बर्दीको पावरमा सशस्त्रका जवानले नै परीक्षा दिन नक्कली परीक्षार्थी पठाए

सञ्चारकर्मीलाई समाचार संकलनमा प्रहरीद्धारा रोक

नेपालगन्ज, २४ जेठ ।


कक्षा १२ को परीक्षामा बाँकेमा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । कोहलपुर २ बर्दहवास्थित लक्ष्मी उच्च मावि परीक्षा केन्द्रमा आफ्ना दाजुको नाममा परीक्षा दिइरहेका निर्मल पाण्डे नामका नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बल त्रिपुरा गणमा कार्यरत प्रहरी जवान कमल पाण्डेको नामबाट परीक्षा दिइरहेका अबस्थामा नक्कली परीक्षार्थी निर्मल पाण्डेलाई पक्राउ गरिएको केन्द्राध्यक्ष बद्रि सापकोटाले बताए ।
नक्कली परीक्षार्थी पाण्डेले शंकास्पद ब्यबहार गरेपछि जाँच पड्ताल गर्दा आफ्ना दाजुको नामबाट परीक्षा दिएको स्वीकार गरेका छन् । पाण्डेद्वयलाई प्रहरीको जिम्मा लगाइएको केन्द्राध्क्ष सापकोटाले जनाकारी दिए ।
सशस्त्र प्रहरी जवान कमल पाण्डे कक्षा १२ को आंशिक तर्फका अनिवार्य अंग्रेजी बिषयका परीक्षार्थी हुन् । उनी सशस्त्र प्रहरी बल त्रिपुरागण कोहलपुरमा कार्यरत छन् ।
यता उक्त घटना थाहा पाएपछि समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई समाचार संकलन गर्न र तस्विर लिन प्रहरीले रोक लगाएको थियो । घटना लगत्तै पुगेका इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज पहरी नायव उपरीक्षक जनक बहादुर शाहीले फोटो खिच्न रोक लगाएको सञ्चारकर्मी अमृता केसीले जानकारी दिइन् ।
उक्त नक्कली परीक्षार्थी प्रकरणमा सशस्त्र प्रहरीका जवान नै दोषी देखिएपछि प्रहरीले घटना लुकाउन समाचार संकलनमा रोक लगाएको जनाइएको छ । यता उच्च माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय कोहलपुरका प्रमुख राजेन्द्र अधिकारीले कमल पाण्डेको परीक्षा रद्द गरिने बताए ।
स्रोत - दैनिक नेपाल

0 comments

Write Down Your Responses