हरिवंश आचार्य भन्छन्, ‘एसएलसी फेल हुँदा आत्महत्या गर्नुपर्ने भए मैले तीनपल्ट गर्नुपथ्र्यो’

हरिवंश आचार्य


एसएलसी ठूलो परीक्षा हो तर हैन पनि । संसारमा जति मान्छे छन्, ति सबैले एसएलसी पास गरेका छैनन् । म पनि एसएलसीमा तीन पटक फेल भएँ । चौथो पटकमा पास भएँ । मैले पढाईलाई नै निरन्तरता दिएको भए मास्टर्स गर्थे होला, पिएचडी गर्थे होला । कुनै सरकारी कार्यालयमा हाकिम हुन सक्थे होला । देश चलाउने ठाउँमा पनि पुग्थे होला । तर त्यसो गरेको भए म भित्र भएको सिर्जनशिलता त मथ्र्यो । मलाई हिसाब र विज्ञान फिटिक्कै आउँदैन । तर नाटक, फिल्म, धारावाहिकको ‘स्क्रिप्ट’ लेख्छु । अभियन गर्छु । मेरो यो कामलाई मन पराउँनेहरु धेरै हुनुहुन्छ ।
एसएलसी फेल हुँदा धेरै निराश हुने भाइबहिनीहरुलाई मेरो सुझाव छ– एसएलसी नै सबै कुरा होइन । एक पटक फेल हुनुभो भने अर्को पल्ट प्रयास गर्नूस्, पास सजिलै हुन सकिन्छ । आमाबुबासँग पनि सल्लाह गर्नूस्, अब कसरी पढ्ने वा के गर्ने भनेर ।
संसारकै धनी र सूचना प्रविधिमा क्रान्ति गरेका बिल गेट्स पनि कलेजमा फेल भएका थिए । तर उनको क्षमता कलेजको शिक्षामा रहेनछ । उनको क्षमता त उद्यमशीलतामा रहेछ । उनी आज संसारकै सबैभन्दा धनी छन् । धेरै दान पनि गर्छन् । उनको दानबाट धेरैको कल्याण भएको छ । धेरै बालबालिकाले पढ्न पाएका छन् । के यो यो सफलता होइन ? सफलता भनेको एसएलसी पास मात्रै होइन । एसएलसीमा फेल हुँदा आत्महत्या गर्ने जस्तो गम्भीर निर्णय लिने भाइबहिनीहरु पनि हुनुुहुन्छ । एक पटक फेल हुँदा आत्महत्या गर्नुपर्ने भए त मैले तीन पल्ट आत्महत्या गर्नुपथ्र्यो । किनभने म एसलएसीमा तीन पल्ट फेल भएँ । तर मैले आत्महत्याबारे दिमागमा रत्तिभर पनि सोचिन । असफलताले नै मानिसलाई सफल बनाउँछ ।
बालबालिकाको क्षमता अभिभावकहरुले पनि चिनिदिनु पर्छ । कुनै विद्यार्थीलाई पढ्न रुचि हुँदैन तर उसलाई व्यापारमा धेरै रुचि हुन्छ । त्यस्ता विद्यार्थी फेल हुँदैमा के फरक पर्ला र ? उसले आफ्नो रुचिको क्षेत्रमा काम गरेर नाम कमाउन सक्छ । पैसा कमाउन सक्छ । म त फेल भएका भाईबहिनीहरुमा नेपाली बिल गेट्स देख्छु ।

0 comments

Write Down Your Responses