बलात्कार आरोपमा धनकुटामा पाँचजना पक्राउ
धनकुटा, १२ असार ।
जबर्जस्ती करणी गरेको आरोपमा धनकुटाका बेग्ला–बेग्लै दुई स्थानबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
युवतीलाई बन्धक बनाएर जबर्जस्ती करणी गरेको आरोपमा धनकुटा सदरमुकामको पोख्रेल होटलबाट एक युवा र राजारानीबाट चार जनालाई प्रहरीले पक्राउ गरेको हो । तेह्रथुम म्याङ्लुङकी १९ वर्षीया एक युवतीलाई फकाई होटलमा बन्धक बनाएर जबर्जस्ती करणी गरेको आरोपमा धनकुटाको देब्रेवासस्थित पोख्रेल होटलबाट प्रहरीले तेह्रथुम जिरिखिम्ति–२ का ३३ वर्षीय नेत्र सोदेम्वा लिम्बूलाई पक्राउ गरेको हो ।
खाजा खान जाने निहुँमा धनकुटा बसपार्कबाट ती युवतीलाई फकाएर सो होटलमा पु¥याएर बन्धक बनाएर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । धनकुटाका प्रहरी प्रवक्ता डम्बरबहादुर खड्काका अनुसार ती युवतीले आफन्तलाई एसएमएसमार्फत आफू बन्धक भएको जानकारी गराएको र आफन्तले खबर गरेपछि प्रहरीले लिम्बूलाई पक्राउ गरेको हो । यता आरोपित लिम्बूले भने सञ्चारकर्मीसमक्ष जबर्जस्ती करणी नभई सहमतिमै भएको दाबी गरेका छन् ।
यसैबीच, धनकुटाको बोधे–१ की १३ वर्षीया एक बालिकालाई सामूहिकरुपमा जबर्जस्ती करणी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजारानी–७ का १७ वर्षीय सन्तोष राई, १४ वर्षीय पुजन याख्खा, १३ वर्षीय सुजन राई र १५ वर्षीय मीनकुमार राई छन् । दुवै घटनामा पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
0 comments
Write Down Your Responses