हरि पराजुलीकै साढुदाई नयाँ कृषि मन्त्री !
२०७२ असार १७ गते
काठमाडौं, १७ असार। चर्को विरोधको सामना गरेपछि अन्ततः कृषि मन्त्री हरिप्रसाद पराजुलीको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार उनको राजीनामा स्वीकृत गरेका हुन् ।
तर, संयोग नै मान्नुपर्छ, पराजुलीलाई हटाएर उनकै साढुदाई बलरामप्रसाद बास्कोटा नयाँ मन्त्री बन्ने भएका छन् । अखिल नेपाल किसान महासंघका सचिव समेत रहेका मन्त्री पराजुलीले मन्त्री पदबाट राजीनामा दिएपछि महासंघका उपमहासचिव बास्कोटाको नाम प्रस्ताव गरिएको छ । किसान महासंघका अध्यक्ष समेत रहेका एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री वामदेव गौतमले पार्टीका अध्यक्ष केपी ओलीसमक्ष बास्कोटाको नाम सिफारिस गरेका हुन् ।
एमालेबाट सरकारको नेतृत्व गरेका गौतमले बास्कोटालाई नै मन्त्री बनाउन चाहेपछि संसदीय दलका नेता समेत रहेका एमाले अध्यक्ष ओली सकारात्मक देखिएका छन् ।
बास्कोटा एमाले केन्द्रीय सदस्य सावित्री भुसालका पति हुन् । उनी २०५२ सालमा संयुक्त जनमोर्चाबाट एमालेमा प्रवेश गरेका थिए ।
असार १५ गते धान दिवसको अवसरमा काठमाडौँको मुलपानीमा आयोजित कार्यक्रममा अश्लील हर्कत गरेका मन्त्री पराजुलीको चौतर्फी आलोचना भएको थियो ।
पराजुली हटेपछि एमालेमा मन्त्री बन्नका लागि थुप्रै आकांक्षी देखिएका थिए । एमाले महासचिव इश्वर पोखरेल, सचिव पृथ्बी सुब्बा गुरुङ लगायतका नेताहरु पाका नेता सोमनाथ प्यासीलाई मन्त्री बनाउन चाहन्थे । तर, एमालेबाट सरकारको नेतृत्व गरेका गौतमको आर्शिवाद पाएका कारण बास्कोटाको भाग्य खुलेको हो ।
स्रोत - दैनिक नेपाल
0 comments
Write Down Your Responses