अपहरण मुद्दामा सद्भावनाका नेता गुप्तालाई साडे तीन वर्ष कैद फैसला
काठमाडौं,
अपहरण तथा शरीर बन्धक मुद्दा खेपिरहेका सद्भावनाका नेता श्यामसुन्दर गुप्तालाई जिल्ला अदालतकाठमाडौंले साढे ३ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गरेको छ ।
व्यापारी पवन संघाईलाई अपहरण गरी फिरौतीसमेत लिएको प्रमाणसहित उनीविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेर अधिकतम १५ वर्ष सजाय हुनुपर्ने जिकिर गरेका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश कुलप्रसाद शर्माको इजलासले भने आइतबार गुप्तालाई अपहरणको उद्योगसम्म गरेको भन्दै तद्नुसार साढे ३ वर्ष कैद फैसला गरेको हो ।
८० लाख रुपैयाँ नगदसहित पक्राउ परेका गुप्तालाई जिल्ला अदालतले नै पुर्पक्षका लागि थुनामै राख्न आदेश गरेको थियो । साउनमा उनी थुनामा परेको साढे तीन वर्ष पुग्नेछ । त्यसपछि उनी छुट्नेछन् ।
महान्यायाधिवक्ताको कार्यालयले गुप्ताबाट अपहरणको कसुरै भएको प्रमाण पेस गर्दा पनि अदालतले हलुका सजाय गरेको भन्दै असन्तुष्टि प्रकट गरेको छ ।
हामीले ८० लाख नगदसहितै उहाँलाई पक्राउ गरेको प्रमाण पेस गरेका थियौं र त्यसले उहाँबाट कसुरै भएको पुष्टि हुन्थ्यो,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता गोपालप्रसाद रिजालले भने, ‘तर त्यसलाई अनदेखा गर्दै अदालतले अर्कै ठहर गरेको देख्दा हामी दुस्खी छौं, यसले फौजदारी न्यायप्रणालीलाई गहिरो गरी बिथोलेको छ ।’
रिजालले जिल्ला अदालतको फैसलाविरुद्ध आफूहरू पुनरावेदन गर्न तयार भइसकेको पनि बताए ।
.jpg)

0 comments
Write Down Your Responses