मुटुरोग बिशेशज्ञ बन्ने सपना बोकेका दीक्षित पौडेलले ल्याए ९४ प्रतिशत उनी भए नेपाल टप

२०७२ असार ४ गते


काठमाडौं, ४ असार । काठमाडौँका दीक्षित पौडेलले एसएलसी परिक्षामा ९४ प्रतिशत अंक ल्याएका छन् । अहिलेसम्मको घोषित अंक अनुसार, उनले सबैभन्दा धेरै प्रतिशत अंक ल्याएका छन् ।
काठमाडौँको मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कुलका छात्र दीक्षितले ९४ प्रतिशत अर्थात ७ सय ५२ नम्बर ल्याएका छन् । विद्यालयका अनुसार, अहिलेसम्म सार्वजनिक नम्बर बमोजिम उनको सबैभन्दा धेरै देखिएको छ ।
दीक्षितले कम्प्युटर विज्ञानमा सबैभन्दा बढी १०० नम्बर पाएका छन् भने सबैभन्दा कम भनेको सामाजिक शिक्षामा ८३ नम्बर पाएका छन् । यसैगरी, अंग्रेजीमा ९५, नेपालीमा ८६, गणितमा ९८, विज्ञानमा ९८, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ९३ र अतिरिक्त गणितमा ९९ अंक ल्याएका छन् ।
२०५७ साल वैशाख २१ गते जन्मिएका दीक्षितले मुटूरोग विशेषज्ञ चिकित्सक बन्ने आफ्नो सपना रहेको बताएका छन् ।
त्रि–चन्द्र क्याम्पसका प्राध्यापक रहेका उनका कृष्णप्रसाद पौडेलले छोराको सफलताले गर्व लागेको बताए ।
अघिल्लो वर्षको एसएलसीमा भने अक्सिडेन्टल पब्लिक स्कुल, अनामनगरकी दृष्टि गिरी र रिलायन्स एकेडेमी, कपनका संजोग कार्कीले समान ९४ दशमलव १२ प्रतिशत अंक पाएका थिए ।
यता, रुपन्देहीको मणिग्रामस्थित शान्ति नमुना उच्चमाविकी सामुदायिक विद्यालयकी छात्रा भावना अर्यालले ९३ दशमलब ८७ प्रतिशत अंक ल्याएकी छिन् । भावनालाई सामुदायिक विद्यालयतर्फबाट नेपालटप दाबी गरिएको छ । शान्ति नमुनाबाटै विपना कुँवर र संस्कृति भट्टराईले पनि ९२ प्रतिशत ल्याएका छन् ।
एसएलसीको नतिजा सार्वजनिक हुनासाथ विभिन्न विद्यालयले दाबी पेश गर्न थालेका छन् ।
यसअघि भक्तपुरको मध्यपुर थिमीस्थित विनायक शिक्षा निकेतन अंग्रेजी विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आफ्नी छात्रा रुवी श्रेष्ठ ‘नेपालटप’ भएको दाबी गरेका थिए ।
०२८३०२७ सिम्बोल नम्बर भएकी रुबीले ७ सय ४३ अर्थात ९२.८७ प्रतिशत अंक प्राप्त गरेकी छिन् । रुवीले अनिवार्य गणितमा ९९, ऐच्छिक गणितमा ९८, कम्प्युटर विज्ञानमा ९७, विज्ञानमा ९६, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ९४, अनिवार्य अंग्रेजीमा ९०, नेपालीमा ८५ र सामाजिकमा ८४ अंक ल्याएकी छिन् ।
स्रोत - दैनिक नेपाल

0 comments

Write Down Your Responses