सिन्धुपाल्चोक र दोलखामा भूकम्पका केन्द्रबिन्दु किन धेरै ?
भूकम्प मापन केन्द्रले अनुसन्धान थाल्दै
२०७२ जेठ २४ गते
बैशाख १२ गते गोरखा जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको पहिलो भूकम्प ७.६ रेक्टरको थियो । भूकम्पविद्हरुका अनुसार, त्यस भूकम्पको प्रभाव गोरखा भन्दा पूर्वतर्फ सबैभन्दा बढी देखियो । भित्री चट्टानको चिरा पर्ने क्रम गोरखाबाट सिन्धुपाल्चोक र दोलखातिर मोडिको थियो । बैशाख १२ को भूकम्पबाट सिर्जित दबाब सिन्धुपाल्चोकको उत्तरतिरको चट्टानमा सबैभन्दा बढी परेको थियो । जसका कारण भोलिपल्ट (बैशाख १३ गते) सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ६.९ रेक्टरको भूकम्पको धक्का मात्रै आएन्, त्यसले सिन्धुपाल्चोकको चट्टानमा झनै बढी दबाब सिर्जना गरिदियो । यो सिलसिला यतिमै रोकिएन्, बैशाख २९ गतेको ६.८ रेक्टरको भूकम्पको केन्द्रबिन्दु पनि सिन्धुपाल्चोक र दोलखाको सिमानामा परेपछि त्यस क्षेत्रको जमीनमा निकै ठूलो हलचल ल्याइदिएको छ ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी भन्छन्, ‘दुई ठूला भूकम्पको केन्द्रबिन्दु परेका कारण सिन्धुपाल्चोक र दोलखाको जमीनमा निकै ठूलो हलचल पैदा भएको छ, जसका कारण सबैभन्दा धेरै भूकम्पका केन्द्रबिन्दु त्यस वरपर भएका छन् ।’ अहिलेसम्म साना ठूला गरी २० हजार भन्दा बढी पराकम्पन गइसके पनि सबैभन्दा बढी पराकम्प सिन्धुपाल्चोकमै भएको उनको भनाइ छ । तर, थप भय सिर्जना हुने डरले भूकम्प मापन केन्द्रले केन्द्रबिन्दु परेको गाउँको जानकारी दिने गरेको छैन् ।
‘यो गाउँमा केन्द्रबिन्दु प¥यो भन्ने हो भने गाउँलेहरुमा झन् ठूलो त्रास हुन सक्छ । गाउँ रित्तो हुने खतरा पनि हुन सक्छ, सोहीकारण हामीले वरिपरिको क्षेत्रफलमात्रै भन्ने गरेका छौँ, केन्द्रबिन्दु परेको गाउँ–ठाउँ नै किटान गरेर भन्ने गरेका छैनौँ ।’
भूकम्पविद् अधिकारीका अनुसार, सिन्धुपाल्चोकलाई नै बढी केन्द्रबिन्दु बनाएको विषयमा भूकम्प मापन केन्द्रले त्यसको सघन अनुसन्धान थाल्ने तयारी गरेको छ । यसका लागि अमेरिका र युरोपका अनुसन्धान केन्द्रले पनि चासो देखाएका छन् ।
‘सिन्धुपाल्चोकमा नयाँ स्टेशन नै राखेर सघन रुपमा अध्ययन गर्दैछौँ । जसका लागि विभिन्न देशका अनुसन्धान केन्द्रले इच्छा देखाएका छन् ।’, अधिकारीको थप भनाइ छ, ‘गोरखाभन्दा पश्चिमतिर भूकम्पको पराकम्म हुँदै भएन, यो पनि आश्चर्यको विषय हो, यस विषयमा पनि अनुसन्धान गर्छौँ ।’
पराकम्प जाने क्रम अझै चारदेखि पाँच महिनासम्म लाग्न सक्ने भूकम्प मापन केन्द्रको भनाइ छ । ‘जति धेरै पराकम्पहरु गए, त्यतिधेरै खतरा कम हुन्छ, त्यसकारण आत्तिनुपर्दैन ।
स्रोत - दैनिक नेपाल
0 comments
Write Down Your Responses