख १२ गते भूकम्प गएपछि बन्द केबलकार वैशाख २७, २८ र २९ मा सञ्चालनमा आएको थियो । पुनःभैँचालो गएपछि वैशाख २९ गतेदेखि फेरि बन्द भएको हो । मनकामना दर्शन प्रालिका स्टेसन प्रमुख उज्ज्वल शेरचनले छलफल गरी छिटो केबलकार सञ्चालनको तयारी भइरहेको बताए ।

यस मौसममा दैनिक दुई हजारदेखि दुई हजार ५०० भक्तजनले मनकामना केबलकार चढ्ने गर्छन् । एक महिना केबलकार बन्द हुँदा रु पाँच करोडभन्दा बढी नोक्सान हुने उहाँको भनाइ छ । रासस

0 comments

Write Down Your Responses